काठमाडौं । टिकटकर रमा बस्नेत थुनामुक्त भएको १२ दिन बितिसकेको छ । तर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमा भने आज पेशी तोकिएको छ ।
सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत अन्य नेताहरुविरुद्ध जथाभाबी बोलेको र गालीगलौज गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि उनका बुवा बलदेव बस्नेतले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा मङ्गलवार सुनुवाइका लागि पेसी तोकिएको हो ।
उनी थुनामुक्त भइसकेको भए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको र रिट परिसकेपछि प्रक्रियागत रूपमा मङ्गलवार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिष्ट्रार अच्युत कुइँकेलले नेपाल प्रेसलाई जानकारी दिए ।
यस अघि असार १० गते उक्त रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बस्नेतलाई थुनामा राख्नुको कारण विपक्षीसँग मागेको थियो । बन्दीको रिटमा सुनुवाइका लागि पेसी तोकिए पनि बस्नेत भने यसअघि नै जिल्ला अदालत काठमाडौंबाट धरौटी बुझाएर रिहा भइसकेकी छन् ।
साइबर ब्युरोको टोलीले यहीँ असार १ गते उनलाई पक्राउ गरेपछि असार ९ मा बस्नेतका बुवा बलदेवले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
साइबर ब्युरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहीँ असार ११ मा जिल्लामा मुद्दा दायर गरेकोमा असार १२ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएकी थिइन् ।

Leave a Reply