काठमाडौं । वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने लाेभ देखाएर दुई महिलामाथि ठगी गरिएकाे छ । उनीहरुलाई भारतमा लगेर अलपत्र बनाइएपछि भागेर स्वदेश फर्किए ।
अस्मिता बस्नेत र अंकिता चौधरीलाई बुल्गेरिया पठाइदिने भनेर बिचौलिया राजकुमार भण्डारीले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ मुख्य सञ्चालक रहेको सामाखुशीस्थित गुरुङ म्यानेजमेन्टलाई समेत मुछेका छन् ।
भण्डारीले आफ्नो श्रीमती भनेर ईश्वरी जोशी र आशा रानाको नाममा पटक–पटक विभिन्न बैंक खातामा रकम हालेका थिए ।
अहिले प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा यससम्बन्धी निवेदन दिइएकाे छ । डीएसपी शिवराज बुढाथोकीको नेतृत्वमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीमा दर्ता भएको निवेदनअनुसार, राजकुमारले बुल्गेरीयामा फुड प्याकिङको काममा पठाइदिने र त्यसका लागि साढे १५ लाख रुपैयाँ खर्च हुने भनेका थिए । नाताले राजकुमार अस्मिताका फुपाजु हुन् । नेपाल प्रेसले सम्पर्क गर्दा अस्मिताले भनिन्, ‘हामीलाई बुल्गेरीयामा फुड प्याकिङको लागि पठाउने भन्दै राजकुमारले पटक पटक गरी मसँग १४ लाख लिए ।’
उनले थपिन्, ‘सामाखुसीमा रहेको गुरुङ म्यानेजमेन्टमा बाेलाएर आफूले त्यहाँ काम गर्ने भन्दै पैसा लिएका हुन् ।’
भण्डारीले दिएको खाता नम्बरमा पैसा हालेको उनले बताइन् ।
‘मैल पटक पटक गरी बैंक खातामा १० लाख र हातमा नगद ४ लाख दिएकी हुँ’ उनले भनिन्, ‘अंकिताले १३ लाख खातामा र साढे २ लाख हातमा दिएकी हुन् ।’
भण्डारीले बुल्गेरीया पठाउने भनेर आफूहरुलाई भारतमा लगेको उनले बताइन् । उनीहरुलाई भारत पुर्याउनासाथ भण्डारी भने नेपाल जानुपर्ने जरुरी काम पर्यो भन्दै बेपत्ता भए । आफू नेपाल फर्किनुपर्ने भएपछि उनले प्रकाश चौधरी नामक व्यक्तिलाई अस्मिता र अंकिताको होटल खर्चसहित अन्य रेखदेखको जिम्मा लगाए । तर, प्रकाशले अह्राएजस्तो काम गरेनन् । होटलमा बसेको र खाएको पैसा तिर्नुपर्ने भनेर पटक पटक फोन गर्दा पनि साँझ ५ बजे आउँछु भनेर भन्ने, तर नजाने गरेकाे पीडितले बताइन् ।
उज्यालो हुँदासम्म नजाने, तर १०/११ बजे होटलमा गएर ढोका हान्ने गरेको उनीहरुले नेपाल प्रेसलाई बताए ।
‘हामीले राति भएको कारण ढोका खोलेनौँ’, अस्मिताले भनिन्, ‘यस्तो व्यवहार भएपछि हामी भागेर नेपाल फर्कियौँ, प्रकाशलाई केही भनेनौँ ।’
उनीहरुले नेपाल फर्किनासाथ प्रहरीमा निवेदन दिएको बताएका छन् ।
यदि बस्नेत र चौधरीलाई भारतमा लगेर बन्धक बनाइएकै हो भने त्यस्तो कसुर गर्ने व्यक्तिउपर मानव शरीर बन्धक तथा मानव बेचबिखनसम्बन्धी मुद्दा आकर्षित हुन्छ ।
‘हामीलाई ठगीअन्तर्गतको निवेदन आएको छ, तर अनुसन्धानबाट पीडितहरु अपहरित भएको र बन्धक बनाइएको कुरा खुल्यो भने मुद्दा चलाउनका लागि हामी जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइदिन्छौं’, अनुसन्धानरत एक प्रहरीले बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङलाई यसबारे जिज्ञासा राख्दा उनले ती मान्छेहरु आफूले नचिनेको बताए ।
उनले भने, ‘मलाई पनि एक हप्ताअघि दुई जना ठगीमा परेको भनेर टोखाबाट एकजनाले कल गर्नुभएको थियो । मैले ठगीमा परेको हो भने कानुनी प्रक्रिया अगाडि बढाउन सुझाव दिएको थिएँ । म आफैँ संघको अध्यक्ष छु । कसैले गलत गरेको छ भने त्यो मान्छेलाई कारवाही हुनुपर्छ । मलाई जानकारी नै नभएको विषयमा मेरो नाम र मेरो मेनपावर जोडिएको छ । मैले राजकुमार भण्डारी भन्ने मान्छे नै चिन्दिन । तर, ठगी गर्ने मान्छेलाई कारवाही हुनुपर्छ ।’
(यस समाचारको प्रस्तुतिमा केही त्रुटि हुन गएकाले सच्याइएको छ । सम्वन्धित पक्षलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।



Leave a Reply