साढे तीन लाखको योजना अनुगमन गर्न एक लाख खर्च !

पाल्पा । कृषि ज्ञान केन्द्र, पाल्पाले साढे तीन लाखको योजना अनुगमन गर्न एक लाख बढी खर्च गरेको छ । कृषि ज्ञान केन्द्र, पाल्पाले ३ लाख ६९ हजार १ सय ७६ रुपैंयाको दुई वटा योजना अनुगमन गर्न १ लाख १९ रुपैंया खर्च गरेको हो ।

जिल्लाका ७ वटा सरकारी कार्यालयका प्रमुख र पत्रकारहरु सहितको संयूक्त अनुगमनका १ लाख बढी खर्च भएको हो । दुई वटा योजनाको कुल बजेटको २७.०९ प्रतिशत रकम अनुगमनमा खर्च भएको देखिन्छ । जसमा ६१ हजार ५ सय रुपैंया भत्तामा मात्र खर्च गरिएको छ ।

अनुगमनमा सहभागी ४० जनाले २ हजार ५ सय रुपैंया देखि १ हजार २ सय ५० रुपैंया सम्म भत्ता बुझेका हुन् । बिहान ८ बजे तानसेन बाट अनुगमन गएको टोली १२ बजे तानसेन आईपुगेको थियो । तर टोलीले ४ घण्टा अनुगमन गएर डेढ दिनको भत्ता बुझेको छ । अनुगमनमा कृषि ज्ञान केन्द्र, पाल्पाका ९ जना सबै कर्मचारी अनुगमनमा सहभागी भएका थिए ।

अनुगमनमा कृषि ज्ञान केन्द्रसहित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ७ वटा गाडी अनुगमनमा प्रयोग गरिएको थियो ।

हरेक गाडीलाई १५/१५ लिटर ईन्धन वितरण गर्ने भनिएपनि केहिले नलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ईन्धनमा ११ हजार ३ सय १९ रुपैंया खर्च गरिएको छ । खाजा र खानामा २१ हजार २ सय रुपैंया खर्च गरिएको छ भने स्टेशनरीमा ४ हजार र पानीमा १ हजार रुपैंया खर्च गरिएको कृषि ज्ञान केन्द्र, पाल्पामा कार्यरत नायब प्राविधिक सहायक रविन बुढाले जानकारी दिए ।

केन्द्रले व्यक्तिगत फर्मलाई दिएको योजना अनुगमन गर्न जाँदा अनुदान लिने व्यक्तिहरुसँग समेत समन्वय नगरी अनुगमन गरेको छ । दुवै योजना अनुगमन गर्दा अनुदान लिने व्यक्तिहरु सहभागी थिएनन् ।

सम्बन्धित वडाका वडाध्यक्षहरुले योजना स्थल देखाएका थिए । साना योजनालाई धेरै खर्च गरेर तामझामका साथ यस्तो फितलो अनुगमन गर्दा नागरिकहरुले कार्यालयको खर्च मितव्ययीतामाथी प्रश्न गर्ने गरेका छन् ।

सिंचाई सहित कृषि विकास कार्यक्रम अन्तरगत हिमसागर कृषि फर्म तानसेन १४ को १ सय २५ मिटर पक्की कुलो र शुभ कृषि बहुउद्देश्यिय एग्रो फर्म तानसेन १३ को सिंचाई टंकी अनुगमन गरिएको थियो । कृषि ज्ञान केन्द्र, पाल्पाले पक्की कुलोमा १ लाख ६९ हजार १ सय ७६ रुपैंया र सिंचाई टंकीमा २ लाख रुपैंया अनुदान दिएको कार्यक्रमकी फोकल पर्सन मनिषा पौडेलले बताईन् ।

कृषि ज्ञान केन्द्र, पाल्पाका प्रशासन शाखा प्रमुख भुवन केसीले प्रदेश सरकारले संयूक्त अनुगमन गर्नैको लागि तोकेर बजेट विनियोजन गर्ने गरेको भन्दै बजेटको कार्यान्वयन गरेको बताए । उनले वर्षाको समय भएकाले टाढा र ठुला योजना अनुगमन गर्न जान नसकेको स्विकार गरे । कार्यालयको लागि धेरै बजेटको कार्यक्रम नै नआउने हुँदा टुक्रे योजनाहरु बनाउनुपरेको समेत उनले बताए ।

कृषि ज्ञान केन्द्र, पाल्पाका प्रमुख अरविन्द मणी त्रिपाठीले यो कार्यालयमा मात्र नभई अन्यत्र पनि यस्तो हुने गरेको बताए । उनले अनुगमन कार्य गर्नैपर्ने हुँदा कर्मकाण्डी रुपमा भएको स्विकार गरे । अन्यत्र ठुला र प्रभावकारी योजना अनुगमन गर्दा प्रभावकारी हुने भएपनि नजिक र सजिलो स्थान रोज्दा खर्च बढी देखिनु स्वभाविक नभएको उनले बताए ।

सानो योजना अनुगमन गर्न जम्बो टोली र खर्चको प्रभावकारीता नभएको किसानहरुले गुनासो गर्ने गरेका छन् । अनुगमनमा गरिने यस्ता खर्चको प्रभावकारीता नहुने हुँदा कार्यालयले मितव्ययीतामा ध्यान दिन नसकेको देखिन्छ । कृषि ज्ञान केन्द्र, पाल्पाले मात्र होईन, बजेट खर्च गर्नैका लागि मात्र जिल्लाका धेरै कार्यालयले यस्ता कर्मकाण्डी अनुगमन गर्ने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *