काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ११ महिना तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । मुद्राप्रदाय ८.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ ।
यस्तै, आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ । सरकारको खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड र राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोड रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.७ प्रतिशत रहेको छ ।
साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह
विप्रेषण (रेमिट्यान्स) आप्रवाह साढे १५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
एक महिनामै रेमिट्यान्स एक खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
चालू आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।
वैदेशिक व्यापार उल्लेख्य सुधार
वैदेशिक व्यापारमा उल्लेख्य सुधार भएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२.६ प्रतिशत, ३.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलैची लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएको थियो ।
यस अवधिमा निर्यात- आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।
चालु खाता ३०७ अर्बले बचतमा
चालू आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा चालु खाता ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २०० अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रहेको थियो ।
यस्तै यस अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो । यस अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।
२५.९ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति
गत आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भएको छ । २०८२ जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
खुद सेवा आय ९७ अर्बले घाटामा
चालू आर्थिक वर्षको ११ महिनासम्ममा खुद सेवा आय घाटामा रहेको छ । समीक्षा अवधिमा खुद सेवा आय ९७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रहेको थियो ।
यस अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.५ प्रतिशतले वृद्धि भई २०३ अर्ब ९७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फmको व्यय १२४ अर्ब ८० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७५ अर्ब १६ करोड रहेकोमा शिक्षातर्फको व्यय ११७ अर्ब १ करोड रहेको थियो ।
सरकारको खातामा ३ खर्ब ३९ अर्ब नगद मौज्दात
सरकारको खातामा ३ खर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ । २०८२ जेठ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३९ अर्ब ९८ करोड नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रहेको थियो । यो मौज्दात रकम प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत हो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा नेपाल सरकारको कुल खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च ८ खर्ब ५१ अर्ब ५८ करोड, पूँजीगत खर्च १ खर्ब ४३ अर्ब ३९ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ८७ अर्ब ९७ करोड रहेको छ ।
यस अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ खर्ब २४ अर्ब ९० करोड र स्रोत परिचालन १ खर्ब ८२ अर्ब ६० करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब ३९ अर्ब ८६ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ४२ अर्ब ७४ करोड रहेको छ ।
पाँच खर्ब निक्षेप संकलन गर्दा निजी क्षेत्रले लगे ४ खर्ब कर्जा
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ खर्ब १७ अर्ब ६० करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.५१४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ ।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४०७ अर्ब ६२ करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्र तर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।
जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत रहेको थियो ।
यस अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.२,७८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१८,५५८ अर्ब ७० करोड गरी कुल रु.२१,३४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply