सिंहदरबारबाट ‘हराएको’ गाडीको कथाः कसरी जोडिइन् महन्थ ठाकुरकी छोरी ?

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै श्रम मन्त्रालयको गाडी हराएको समाचारले अस्ति निकै हल्लीखल्ली मच्चियो । सिंहदरबारभित्रको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्नहरु उठे ।

त्यसको २४ घन्टा नबित्दै सबैलाई राहत दिने गरी अर्को समाचार आयो- हराएको गाडी भेटियो ।

खासमा गाडी न हराएको हो, न भेटिएको । खासमा गाडी दुरुपयोग भइरहेको थियो, त्यो पनि अरु कोहीबाट नभएर श्रममन्त्री शरदसिंह भण्डारीबाटै । र, उनकै सचिव कृष्णहरी पुस्करले चलाखीपूर्वक ‘गाडी हराएको’ भन्दै खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका थिए ।

स्रोतका अनुसार करिब ४ महिनाअगाडि नै भण्डारीका स्वकीय सचिवले ‘मन्त्रीज्यूको आदेश’ भन्दै मन्त्रालयको स्टोरबाट प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको महेन्द्र स्कर्पियो लिएर हिँडेका थिए । यो विषयमा सचिव पुष्करले त्यही बेला थाहा पाएका हुन् । तर, मन्त्रीकै आदेशमा लगिएको भनेपछि उनले केही गर्न सकेनन् ।

अहिले आएर मन्त्रालयकै एक उपसचिवलाई गाडी अभाव भयो । त्यसपछि सचिवले स्कर्पियोका विषयमा मन्त्रीको सचिवालयलाई सोधे । तर, स्वकीय सचिवले स्कर्पियो कहाँ छ भन्ने आफूलाई थाहा नभएको भन्दै गैरजिम्मेवार जवाफ दिएपछि सचिव पुस्कर रुष्ट बनेका थिए । त्यसपछि उनले गाडी खोजीका लागि गृह मन्त्रालयलाई पत्र काट्न लगाएका हुन् ।

प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई समेत बोधार्थ पठाइएको पत्रमा गाडी कहिले हराएको भन्ने उल्लेख छैन ।

प्रशासन शाखाका अधिकृत भीमबहादुर शाहीले लेखेको पत्रमा भनिएको थियो, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समयदेखि हराइरहेको हुँदा उक्त सवारी साधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनु हुन साथै प्रचलित कानूनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारवाही अगाडि बढाइदिनुहुन १५ असारको सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’

यसरी पत्रमा गाडी खोजतलास गर्न मात्र नभएर सम्वन्धित व्यक्तिलाई मुद्दासमेत चलाउन भनिएपछि आत्तिँदै मन्त्री भण्डारीले गाडी फिर्ता गर्न लगाएका छन् । पत्र काटिएको दुई दिनमै गाडी मन्त्रालयमा ल्याइएको स्रोतले बतायो ।

‘गाडी फिर्ता आएको छ, कसले ल्याइदिएको हो भन्ने चाहिँ थाहा पाइएन,’ स्रोतले भन्यो ।

उक्त स्कर्पियो मन्त्री भण्डारीकै कब्जामा रहेको बुझाइ मन्त्रालयका सचिव र कर्मचारीहरूमा थियो । तर, मन्त्रीले सो गाडीमा लोसपाका अध्यक्ष महन्थ ठाकुर सवार हुने गरेको आरोपपछि कथामा ट्वीस्ट आएको छ । स्रोतको दाबीअनुसार आफूलाई फेरि एकपटक मन्त्री बनाइदिने पार्टी अध्यक्ष महन्थलाई रिझाउन भण्डारीले मन्त्रालयको गाडी दिलाएका हुन् ।

आज नागरिक दैनिकले उक्त गाडी महन्थकी छोरीले डा. मिनाक्षी ठाकुरले चढ्ने गरेको समाचार प्रकाशित गरेको छ । महन्थपुत्री मिनाक्षी हाल वैदेशिक रोजगार बोर्डकी सदस्य छिन् । भण्डारीले नै अघिल्लोपटक मन्त्री भएका बेला २०८० साल फागुनमा अध्यक्षकी छोरीलाई सो नियुक्ती दिलाएका थिए । एक उपसचिवलाई उद्वृत गर्दै समाचारमा उनै मिनाक्षीले मन्त्रालयको गाडी चढ्ने गरेको जनाइएको छ ।

यस सम्वन्धमा नेपाल प्रेसले ठाकुरका स्वकीय सचिव सत्यन्द्र मिश्रसँग बुझ्न खोज्दा उनले ठाडै इन्कार गरे ।

उनले भने, ‘समाचारमा आएका सबै अफवाह हुन् । महन्थ ठाकुरजस्तो सादगी नेताले यस्तो गर्नुहुन्छ ? कांग्रेसको पालामा मन्त्री हुँदाखेरि त सरकारी गाडी चढ्नु भएन, अहिले के चढ्नुहुन्छ ? उहाँ त सरकारीको नाम लिने वित्तिकै रिसाउनुहुन्छ ।’

विगतमा गिरिजाप्रसाद कोइरालाको सरकारबाट हटेपछि निवासबाट फर्किँदा सरकारी गाडी छोडेर आफूलाई ट्याक्सी बोलाउन लगाएको उनले सम्झिए । मिश्रका अनुसार अहिले ठाकुरको आफ्नै निजी गाडी छ र त्यही चढ्दै आएका छन् ।

आफूले नचढे पनि छोरीलाई चढ्न दिनुभएको होला नि त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘छोरीले पनि चढ्नुभएको छैन । उहाँको श्रीमानको इलेक्ट्रिक गाडी छ, त्यसैमा चढ्नुहुन्छ ।’

तर, लोसपाका महासचिव सुरेन्द्र झाले भने मन्त्रालयको गाडी अध्यक्षले कहिलेकाहीँ चढ्ने गरेको बताएका छन् ।

उनले भने, ‘कहिलेकाहीँ काम पर्दाखेरि चढ्नु भएको हो । अध्यक्षज्यूको गाडी बिग्रिएर ग्यारेजमा राखेको बेलामा कहिलेकाहीँ निवासबाट अफिस, अफिसबाट संसद ल्याउने लैजाने काम चाहिँ गरेको थियो । यो डेढ दुई महिना अगाडिकै कुरा हो । अहिले कसरी यो विषय उठिरहेको छ हामी आफैं छक्क परेका छौं ।’

उनले पनि छोरी मिनाक्षीले सो गाडी नचडेको दाबी गरे ।

‘उहाँको श्रीमान जमिन्दार हुनुहुन्छ, उहाँको आफ्नै गाडी छ,’ झाले भने ।

सचिवले नै गाडी हराएको भनेर गृह मन्त्रालायमा पत्राचार गरेको विषयमा उनले भने, ‘कर्मचारीहरूबीच मिस कम्युनिकेसन भयो होला । यसमा हाम्रो अध्यक्षज्यूलाई मुछ्नुपर्ने कुनै कारण छैन । उहाँ अहिलेको गिनेचुनेको नेतामध्येमा पर्नुहुन्छ, यस्तो कुरामा उहाँलाई जोड्नु गलत हो ।’

यस घटनापछि मन्त्री भण्डारी सचिवप्रति असन्तुष्ट बनेका छन् । गाडी आफूले लगेको भन्ने थाहा हुँदाहुँदै सचिवले चिठी काटेर ‘स्टन्ट गरेको’ उनले निकटस्थहरुसँग बताएको स्रोतको भनाइ छ ।

Comments

One response to “सिंहदरबारबाट ‘हराएको’ गाडीको कथाः कसरी जोडिइन् महन्थ ठाकुरकी छोरी ?”

  1. ksp pyl Avatar
    ksp pyl

    मन्त्रि बनाउन अरू कोहि छैनन देशमा ? भण्डारीलाई नै पटक पटक बनाउनुपर्छ ? नियत थाहा पाईसकेपछि पनि पटक पटक मन्त्रि किन ? अध्यक्षकी छोरीलाई गाडी, नियुक्ति, ज्वाईलाई के, ससुरालाई के, सालोलाई के यस्तै त हो नि गर्ने । देशमा अहिले पैसा चलायमान भैरहेको क्षेत्र भनेकै वैदेशिक रोजगार हो । यस्तो मन्त्रालयमा पटक पटक लगेको किन ? एक जना नभै देशै ठप्प हुन्छ ? त्यो लोसपालाई नै सरकारमा लानुपर्ने किन ? काँग्रेस एमाले मात्र मिलेर सरकार बनाए हुँदैन ? तराईमा रहेका अहिलेका पार्टीहरूको मुख्य काम नै लुटने, तराईका सोझा जनतालाई हेप्ने र चुस्ने, गुण्डागर्दी गर्ने हो । भ्रष्टाचार गर्नुपरे तराई जाउँ भन्ने भाष्य बनिसकेको छ । यिनीहरूलाई संघीयता नै यसरी नै लुटन चाहिएको हो । त्यहाँका गरिव त झन् पिल्सिरहेका छन् । यो सबै तराईका बदमास पार्टीहरूले गर्दा हो । त्यसैले एउटा गाडीको कुरा त सामान्य हो । मन्त्रालय भित्र कस्ता कस्ता घटना घटेका होलान । कडा छानबिन गरेर कडा कारवाही होस् । अहिलेको जमानामा पनि बदमासहरू कारवाहीमा नपर्ने हो भने देश कहिले बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *