एलिना भन्छिन् : अब विदेश बस्ने केटासँग सायद बिहे गर्दिनँ

काठमाडौं । अहिले सामाजिक संजाल एलिना–समिक्षामय भएको छ । आफूविरुद्ध अभद्र कमेन्ट र म्यासेज गर्नेहरुको तस्विर भटाभट सार्वजनिक गर्न थालेपछि उनीहरु चर्चित भएका हुन् ।

अझै एक कदम अगाडि बढेर एलिनाले गालीगलौज गर्नेहरुविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत गरिन् । त्यही उजुरीका आधारमा एकजना पक्राउ परिसकेका छन् । यसका साथसाथै, एलिना अहिले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिन व्यस्त छिन् । हालै आएका दुईवटा अन्तरवार्तामा उनले बिहेपछि श्रीमानबाट पाएको शारीरिक र मानसिक यातनाको वर्णन गरिन् ।

ऋषि धमलालाई दिएको एउटा अन्तरवार्तामा एलिनाले भनेकी छन्, ‘मलाई जिउनै गाह्रो भयो । मैले मर्नुभन्दा बहुलाउनु निको भनेर डिभोर्स गरेको हो । पछि दुर्घटना हुनुभन्दा अहिले नै छुटेको राम्रो हो भनेर छुट्टियौं ।’ अन्तरवार्तामा उनले बिष्णु सापकोटासँग विवाह गर्ने निर्णय नै गलत भएको स्वीकारोक्ति गरेकी छन् ।

‘मैले साँचो माया गरेको थिएँ, त्यसैले विवाहका लागि तयार भएँ,’ उनले भनिन्, ‘परिवारको सहमति नभए पनि मैले नै रोएर, ब्ल्याकमेलिङ गरेर उहाँहरुलाई कन्भिन्स गराएँ । उहाँलाई पाइनँ भने बाँच्नै सक्दिनँ भनेर बुवाआमालाई विवाहका लागि तयार गराएँ । मैले गल्ति गरेँ ।’

डिभोर्सको कारणबारे उनी भन्छिन्, ‘अरुलाई के दोष दिनु, मैले नै उहाँको विश्वास जित्न नसकेर छुट्टिनुपर्ने अवस्था आयो ।’ धमलाले एलिनालाई अर्को विवाह गर्ने सम्भावनाबारे कोट्याइ–कोट्याइ सोध्छन् । एलिना पनि केही हदसम्म खुलिन् ।

उनलाई सोधिएको थियो, ‘अब प्रेम नगर्ने ?’ एलिनाले भनिन्, ‘त्यो थाहा छैन, भविष्यको बारेमा अहिलेसम्म सोचेको छैन । अहिलेसम्म भएको छैन। ’ धमलाको अर्को प्रश्न– सम्बन्धविच्छेदपछि अरु कोहीसँग फेरि प्रेममा पर्नुभएको छैन ?

एलिनाले भनिन्, ‘अहिलेसम्म छैन ।’ प्रेम भन्ने कुरा कति बेला, कोसँग हुन्छ थाहा नहुने भएकाले भविष्यमा जे पनि हुन सक्ने उनले तर्क गरिन् । तर अब प्रेम गरे पनि आफुले पहिला झैँ मरिहत्ते नगर्ने उनको भनाइ छ ।

‘पब्लिक फिगर भएपछि सबै कुरा थाहा भइ नै हाल्छ । अहिले विवाह गर्दिनँ भनौंला, पछि फेरि होला । पक्कै विवाह नगरी बस्दिनँ पनि होला । प्रेम वा विवाह जे भएपनि सबैलाई थाहा भइ नै हाल्छ’, उनले जोडिन् ।

अब आफुलाई इज्जत गर्ने र आफ्नो कामलाई बुझ्नेसँग मात्र विवाह गर्ने एलिनाले योजना सुनाइन् । अब विवाह गर्ने केटामा हुनुपर्ने गुणबारे सोध्दा उनले भनिन्, ‘यस्तो–उस्तो केटा भन्ने छैन । भविष्यको कुरा सोचेकै छैन । विवाहै नगरी त बस्दिनँ होला । अलिकति इज्जत दिने र मेरो काम बुझ्ने हुनुपर्यो । सायद अब विदेशमा बस्ने केटासँग म विवाह गर्दिनँ होला ।’

एलिनाले गत वर्ष वैशाख ५ गते अष्ट्रेलिया निवासी प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया उडेकी एलिना दुई महिनामै नेपाल फर्किइन् । त्यसपछि अष्ट्रेलिया गइनन् । केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमै विवाहमा परिणत गरेका यी दुईको वैवाहिक जीवन एक वर्ष पनि टिक्न सकेन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *