रुपन्देही क्षेत्र नं ३ मा स्वतन्त्रबाट लेखनाथ गैरेको उम्मेदवारी घोषणा

रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने बुटवलका युवा लेखनाथ गैरेले घोषणा गरेका छन् ।

आन्तरिक रूपमा धेरैले उम्मेदवारीको तयारी गरे पनि पहिलो पटक सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो हुन् ।

आइतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिका १९ निवासी गैरेले जनताको भावनाको आत्मसम्मानसहित देशको आवश्यकता र कर्तव्य बोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेको जनाएका छन् ।

विभिन्न सामाजिक संघसंस्थामा रहेको काम गर्दै आएका उनले भ्रष्टाचाररहित समाज निर्माण गर्दै देशमा शिक्षा, स्वास्थ्य र विकासका एजेन्डा आफ्नो चुनाव जित्ने आधार रहेको दाबी गरेका छन् ।

आफू कुनै राजनीतिक दल निकट नभएको र अहिलेको माग र आवश्यकता स्वतन्त्रकै भएकाले चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ । निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै जिल्लामा चुनावी सरगर्मी सुरु भएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ का नागरिकले आफूलाई विश्वास गर्नेमा ढुक्क भएको उनले जनाएका छन् । ०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।

यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् ।

निर्वाचन आयोगले मिति घोषणा गरेसँगै दलहरूले उम्मेदवार छनौटका प्रक्रिया थालेका छन् । यसअघि राप्रपाबाट दीपक बोहोराले जितेको यो क्षेत्रलाई कायम राख्न उनले आकांक्षीसहित काठमाडौंमा बैठक बसेर असार मसान्तसम्म जिल्ला पार्टीलाई सिफारिसका लागि निर्देशन गर्दै नेता ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

त्यसै गरी रास्वपाले पनि आजभोलिमै यसको तयारी गर्ने जनाएको छ । बालेन समर्थकहरूले पनि उम्मेदवार घोषणाको तयारी गरेका छन् ।

उपचुनावमा सत्तारुढ नेपाली कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण र प्रमोद यादव, एमालेबाट खिमलाल भट्टराई र शशी पौडेल, राप्रपाबाट दीपक बोहोराका छोराहरू गौरव र प्रज्ज्वल बोहोरा आकांक्षी छन् ।

त्यसै गरी रास्वपासहितका दलहरूले पनि तयारी गरेका छन् । मधेसकेन्द्रीत दलहरूले पनि साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् ।

Comments

One response to “रुपन्देही क्षेत्र नं ३ मा स्वतन्त्रबाट लेखनाथ गैरेको उम्मेदवारी घोषणा”

  1. RIC Avatar
    RIC

    राप्रपाबाट कमल थापा एमालेबाट सर्वेन्द्र खनाल उठाउने कुरा कत्तिको मिल्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *