काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रले ४ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगेका छन् । चालू आर्थिक वर्षको ११ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोडले बढेको हो ।
गत आर्थिक वर्षको तुलनामा ८.० प्रतिशतले यस्तो कर्जा प्रवाह बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो ।
चालू आवको जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत रहेको थियो ।
यस अवधिमा निजी क्षेत्र तर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ ।
जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.० प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.० प्रतिशत र ६८.५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ४२.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ६२.२ प्रतिशतले, हायर पर्चेज कर्जा ५.५ प्रतिशत, नगद प्रवाह कर्जा ०.६ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १३.२ प्रतिशतले घटेको छ ।
यस अवधिमा २० खर्ब २९ अर्ब ७२ करोड बराबरको आवधिक कर्जा प्रवाह हुँदा नगद प्रवाहमा ६ खर्ब ५२ अर्ब कर्जा गएको छ ।
त्यस्तै, यस अवधिमा व्यक्तिगत आवासीय घर कर्जामा ४ खर्ब १० अर्ब गएको छ भने विपन्न वर्ग कर्जा ३ खर्ब १२ करोड रुपैयाँ प्रवाह भएको छ । साथै यस अवधिमा रियल स्टेटमा २ खर्ब ८७ अर्ब कर्जा प्रवाह भएको छ ।
चालू आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जा १ खर्ब २९ अर्ब दिँदा आयात कर्जा १ खर्ब ३३ अर्ब प्रवाह गरेका छन् । यस अवधिमा ओभर ड्राफ्ट कर्जा १ खर्ब ३० अर्ब, शेयर धितो कर्जा १ खर्ब २८ अर्ब, बिल पर्चेज कर्जा ११ अर्ब ४८ करोड प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply