परिषदको लेटरहेडमा क्यानलाई पठाइएको पत्र ‘शन्देहास्पद’, एनपीएलको पालुवा निमोठ्न यस्तो ब्यूहरचना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदबाट नेपाल क्रिकेट संघ (क्यान) मा गएको एउटा ‘शन्देहास्पद’ पत्रले नेपाल प्रिमियर लिग (एनपीएल) को भविष्यप्रति नै संशय पैदा गरिदिएको छ । एनपीएलको दोस्रो संस्करणलाई पालुवामै निमोठ्ने गरी चलखेलहरु भइरहेका छन् ।

क्यानले गत वर्ष आयोजना गरेको यस घरेलु फ्रेन्चाइज लिगले आश्चर्यजनक सफलता पाएको थियो । सम्भवतः नेपालमा अहिलेसम्म आयोजना भएको सबैभन्दा शानदार ‘स्पोट्र्स इभेन्ट’ का रूपमा यसलाई लिन सकिन्छ, जहाँ भारतदेखि अष्ट्रेलियासम्मका दिग्गज क्रिकेट खेलाडीहरु सहभागी भए ।

क्रिकेट समर्थकहरु अब दोस्रो संस्करणको व्यग्र पर्खाइमा छन् । तर, पछिल्लो समय क्यान नेतृत्व खासगरि सचिव पारस खड्काको यो ड्रिम प्रोजेक्टलाई जसरी पनि असफल बनाउने ध्येयले सुनियोजितरुपमा धेरै खेलहरु भइरहेका छन्, जसको सेफल्यान्डिङ सहज देखिँदैन ।

यही खेलको एउटा हिस्साका रुपमा दुई दिनअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै एउटा ३ पेजको पत्र गयो राष्ट्रिय खेलकुद परिषदको लेटरहेडमा । पत्रमा ‘अख्तियारले गरिरहेको छानविन सम्पन्न नभएसम्म एनपीलएलका कुनै पनि काम नगर्न र नगराउन’ आदेशात्मक शैलीमा ‘जानकारी’ गराइएको छ ।

सामान्य हिसाबले परिषदबाट क्यान अध्यक्षलाई पठाइने पत्रमा सदस्य सचिवकै हस्ताक्षर हुनुपर्ने हो । तर, यसमा रञ्जना प्रधानको हस्ताक्षर छ । एनपीएलमा अनियमितताको आरोपबारे छानविनका लागि खेलकुद मन्त्री तेजुलाल चौधरीले बनाएको कार्यदलकी संयोजक हुन् । सदस्य सचिव घिसिङ र संयोजक प्रधान स्वयम्लाई गुमराहमा पारेर यो पत्र लेखिएको आशंका बढेको छ ।

नेपाल प्रेसको फोन सम्पर्कमा सदस्य सचिव घिसिङले यस विषयमा धेरै बोल्न चाहेनन् । यद्यपि, क्यानमा पठाइएको पत्रमा आफू जवाफदेही नरहेको उनले प्रष्ट पारे ।

‘त्यो पत्र कार्यदलले पठाएको होला, मेरो यसमा कुनै पनि भूमिका र संलग्नता छैन,’ उनले भने ।

अहिले पठाइएको पत्रको व्यहोरा आफैंमा विवादास्पद छ । आफ्नो क्षेत्राधिकारबाहिर गएर कार्यदलले एनपीएलका सबै क्रियाकलापहरु तत्काललाई स्थगित गर्न क्यानलाई निर्देशन दिएको छ ।

पत्रमा भनिएको छ, ‘यस कार्यदलले प्रतिवेदन पेश गरी अख्तियारबाट छानविन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी कुनै कार्य नगर्नु नगराउनुहुन समेत जानकारी गराइन्छ ।’

सर्वप्रथम त अख्तियारले नै छानविन गरिरहेको हो भने यो विषयमा मन्त्रीले आफूखुशी कार्यदल बनाएर समानान्तर छानविन गर्न खोज्नुको कुनै तुक हुँदैन । दोस्रो, कुनै पनि छानविन समिति वा कार्यदल आफैंमा त्यस्तो कार्यकारी अधिकारयुक्त हुँदैन, जसले कुनै निकायलाई यसो गर वा यसो नगर भनेर आदेश दिन सकोस । कार्यदलको भूमिका र क्षेत्राधिकार भनेको छानविन गरेर प्रतिवेदन बुझाउने मात्रै हो ।

स्मरण रहोस, एनपीएलमा अनियमितताको आरापबारे बनेको यो दोस्रा्े कार्यदल हो । एनपीएलको प्रत्यक्ष प्रशारणका लागि स्टार्स स्पोट्र्ससँग गरिएको सम्झौता कानून विपरित रहेको भन्दै यसविरुद्ध अख्तियारमा गत वर्ष फागुनमा उजुरी परेको थियो ।

उक्त उजुरीलाई लिएर अख्तियारले खेलकुद परिषद र मन्त्रालयलाई पत्राचार गर्यो । त्यही पत्रको जवाफ पठाए पुग्नेमा सुरुमा परिषदले र त्यसपछि मन्त्रीले पालैपालो कार्यदल बनाएर आफैं छानविन गर्न तम्सिए ।

सुरुमा परिषदको बोर्डले अञ्जन धमलाको एउटा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले क्यानलाई पत्राचार गरेर सबै विवरणहरु र सार्वजनिकरुपमा उठेका प्रश्नहरुको जवाफ माग्यो र क्यानले दियो पनि । तर, त्यो कार्यदलले प्रतिवेदन बुझाउन नपाउँदै मन्त्री तेजुलाल चौधरीले मन्त्रीस्तरीय निर्णयबाट अर्को कार्यदल बनाए । यो कार्यदलमा राखेप बोर्ड सदस्य रञ्जना प्रधान संयोजक छिन् र राखेपका दुई कर्मचारी सदस्य छन् ।

सदस्य सचिव घिमिसङ परिषदले बनाएको कार्यदललाई कुल्चिएर मन्त्रीले अर्को कार्यदल गठन गरेकोप्रति सहमत थिएनन् । त्यसैले कार्यदलले गरिरहेका कामकारवाहीको जवाफदेहिता पनि उनी बोक्न चाहँदैनन् ।

प्रधान खेलकुद मन्त्री चौधरीले सञ्चालन गर्ने नाइटिङ्गेल स्कुलकी प्रिन्सीपलसमेत हुन् । उनलाई मन्त्री चौधरीले नै राखेप बोर्ड सदस्य बनाएका थिए । कार्यदलको जिम्मेवारी भने रञ्जनाले अनिच्छापूर्वक स्वीकारेको बुझिन्छ । स्रोतका अनुसार एनपीएलको छानविनमा उनले खासै जाँगर चलाएकी छैनन् ।

‘अख्तियारमा प्रवेश गरेको मुद्दामा हात हाल्न उहाँ आफैं सहमत हुनुहुन्थेन, मन्त्रीज्यूको मन राखिदिन जिम्मेवारी स्वीकार्नुभएको हो’, परिषद स्रोतले भन्यो, ‘अहिले पठाइएको पत्रमा पनि वाध्यतामा परेर हस्ताक्षर गर्नुभएको हो ।’

‘अख्तियारको छानबिन नसकिँदासम्म एनपीएलका काम–कारवाही रोक्ने’ व्यहोरामा प्रधान सहमत नरहेको तर दवावमा हस्ताक्षर गर्न बाध्य भएको बुझिएको छ । स्रोतका अनुसार प्रधान क्यानबाट पत्रको जवाफ आएपछि मन्त्रालयलाई एउटा प्रतिवेदन दिएर यो झमेलाबाट पन्छिने हतारोमा छिन् ।

परिषदबाट यो पत्रलाई लिएर क्यान असन्तुष्ट बनेको छ । एनपीएलका काम–कारवाही रोक्न गरिएको आदेश स्वीकार्य नहुने बताउँछन् क्यानका प्रवक्ता छुम्बी लामा ।

उनले भने, ‘सिंगो नेपालले गर्व गर्नलायक प्रतियोगिताका रुपमा क्यानले एनपीएलको पहिलो संस्करण सम्पन्न गर्यो । अहिले हामी दोस्रो संस्करणको तयारीमा जुटिरहेका छांै । एनपीएलका काम कारवाही नगर्नु भनेर पत्राचार गरिनु आश्चर्यजनक हो । यो हामीलाई मान्य हुँदैन ।’

छानबिनका लागि बनेको कार्यदलले क्यानलाई निर्देशन वा आदेश दिने हैसियत नराख्ने टिप्पणी लामाले गरे ।

‘खेलकुद परिषदले क्यानको नियमन गर्न सक्छ । तर, यो पत्र परिषदका सदस्य सचिवबाट नभएर कार्यदलको संयोजकबाट आएको छ । कार्यदलले क्यानलाई यसरी नीतिगत निर्देशन दिने कुनै पनि कानूनी अधिकार राख्दैन, त्यो हाम्रा लागि वाध्यकारी पनि हुँदैन,’ लामाले थपे ।

नियमनकारी निकायहरुले अनुसन्धानका खातिर आवश्यक कागजात र विवरणहरु माग्दा आफूहरुको आपत्ति नरहने उनी बताउँछन् । तर, यहाँ त निस्पक्ष अनुसन्धान गर्ने भन्दा पनि जबरजस्ति आरोपित गर्ने गलत नियतका साथ काम भइरहेको उनको बुझाइ छ ।

‘हामी अनुसन्धानमा सघाउन तयार छौं, तर नियत नै ठीक देखिँदैन । नेपाली क्रिकेटलाई सिध्याउने र क्यानलाई बदनाम गराउने खेल भइरहेको छ,’ उनले भने ।

क्यानले यसअघि पनि दुईपटकसम्म कार्यदललाई यही विषयमा जवाफ दिइसकेको छ । यसअघि दुईपटक पठाइएको जवाफ चित्त नबुझेको भन्दै जम्मा १२ घन्टाको म्याद दिएर तेस्रोपटक पत्र पठाइएको हो । उक्त म्याद गुज्रिसकेको छ । यद्यपि, क्यानले पत्रको जवाफ पठाउने प्रवक्ता लामाले बताए । ं

प्रधान नेतृत्वको कार्यदललाई १५ दिनको समय दिइएको थियो, जुन म्याद अब तीन दिन मात्र बाँकी छ । शुक्रबारसम्म आफूले प्रतिवेदन मन्त्रालयमा बुझाउने संयोजक प्रधानले नेपाल प्रेसलाई बताइन् ।

उनले भनिन्, ‘क्यानको जवाफ आइसकेपछि एकपटक उहाँहरुसँगै बसेर छलफल गर्ने योजना छ । त्यसपछि प्रतिवेदन बुझाउनेछु ।’

उनले आफू एनपीएलप्रति सकारात्मक रहेको र यसको निरन्तरताको पक्षमा रहेको स्पष्ट पारिन् ।

प्रधानले थपिन्, ‘व्यक्तिगतरुपमा मेरो यो अनुसन्धानप्रति कुनै रुची होइन । अख्तियारमा गइसकेको कुरामा यताबाट छुट्टै छानविन गर्नु आवश्यक थियो भन्ने लाग्दैन । तर, अहिले बाहिर प्रचार गरिएजस्तो एनपीएल आयोजना गर्नै रोक्नेगरी कुनै पनि निर्देशन दिइएको होइन । म एनपीएलले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा छु । यो सबै दुई–तीन दिनमै क्लीयर आउट हुन्छ ।’

कार्यदलले जेजस्तो प्रतिवेदन बुझाए पनि यो विषय यत्तिकै सल्टिनेवाला छैन । एनपीएल र पारसलाई असफल पार्न एउटा ठूलै ब्यूहरचनाको निर्माण भइरहेको छ । पारस क्यानमा आएदेखि नै एउटा स्वार्थसमूह सुरुबाटै उनीविरुद्ध लागिरहेको थियो । त्यही स्वार्थसमूहले मन्त्रीदेखि राखेपका केही कर्मचारी र क्यानका पदाधिकारीलाई समेत प्रभावमा पारिरहेको स्रोत बताउँछ । यो समूहको पहिलो लक्ष्य भनेकै एनपीएल असफल पार्नु हो । पहिलो संस्करणमा नै त्यो प्रयास भएको थियो । तर, समूहले सकेन । अब दोस्रो संस्करण कुनै हालतमा आयोजना हुन नदिने खेलमा यो समूह लागिपरेको छ ।

पहिलोपटक यति ठूलो प्रतियोगिता आयोजना गर्दा क्यानबाट केही प्रक्रियागत कमिकमजोरीहरु भएका हुन सक्छन् । तर, अहिले पारसले एनपीएलमा ठूलो भ्रष्टाचार गरेको गलत भाष्य सिर्जना गर्न खोजिएको क्यानका एक सदस्य बताउँछन् ।

‘उहाँ आएपछि छोटो समयमा नेपाली क्रिकेटको कायापलट भएको यथार्थ हो । क्रिकेट खेलाडीहरुदेखि समर्थकसम्मले यो बुझेका छन् । तर, एउटा स्वार्थ समूहलाई उहाँको सफलता बिझाइरहेको छ । त्यसैले कतिपय विषयलाई अतिरञ्जित गरेर त केही भ्रामक प्रचारवाजी गरेर उहाँलाई बदनाम गराउने काममा लागेका छन् । हामी यो सफल हुन दिँदैनौं,’ ती सदस्यले भने ।

अहिले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्डमा पेश नगरेको भनेर क्यानकै केही पदाधिकारीले पनि प्रश्न उठाएका छन् । पारसले भने क्यानको अर्को बोर्ड वैठकमा सबै हिसाब छर्लङ्ग बनाइदिने बाचा यसअघि नै गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *