विद्याबारे उपाध्यक्ष ज्ञवाली- वाम एकता तत्काल सम्भव छैन, एमालेलाई बलियो बनाउनुपर्छ भनिराख्नुभएको छ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतापछि बढेको तरङ्ग अझै साम्य भएको छैन । भण्डारीलाई एमालेका एकतर्फी नेताहरूले आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा केपी ओलीको विकल्पको रूपमा हेर्न थालिसकेका छन् ।

भण्डारीले पनि एक चरण देशभर पुगेर नेता कार्यकर्ताको नाडी छामेर नै एमालेमा सक्रिय भएको घोषणा गरेकी हुन् । अहिले एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे चर्को बहस भइरहेको छ । यी दुई व्यवस्था कायम भए ओली आगामी नेतृत्वको दौडबाट स्वतः बाहिरिनेछन्, तर उनी निकट नेताहरूले दुई व्यवस्था हटिसकेको दाबी गर्दै आएका छन् ।

भण्डारीको सक्रियतापछि एमालेमा आएको तरङ्ग, भण्डारीको बाक्लिँदो सक्रियता, एमालेको आगामी नेतृत्वलगायतको विषयमा केन्द्रित रहेर एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग नेपाल प्रेसले गरेको कुराकानीः

– पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणासँगै बढाएको सक्रियतालाई कसरी लिनुहुन्छ ?

उहाँले पार्टीकै निर्णयमा म राष्ट्रपति भएँ, अझै मेरो उमेर बाँकी नै छ । लामो समय निष्क्रिय भएर बस्न सकिँदैन । पार्टी राजनीति गरेर सांसद, मन्त्री र पार्टीको उपाध्यक्ष दुई पटक भइसकेँ, अब पार्टीमा फर्केर देशको सेवा गर्छु भन्ने उहाँको कुरा छ । त्यो कुरा उचित नै हो ।

पार्टीमार्फत आजीवन देशको सेवा गर्न चाहन्छु भनेपछि तपाईंले गर्न पाउन्नुहुन्न, पार्टीमा आउनुहुँदैन कसैले भन्न मिल्दैन । कानून, संविधान र पार्टीको विधानमा पनि त्यस्तो व्यवस्था छैन । उहाँको निर्णयलाई नकारात्मक रूपमा हेर्न हुँदैन । उहाँलाई अब कुन जिम्मेवारी दिने र कसरी अघि बढ्ने भन्ने पार्टीको छलफलको विषय हो, पछि गर्दै जाने कुरा हो विधि र प्रक्रियाबाट ।

– उहाँले पार्टीभित्र मात्रै नभई पार्टी बाहिरका नेताहरूसँग पनि भेट गरिराख्नुभएको छ नि ?

उहाँ राष्ट्रपति भइसकेको व्यक्ति हुनुहुन्छ । त्यसैले स्वाभाविक रूपमा आफ्नो पार्टीका नेतालाई मात्रै नभएर अन्य पार्टीका नेताहरूले पनि भेट्न चाहन्छन् । आउँछु भन्नेलाई नआउनु भन्न पनि मिल्दैन ।

उहाँले कतिपय सुझाव सल्लाह दिने-लिने कुराहरू पनि हुन्छन् । त्यसैले उहाँले विभिन्न पार्टीका नेता, स्वतन्त्र व्यक्ति, नागरिक समाज, सर्वसाधारण नेता कार्यकर्ता र जनतालाई पनि भेट्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ ।

– उहाँलाई आगामी नेतृत्वसँग जोडेर नेताहरूबीच नै कित्ताकाट गरेर प्रचार पनि हुँदैछ नि ?

अहिले कित्ताकाट गरेर कसैले हेर्न हुँदैन । नेतृत्वमा को पुग्ने भन्ने अहिले भनेर हुँदैन । पार्टीको आफ्नै विधि र प्रक्रिया छ । महाधिवेशनका सबै प्रतिनिधिले म यो पदमा उठ्न पाउँछ । त्यो वैधानिक व्यवस्था नै छ । त्यो महाधिवेशनले टुङ्ग्याउने कुरा हो, आफ्नै नियम र विधि छ । त्यसैले अहिले हामीले यो वा त्यो भनेर सडकमा उछाल्नुपर्ने कुनै आवश्यक छैन ।

त्यसैले अहिले नै यो वा त्यो भनेर गुटबन्दी गर्नुपर्ने र अन्तर्विरोध चर्काउनुपर्ने कुनै आवश्यक छैन । पार्टीमा अनेकखालको अन्तर्विरोध हुनसक्छन्, सबैको धारणा आउन पनि दिनुपर्‍यो । त्यसलाई विधिसम्मत टुङ्ग्याउनुपर्छ ।

अहिले हामी विधान महाधिवेशनको पनि तयारीमा छौँ । दस्तावेज तयार गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । सचिवालय, पोलिटव्युरो र केन्द्रीय समितिको बैठकमा पनि छलफल हुन्छ । पार्टीबाट टुङ्ग्याएर विधान महाधिवेशनमा हामी जान्छौँ, त्यहाँबाट नीति र विधिसम्बन्धी कुरा टुङ्गो लगाउँछौँ । त्यसपछि मात्रै हामी ११औँ महाधिवेशनमा जाने हो ।

त्यसैले अहिले नै यो वा त्यो भनेर गुटबन्दी गर्नुपर्ने र अन्तर्विरोध चर्काउनुपर्ने कुनै आवश्यक छैन । पार्टीमा अनेकखालको अन्तर्विरोध हुनसक्छन्, सबैको धारणा आउन पनि दिनुप¥यो । त्यसलाई विधिसम्मत टुङ्ग्याउनुपर्छ । महाधिवेशनमा विभिन्न पदमा उठ्छु भन्नेलाई स्वतन्त्र ढङ्गले चुनाव लड्न दिनुपर्छ । जित्नेले नेतृत्व गर्छ, हार्नेले पार्टीको निर्णय मानेर हिँड्नुपर्छ । त्यसैले अहिले उठेको विषय पनि सडकबाट होइन विधिसम्मत ढङ्गले हल गर्छौँ ।

उहाँ जतिको मान्छे पार्टीमा जोडिँदा हामीलाई फाइदा नै हुन्छ नि ! जीवनभर कम्युनिष्ट पार्टीको विरोध गरेकाहरूलाई त भित्र्याइरहेका छौँ । राप्रपा, मधेशी वा अन्य पार्टीमा लागेर एमालेको विरोध गर्दै आएकाहरूलाई त पार्टीमा स्वागत गरेका छौँ भने उहाँको विषय मन दुःखाएर कुनै टीकाटिप्पणी गर्नु आवश्यक छैन । कसलाई नेता बनाउने त भोलि चुनावले निर्धारण गर्छ नि ! मन लागे भोट हाले भो, नलागे नहाले भो ।

– उमेर हद र दुई कार्यकालबारे पनि बहस चलिरहेको छ नि ?

विधान महाधिवेशनमा कुरा उठिहाल्छ नि ! उमेर हद र दुई कार्यकालको विषय राख्ने नराख्ने भन्ने कुरा त हामीले ७ औँ महाधिवेशनमा निकै छलफल गरेर निर्णयमा पुगेका हौँ ।

केपी कमरेडको संयोजकत्वमा कार्यदल नै बनाइएको थियो । कार्यदलमा म, ईश्वर पोखरेल, वामदेव गौतम, विष्णु पौडेललगायतका नेताहरू सहभागी थियौं । हामीले घनीभूत छलफल गरेर प्रस्ताव गरेपछि ८औँ महाधिवेशनले स्वीकारेको थियो । त्यसपछि ७० वर्षे उमेर हद र तलदेखि माथिसम्म पदाधिकारीमा दुई कार्यकालभन्दा नेतृत्व गर्न नपाउने निष्कर्षमा पुगेका थियौँ ।

– महासचिवले सार्वजनिक रूपमै दुवै व्यवस्था नरहेको बनाउनुभयो त ?

त्यो अहिले हटाइएको छ भने पनि फेरि विधान महाधिवेशनमा त्यो कुरा उठिहाल्छ नि ! हटाएको भए पनि विधान महाधिवेशनले थपघट गर्ने कुरा त स्वतः गर्छ नि !

सकेसम्म त हामीले सहमति नै गर्छौँ । त्यसमा नै सबैको जोड रहनुपर्छ । भएन भने महाधिवेशनमा चुनाव हुन्छ । एउटा आउँछ, अर्कोले मातहतमा बसेर काम गर्छ । व्यक्तिलाई कुन रोज्ने भन्ने लाग्नसक्छ, तर बाहिर अन्तर्विरोध गर्दा पार्टीलाई राम्रो गर्दैन ।

हामीले पछिल्लो विधान महाधिवेशनमा पनि विधानको ६४ धारामा राखेका छौँ । अहिले महाधिवेशनबाट हटाइएको छ पनि भनिएको छ । अब विधान महाधिवेशनले फेरि त्यसबारे निर्णय गर्छ नि ! जे-जे छ त्यही नै गर्ने हो भने महाधिवेशन नै किन गर्नुपर्नेछ र ?

– विद्या भण्डारी एमाले नेतृत्वमा आए वाम एकताको सर्वस्वीकार्य नेता हुने चर्चा पनि हुँदैछ नि ?

माओवादी र नेकपा एससहितको एकताको चर्चा छ । कसैले चाहँदैमा वामपन्थी एकता भइहाल्ने, नचाहँदैमा नहुने भन्ने कुरा हुँदैन । वस्तुगत परिस्थिति पनि हेर्नुपर्छ । विगतमा पनि एकता भएको हो, टुट्यो । वामपन्थी एकता एउटा कुरा होला, तर पार्टी एकता विचार, सिद्धान्त र सङ्गठन पनि मिल्नुपर्‍यो ।

धेरै झमेलाका विषय हुन्छन् । त्यसैले कसैले चाहँदैमा हुँदैन । अहिले चर्चा भए पनि उहाँले अहिले सम्भव छैन भनिसक्नु भएको छ । त्यो परिस्थिति नै बनेको छैन । भविष्यमा विचार मिल्नेहरू मिलेर जानुपर्छ भन्नेमा छौँ । मन नमिल्नेहरूसँग अलग बस्ने हो । त्यसैले तत्काल वामपन्थी एकता आवश्यक छैन, अहिले एमालेलाई नै बलियो बनाउने हो भनेर उहाँले बोलिराख्नुभएको छ ।

एमालेलाई एकताबद्ध बनाउने हो, आउने चुनावमा बहुमत ल्याउने गरी जाने हो । अहिले तत्काल वामपन्थी एकता सम्भव छैन भनेर उहाँले नै भनिराख्नु भएको छ ।

– २०८४ को चुनावअघि नै महाधिवेशन हुँदा विद्या भण्डारी अध्यक्षकै प्रस्तावमा आउनुहुन्छ कि प्रतिस्पर्धामा जाने देख्नुहुन्छ ?

त्यतिबेलाको परिस्थिति अहिले भन्न सकिँदैन । जे पनि हुनसक्ला । कसले कसलाई कुन पदमा प्रस्ताव गर्ने भन्ने त अहिले कुनै टुङ्गो छैन । लगाउन पनि मिल्दैन । महाधिवेशनमा के गर्ने कसरी जाने भन्ने पार्टीभित्रै सल्लाह गर्छौँ । सहमतिमै नेतृत्व निर्माण गर्ने प्रयास रहन्छ ।

सहमति भए उहाँहरू (ओली र भण्डारी) बीचमा हुन्छ कि तेस्रो व्यक्ति हुनसक्छ, पार्टीमा निरन्तर पाँच दशकभन्दा धेरै काम गरेका नेताहरू पनि छन् । भूमिगत आन्दोलन, सङ्गठन निर्माण, सरकारमा गएका, मन्त्री भएका काम गरेका अनुभवी नेताहरू अरू पनि छन् । त्यसैले अहिले यो अध्यक्ष, यो महासचिव भनेर कसैले हुँदैन, महाधिवेशनको प्रतिनिधिले चुन्ने कुरा हो ।

– तर एमालेभित्र त ध्रुवीकरण बढिसक्यो, प्रतिस्पर्धा नै हुने जसरी ?

त्यो जरुरी छैन । मनमा कसलाई सोचेको छ, त्यो त हरेक मान्छेले पाउने भयो नि ! सकेसम्म त हामीले सहमति नै गर्छौँ । त्यसमा नै सबैको जोड रहनुपर्छ । भएन भने महाधिवेशनमा चुनाव हुन्छ । एउटा आउँछ, अर्कोले मातहतमा बसेर काम गर्छ । व्यक्तिलाई कुन रोज्ने भन्ने लाग्नसक्छ, तर बाहिर अन्तर्विरोध गर्दा पार्टीलाई राम्रो गर्दैन ।

Comments

2 responses to “विद्याबारे उपाध्यक्ष ज्ञवाली- वाम एकता तत्काल सम्भव छैन, एमालेलाई बलियो बनाउनुपर्छ भनिराख्नुभएको छ”

  1. ksp pyl Avatar
    ksp pyl

    राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतिक हो । सबैको अभिभावक हो । दलभन्दा, एउटा विचार, जाति, लिङ्ग, क्षेत्रभन्दा माथि उठेर सोच्ने संस्था हो राष्ट्रपति । यस्तो महत्वपूर्ण पदको गरिमा नबुझ्नेलाई राष्ट्रपति बनाउनु एमालेको गम्भीर भूल हो । पदलोलुपताको पराकाष्ठा हो । फरक ढंगले पनि राष्ट्रिय राजनीतिमा योगदान गर्न सकिन्छ नि ।पार्टी प्रवेश गरेर, सुविधा त्यागेर पदको महत्वलाई लत्याउने अनैतिकहरूबाट देशमा असल कामको अभ्यास हुन्छ भनेर आस गर्न सकिन्छ ? ज्ञवालिजि पनि उपयुक्त नेता होईन रहेछन् । आफ्नो दुनो सोझ्याउन पाईएला भनेर यस्तो अनैतिक कामको पनि खुलेर विरोध नगर्ने ? दुई कार्यकाल र उमेरहदको वकालत पनि फेरि यस्तै अनैतिकका पुच्छरहरूले चलाईरहेका छन् । दुईपटक राष्ट्रपति भैसकेको लाई चाहिँ फेरि अध्यक्ष र भावि प्रधानमन्त्री बनाउनु हुन्छ भनेर वकालत पनि गर्ने अनि त्यहि मुखले दुई कार्यकाल र उमेरहदको कुरा पनि गर्ने । यस्ता दही चिउरे नेता फेरि यिनै अनैतिकका कथित प्रवक्ता रे । पश्चिमको एउटा छ । कान्छी श्रीमतिलाई ओलिले न्यायाधिश बनाईदिएनन भनेर ओलिलाई देखाईदिन यस्ता कुरा गर्दै हिडेको छ । यस्ताहरूबाट एमालेमा केही हुन्छ ? कुरा स्पष्ट हुनुपर्छ । ओलि स्वस्थ रहेसम्म पार्टीको अध्यक्ष र एमालेको तर्फबाट प्रधानमन्त्री ओलि नै हुनुपर्छ । ओलिजस्तो महान नेता एमालेमा हुनु त हामी सबैको भाग्य हो । देशको भाग्य हो । यस्तो नेताको विकल्प खोज्ने ? वाहियात काम हो यो । दिल्लीको दलाली गर्नेले मात्र यस्तो बहस चलाउछ । यस्तो बहस चलाउनेलाई खेदिन्छ ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      ने.क.पा. एमालेलाई ने.क.पा. माले जस्ताे बनाउने हुन् कि ? एमालेलाई याे अवस्थामा पुर्याउने के. पी. ओली हारेकाे एमालेकाे भविश्य कस्ताे हाेला ? कल्पना गर्न सकिन्छ ? कम्तिमा एकताकाे अलाप जप्न त छाेड । अब जसले एकता एकता भन्दै हिड्छ, त्याे एमाले सक्न लागि परेकाे छ, कुरा बुझे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *