पारिश्रमिक स्टन्ट : माग्नेबुढालाई ३५ लाख दिएर ६१ लाखको हल्ला (भिडिओ)

काठमाडौ‌ । अभिनेता तथा हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ ले नयाँ चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको चर्चाले सिने नगरी खुबै गर्मायो । उनले नेपालकै महंगा कलाकारको ट्यागसमेत पाए ।

चलचित्रका निर्देशक ऋषि लामिछानेले एक सार्वजनिक कार्यक्रमम माग्ने बुढालाई ६१ लाख दिएको दावी गरेका थिए । ५१ लाख हातमै हालिसकेको र बाँकी १० लाख फिल्म चलेपछि दिइने उनको भनाइ थियो । लामिछानेले त यतिसम्म भने कि माग्ने बूढालाई दिएको पारिश्रमिक कम हो र उनी एक करोड डिजर्भ गर्छन् ।

तर, यो सबै ‘स्टन्ट’ सावित भएको छ । माग्ने बुढा स्वयम्ले अहिले आएर आफूलाई ६१ लाख रुपैयाँ दिएको हल्ला असत्य भएको बताएका छन् ।

नेपाल प्रेससँगको अन्तर्वार्तामा उनले भने, ‘त्यति धेरै पारिश्रमिक लिनु ठिक होइन, त्यो पारिश्रमिकलाई लिएर चर्चा गर्नु पनि ठिक होइन । यी दुवै कुरा खारेजयोग्य छन् ।’ उनले पटक–पटक दोहोर्याए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै छैन ।’

‘माग्ने राजा’ का निर्माता मुनाल घिमिरे दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष हुन् । यसअघि उनले दुईवटा चलचित्र निर्देशन गरेका थिए तर खासै चल्न सकेनन् । पछिल्लो समय फिल्मबाट टाढा रहेर राजनीतिमा लागेका थिए । उनी गत स्थानीय चुनावमा एमालेबाट विजयी भएका हुन् । ‘माग्ने राजा’ को निर्देशन अभिभारा भने उनले ऋषी लामिछानेलाई सुम्पिएका छन् । घिमिरे र लामिछानेको सल्लाहमा नै धेरै पारिश्रमिकको हल्ला पिटिएको हो ।

माग्नेबुढा भन्छन्, ‘जेजसो गरेर भए पनि चलचित्रले हाइप लिनुपर्यो भाइ भनेर निर्माताले भन्नुभयो । मान्छेलाई भदौ ६ गते चलचित्र आउँछ भनेर थाहा हुनुपर्यो भन्ने थियो ।’

तर, पारिश्रमिकको समाचार आएपछि माग्ने बुढालाई ‘ब्याकफायर’ भयो । सानो बजार भएको चलचित्र क्षेत्रमा निर्मातालाई डुबाउने गरी चर्को पारिश्रमिक लिएको भनेर सामाजिक सञ्जालमा आलोचना गरियो । त्यही भएर माग्नेबुढा अहिले यो हल्ला चिर्न लागिपरेका छन् ।

उनले पुनः स्पष्टिकरण दिए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै होइन । हाम्रो आपसी समझदारीमा मैले पारिश्रमिक लिएको छु ।’

आपसी समझदारीको रकम चाहिँ उनले खुलाउन चाहेनन् । तर, निर्माण स्रोतले गोप्य रुपमा नेपाल प्रेसलाई दिएको जानकारी अनुसार माग्ने बुढाले ३५ लाख रुपैयाँमा यो चलचित्र खेलेका हुन् । यदि चलचित्रले उच्च मुनाफा कमाएको खण्डमा निश्चित प्रतिशत ‘इन्सेन्टिभ’ दिन पनि निर्माण पक्ष सहमत रहेको बुझिएको छ ।

‘माग्ने राजा’ मा माग्नेबुढाको पारिश्रमिकबारे गत वर्ष पनि चर्चा चलेको थियो, जतिबेला उनले फिल्म साइन गरेका थिए । त्यसबखत उनले ५० लाखभन्दा बढी रकममा साइन गरेको बताइएको थियो र माग्ने बुढाले पनि घुमाउरो स्वीकारोक्ति गरेका थिए ।

५० लाखभन्दा धेरै पारिश्रमिक लिन थाल्नुभएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा गत वर्ष मंसिरमा उनले जवाफ दिएका थिए, ‘मैले कहिल्यै यतिउति भनेर मागिनँ । राम्रो कथा आए बाहिरको ब्रान्डमा काम गर्छु भन्ने थियो । स्क्रिप्टहरु सुन्दा मनप¥यो । काम गर्छु भन्ने कुरा भएपछि निर्माताहरु आफैंले माया गरेर यति दिन्छु भन्नुभयो । मैले पनि हुन्छ भनें । त्यति हो ।’

माग्ने राजा भन्दा अगाडि ‘कँगारु’ नाम चलचित्रमा पनि माग्ने बुढाले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलाइएको थियो । माग्नेबुढा र स्वस्तिमा खड्कालाई लिएर बनाउने भनिएको चलचित्र भने घोषणामै सिमित रह्यो । माग्नेबुढा अहिले ‘माग्ने राजा’ बाहेक थप दुई चलचित्र ‘माइतीघर’ र ‘जेरी अन टप’ मा काम गरिरहेका छन् । माइतीघरका निर्माता रोहित अधिकारीले माग्नेबुढालाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएको दावी गरेका थिए । तर, अहिले आएर उनको त्यो दावीमा पनि आशंका उत्पन्न भएको छ ।

‘छक्का पन्जा’ टिमभन्दा बाहिर माग्ने बूढाले अभिनय गरेका चलचित्रमध्ये दोस्रो चलचित्रको रुपमा ‘माग्ने राजा’ प्रदर्शन हुँदैछ । यसअघि उनले पूजा शर्माले निर्माण गरेको चलचित्र ‘रामकहानी’ मा अभिनय गरेका थिए । सो चलचित्र फ्लप भएको थियो ।

आफूले ‘माग्ने राजा’ मा अत्यन्त मिहेनत गरेको माग्ने बुढाले बताए । दर्शकहरु निराश नहुनुपर्ने उनको भनाइ छ ।

घिमिरेले भने, ‘यो बीचमा धेरै स्क्रिप्टहरु आएका थिए । त्यसमध्ये छानेर चलचित्र छनोट गरेँ । मैले काम गरेन भनेर कतिपय साथीहरु रिसाउनुभएको पनि होला । म उहाँहरुलाई नरिसाउनु होला भन्न चाहन्छु । मलाई हतारहतारमा पाए जति सबै चलचित्र खेल्न मन थिएन ।’

माग्ने राजाको टिजर केही दिनअघि युट्यूवमा सार्वजनिक भएको थियो । टिजरले सुखद प्रतिक्रिया पाइरहेको छ ।

Comments

One response to “पारिश्रमिक स्टन्ट : माग्नेबुढालाई ३५ लाख दिएर ६१ लाखको हल्ला (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    पारिश्रमिक धेरै लिनु ठिक हो, तर निर्माताले पनि फाइदा कमाओस्, नत्र फिल्म नचलेको खण्डमा रकम पनि फिर्ता दिन सक्ने हिम्मत राख्नु। निर्माता चाही डुब्ने, कलाकार मात्रै मोटाउने चाही नहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *