रामकुमारी झाँक्रीबारे निर्णय गर्न नेकपा एसको बैठक बस्दै, माफी नमाग्ने अडान कायमै

काठमाडौं । नेकपा एसकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको अध्यक्ष माधव नेपाललक्षित विस्फोटक अभिव्यक्तिबारे निर्णय लिन उक्त पार्टी सचिवालय बैठक बस्दैछ ।

११ बजेदेखि बस्ने भनिएको बैठकका लागि पार्टी कार्यालय, आलोकनगरमा पदाधिकारीहरू जम्मा हुन थालेका छन् । आजको बैठकले झाँक्रीलाई सचेत, निलम्बन वा निश्कासनमध्ये के गर्ने भन्नेबारे कुनै एक निर्णय हुने पार्टीका एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।

आइतबारको बैठकमा सबै नेताले उनीबारेका धारणा राख्ने क्रम सकिएको थियो । एकदिन झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) का लागि मौका दिने सहमति बमोजिम सोमबार बैठक बसेन । तर, झाँक्रीले अहिलेसम्म आफ्ना अभिव्यक्तिमाथि आन्तरिक वा सार्वजनिकरूपमा माफ मागेकी छैनन् ।

उनले असार १४ गते बुटवलमा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीको मूल नेतृत्व (अध्यक्ष माधवकुमार नेपाल) मै समस्या आएको भन्दै अर्ली महाधिवेशन गरेर अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राखेकी थिइन् । उनले ‘मरेको सिनोलाई धेरै बोक्न सकिँदैन’ भनेकी थिइन् ।

आइतबारको बैठकले झाँक्रीसँग आवश्यक कुराकानी गर्न महासचिव घनश्याम भुसाललाई जिम्मा दिएको थियो । भुसालले सोमबार दिनभरि झाँक्रीलाई गरेको फोन उनले रिसिभ गरिनन् । तर, साँझ भेट भयो ।

पार्टीस्रोतका अनुसार, सोमबार बेलुकी भुसाल र झाँक्रीबीच लामो कुराकानी भयो । त्यसक्रममा झाँक्रीले आफूले बोलेको कुरामा छलफल गर्न तयार रहेको र आफूबारे अरु नेताले गरेका टिकाटिप्पणीका विषयमा पनि छलफल हुनुपर्ने अडान राखिन् । तर, कुनै पनि भाषामा माफ माग्न तयार नभएको स्पष्ट पारिन् ।

जुन सन्दर्भका साथ आफूले उक्त कुरा व्यक्त गरेको हो, त्यसमा आफूले कुनै किसिमको आत्मालोचना, पश्चाताप वा माफी माग्नेजस्ता काम नगर्ने महासचिव भुसाललाई बताइन् । बरु, आफूले र अरुले बोलेका विषयमा हुने कुनै पनि बैठक, छलफल, भेला वा कुनै किसिमको भेटघाटमा उपस्थित हुनुपर्ने भए आफू तयार भएको सन्देश बैठकलाई दिन आग्रह गरेको स्रोतले जनायो ।

पार्टी कार्यालयमा नेताहरु बैठकका लागि जम्मा भइरहँदा झाँक्री भने एक टेलिभिजन प्रस्तोतासँग कुराकानीका निम्ति जाँदै थिइन् । नेपाल प्रेसले सम्पर्क गर्दा उनले ‘पछि कुरा गर्छु’ भनिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *