विराटनगर । कोशी प्रदेश सरकारमा सामेल मन्त्रीहरूलाई फिर्ता बोलाउन कांग्रेसभित्र दबाब बढेको छ । कोशीमा कांग्रेसबाट राज्यमन्त्रीसहित ४ जना सरकारमा छन् । एमाले-कांग्रेस गठबन्धन सरकारमा मुख्यमन्त्रीसहित एमालेको भागमा ५ वटा मन्त्रालय छ ।
कांग्रेसका भूपेन्द्र राईले भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल छन् । भूमिप्रसाद राजवंशी भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री छन् । सरकार गठनको एक वर्ष नपुग्दै कांग्रेसमा आन्तरिक किचलो सुरू भएको हो ।
कोशीमा कांग्रेसका तीनवटा सक्रिए छन् । संस्थापन समूहबाट सदानन्द र खगेनसिंह मन्त्री हुँदा सिटौला समूहबाट भूपेन्द्र राई मन्त्री बनेका छन् । कोइराला समूह सरकारमा नगएपछि कोइरालाको भाग छुट्ट्याएरै भूपेन्द्रलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य तथा सांसद भीम पराजुली सरकारमा पार्टीको भूमिका कमजोर देखिएको भन्दै काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताउँछन् । पार्टी मुख्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकमा आइतबार पराजुलीले मन्त्रीहरूका कारण सुशासनमा कमजोरी भएको लिखित धारणा राखे । विकासे बजेटमा मन्त्रीहरूले ‘मनपरी’ गरेको उनको टिप्पणी छ ।
बजेट वितरणलगायतका विषयमा कांग्रेसका प्रमुखसचेतक समेत असन्तुष्ट छन् । मन्त्रीहरूलाई फिर्ता बोलाउन आन्तरिक दबाब बढेपछि संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री हिक्मत कार्कीबीचमा यस विषयमा छलफलसमेत भएको स्रोतले बतायो ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार कार्की र थापाबीच पटक-पटक यस विषयमा छलफल भएको छ । तर, थापाले यस विषयमा आफूले मात्रै भनेर नहुने भन्दै सभापति शेरबहादुर देउवाबाटै निर्णय हुनुपर्ने मुख्यमन्त्रीसमक्ष बताएका छन् ।
विवादमा एकपछि अर्का मन्त्री
कांग्रेसका मन्त्री एकपछि अर्को विवादमा समेत मुछिँदै आएका छन् । मन्त्री नहुँदै बहालवाला डीएसपीको परिवारलाई मार्ने धम्की दिएका खगेनसिंह हाङ्गामले केही दिनअघि पाथीभरा विकास समितिका अध्यक्ष रक्की थेबेलाई हातपात गरे । उनको कार्यशैलीलाई लिएर कांग्रेसभित्रैबाट आलोचना भयो ।
आफूलाई नसोधी मुख्यमन्त्री र प्रमुख सचिवलाई भेटेको भन्दै उनले सचिव र महाशाखा प्रमुखलाई भौतिक कारबाहीको धम्कीसमेत दिएका थिए ।
अर्का मन्त्री सदानन्द मण्डलमाथि पनि कर्मचारी सरुवामा घुस मागेको आरोप लागेको छ । उनले सचिवालय मार्फत पैसा उठाउन कर्मचारीलाई क्यूआर कोड पठाएको भन्दै आलोचना भइरहेको छ ।
सचिवालयका कर्मचारी अमृत मेहता मार्फत ओखलढुङ्गा डिभिजन वन अधिकृत रितेष भूषण बस्नेतसँग मण्डलले घुस मागेको भन्दै सांसद राजन किरातीले सदनमा राजीनामा मागेका छन् । यो विषय पार्टीको संसदीय दलमा पनि उठेको छ ।
असार ११ गतेको बैठकमा सांसदहरूबीच चर्काचर्की परेको सहभागीहरूले बताएका छन् ।
यस्तै भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईमाथि आफ्नो जिल्ला (खोटाङ) मा मात्रै बजेट र योजना खन्याएको भन्दै संसदीय दलभित्र आलोचना भएको छ । उनले आफ्नो जिल्लामा मात्रै १ अर्बभन्दा बढी बजेट हालेका छन् ।
मन्त्री बन्ने दाउमा को-को ?
मन्त्रीहरूलाई फिर्ता बोलाउन आन्तरिक दबाब बढाएर सांसदहरू नियुक्तिको दौडमा लागेका छन् । जसमा भीम पराजुली पनि छन् । विराटनगर महानगरपालिकाका मेयर भइसकेका उनी सिटौला समूहमा छन् । मन्त्रीहरू सरकारबाट फिर्ता भए आफ्नो नेतृत्वमा सरकार बनाउन उनले लबिङ गरिरहेका छन् ।
संसदीय दलका नेता उद्धव थापासमेत सोही समूहका नेता भएकाले उनी आफ्नो नेतृत्वमा सरकारमा जाने दाउमा छन् । प्रमुख सचेतक गोपाल तामाङ पनि लबिङमा छन् । आफ्नो मन्त्री बन्ने ध्याउन्न नभई सरकारको परफमेन्स खस्किएकाले सरकारको आलोचना गर्नुपरेको उनको भनाइ छ ।
यस्तै पूर्वमन्त्री हिमाल कार्की, पूर्वमन्त्री प्रदीप सुनुवार पनि आकांक्षी देखिएका छन् ।

Leave a Reply