काठमाडौं । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्ड अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरम असन्तुष्ट देखिएका छन् । एन्फा नसुध्रिएको खण्डमा नेपाल नफर्किने उनको मनसाय छ ।
प्याट्रिकको प्रशिक्षणमा नेपालले हालै महिला एसिया कप छनोट प्रतियोगिता खेलेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा टाइब्रेकरमा चुक्दा नेपाल एसिया कपमा छनोट हुन सकेन ।
प्रतियोगितापश्चात् नेपाली टिम स्वदेश फर्किए पनि प्रशिक्षक प्याट्रिक भने फर्केका छैनन् ।
आज कान्तिपुर दैनिकमा उनको एउटा अन्तरवार्ता प्रकाशित भएको छ । सो अन्तरवार्तामा उनले खुलेरै एन्फाको आलोचना गरेका छन् । एन्फाले नेपाली टिमलाई न्यूनतम पूर्वाधार र सुविधाहरूसमेत नदिएको उनको भनाइ छ ।
प्याट्रिकले भनेका छन्, ‘मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागेँ, कुनै जवाफ नै आएन । होटलमै कहिलेकाहीँ आइससम्म हुन्न थ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ?
खेल भएको दिन, प्राविधिक प्रमुखले मलाई भनेका थिए, ‘धेरै चिन्ता नगर्नु, आफूले सक्दो गर्नु ।’
मलाई यसले केही नराम्रो गरेन, तर खेलाडी स्तब्ध थिए । उनीहरू रुने मनस्थितिमा थिए ।
‘पहिलो दिनदेखि नै समस्या थियो । खेलाडीलाई होस्टेल जस्तो होटलमा राखिएको थियो । खराब खाना थियो । मैले सोधेको थिएँ, बजेटको समस्या हो कि अरू केही हो । मलाई मुख्य प्रशिक्षक त बनाइएको थियो, तर मलाई टिमबाट अलग गरी अर्कै होटलमा राखिएको थियो । मैले भने, सबै एकै होटलमा हुनुपर्छ । उनीहरूले तीनतारे होटल दिन खोजे, मैले चारतारे मागेँ । त्यतिबेला नै एन्फा पदाधिकारीलाई लागेको थियो, यो प्रशिक्षकसँग काम गर्न सजिलो हुनेछैन । यो सब मैले खेलाडीका लागि चाहेको थिएँ ।’
आफूले गतिलो सहयोगीसमेत नपाएको उनले गुनासो गरेका छन् । ‘मैले त्यस्तो सहयोगी पाइनँ, जसले मलाई मद्दत गर्न सकोस् । म सबैसँग काम गर्न तयार छु, तर उनीहरू पनि त्यसका लागि योग्य हुनुपर्छ । मलाई त्यस्तो सहायकको के काम जसलाई कम्युटर पनि खोल्न आउँदैन अनि तथ्यांकसँग काम गर्न सक्दैन ।’
‘हामीसँग जीपीएस थिएन । न ट्रेनिङमा क्यामेरा न त विश्लेषणका विवरण । यस्तो बेला मैले गर्ने नै के र ? म त ६१ वर्षको भइसकेँ । यो उमेरमा मेरो लागि खुसी नै सबैभन्दा ठूलो हो । मलाई यस्तो वातावरणमा अब काम गर्नु छैन । यो गुनासो मात्र होइन, वास्तविकता हो,’ उनी भन्छन् ।
उज्बेकिस्तानविरुद्धको खेल अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई फोन गरेकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । यसबाट खेलाडीहरूमा अनावश्यक दबाबमा परेको उनको टिप्पणी छ । उज्बेकिस्तानविरुद्ध टाइब्रेकरमा ४–५ जना खेलाडीहरूले पेनाल्टी हान्न नमानेको खुलासासमेत गरेका छन् ।
प्याट्रिकले भने, ‘यसपल्टको टाइब्रेकरमा दबाबका कारण तीन/चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन् । यो खेलको अवस्था मात्र थिएन । बिहान ११ बजे नै प्रधानमन्त्रीसहितका व्यक्तिहरूसँग भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो । मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् । यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे ? गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्यो त ?’
अब एन्फासँग बेल्जियमबाटै कुरा गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘थाहा छैन । म आफैले सम्पर्क राख्ने छैन । यदि मलाई कल आएमा मैले उत्तर भने दिनेछु । म नेपाल फर्कन चाहन्छु, केवल खेलाडीका लागि ।’
कप्तान नियुक्तिमा पनि विवाद भएको प्याट्रिकको स्वीकारोक्ति छ । उनले सावित्रा भण्डारीको कप्तानीको प्रशंसा गरे । सावित्रा नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताए ।
बेल्जियमका प्याट्रिकलाई गत जेठ २८ गते एन्फाले महिला फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । उनी महिला टिमका दोस्रो विदेशी प्रशिक्षक हुन् । यसअघि सन् २०१९ मा अष्ट्रेृलियाका ग्लेन फिलिप्स महिला टिम सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक थिए ।
प्याट्रिक महिला टिमका पहिलो प्रो लाइसेन्स होल्ड प्रशिक्षक पनि हुन् । यसपालि एन्फाले पहिलो पटक प्रो लाइसेन्स होल्डर प्रशिक्षकको मागेको थियो, जसमा २१ जनाले आवेदन दिएका थिए ।
उनीहरूमध्ये दुई जनालाई सर्टलिस्टमा राखिएको थियो र अन्तिममा प्याट्रिक छनोट भए । यसअघि उनले नेपाल सुपरलिगमा काठमाडौं रेन्जर्सलाई प्रशिक्षण दिएका थिए । ६१ वर्षीय प्याट्रिकसँग एन्फाको एक वर्षको सम्झौता छ ।

Leave a Reply