माननीय पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठज्यू
नमस्कार !
आराम छु, तहाँ तपाईं पनि आरामको कामना गर्दछु । तपाईँ तर्क, तथ्य र योजना सुन्दै गर्दा यतिको जोशिलो मान्छे देशको प्रधानमन्त्री हुनुपर्छ जस्तो लाग्छ । तर, शिक्षकको सेवासुविधाबारे तपाईंका पछिल्लो भनाइ ‘निजामतीसरह शिक्षकले सेवासुविधा पाउन निजामतीसरह काम पनि गर्नु पर्ला नि !’ अत्यन्तै निन्दनीय र चरम निराशापूर्ण छ । यसले शिक्षकको पेशामाथिकै अपमानका रूपमा आम शिक्षकले बुझेका छन् ।
केही दिनदेखि उक्त अभिव्यक्तिबारे पत्रपत्रिका र सामाजिक सञ्जालमा सर्वत्र चर्चा थियो । तथ्य नहेरी आलोचना नगर्ने भएकाले केही दिन चुपचाप बसेँ । तपाईंले बोलेको भिडिओ नै पाएपछि साँच्चिकै आत्मसम्मानमा ठेस पुगेको महसुस गरेँ र आफ्नै पेशालाई धिक्कार्न मन लाग्यो । शिक्षक अन्य पेशाको जननी हो, त्यो बिर्सिन हुने थिएन । ‘बाबुभन्दा छोरो जान्ने, खुकुरीभन्दा कर्द लाग्ने’ उखानले तपाईँको कुराको चरितार्थ गर्छ ।
सबै शिक्षकलाई एउटै डालोमा हालेर गरेको टिप्पणी अत्यन्तै निन्दनीय र खेदजनक छ । यस पेशामा अब्बल, इमानदार र कर्तव्यनिष्ठ शिक्षक छ्न् भनेर बिर्सिन हुन्थेन । तपाईंहरू नीति बनाउने तहमा हुनुहुन्छ कुनै पनि देशको शिक्षालाई अग्रगामी, वैज्ञानिक र व्यवहारिक बनाउन देशको शिक्षा नीतिले मूल भूमिका खेल्दछ । संविधान निर्माणको झण्डै दश वर्ष हुँदा पनि संघीय शिक्षा ऐन नबन्नु के शिक्षकको कमजोरी हो ? काम नगरेर शिक्षक सुतेकै मात्र हुन् त ? के नीति निर्माणकर्ताको हैसियतले आफ्नो जिम्मेवारी बहन गर्नुभएको छ एक पटक छातीमा हात राखेर आत्म समीक्षा गर्नु होला ।
माननीय सुमना श्रेष्ठज्यू ! तपाईं नयाँ हुनुहुन्छ, तर नयाँ हुनु सबै कुरामा अब्बल हुनु हैन । युवा हुनु जान्ने हुनु हैन रहेछ । शिक्षकलाई माग्ने र थाङ्ने मात्रै हुन् भन्ने सोचबाट मुक्त हुनुहोला । एउटा कुरामा सहमत भने पक्कै छु ! तपाईंसँग शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने समय भएको छ । शिक्षणलाई समय सापेक्ष बनाउन र अहिले जेन जी र जेन अल्फा पुस्ताका रुचि र आवश्यकतालाई मध्यनजर गर्दै शिक्षकले आफैँले आफैँलाई अपडेट गर्न आवश्यक छ । राज्यले पनि शिक्षकलाई अपडेट गर्न र उत्प्रेरित गर्न नसकेको कुरामा घामजस्तै छर्लङ्ग छ ।
शिक्षक पेशामा नयाँ आउनेहरूलाई उत्प्रेणाको खाँचो छ । देशमै बसेर शिक्षाको ज्योति फैलाउँछु र आफ्नो ज्ञान यतै बेच्छु भन्नु मजस्ता नवप्रवेशी शिक्षकको गल्ती हो र ? आफ्नो तलबमात्र खाएर भ्रष्टाचार नगरी स्वाभिमानसँग बाँच्न पाउने अर्को पेशा देखाइदिनु होस् ।
तपाईंमाथि जनताबाट अनुमोदित नभई ‘टीके’ को आरोप छ । नेताको खल्ती र पार्टीको कोटामा परेकोले देश र जनताको मनोभावना बुझ्न सक्नु हुन्न भन्ने तपाईँमाथिका आलोचना मिथ्या हुन् भन्ने कामना गर्दछु ।
तपाईंले ल्याएको कार्यविधिबारे मैले खुल्ला पत्र लेखेको थिएँ । आज पनि भन्छु उक्त कार्यविधि अवैज्ञानिक र अव्यवहारिक छ । कानूनी छिद्रहरू राखेर करारमा राजनीतिक नियुक्तबारे तपाईँलाई म एक से एक प्रमाण दिन सक्छु । खैर यो विषय नै अदालत प्रवेश गरेको छ । अदालतले आफ्नो स्वविवेक प्रयोग गर्ला !
अन्त्यमा, माननीयज्यू ! हामी अन्त कुनै अवसर नपाएर शिक्षण पेशामा आएका हैनौँ । आफ्नो ज्ञान सीपलाई प्रयोग गरेर लाखौं बालबालिकाको भविष्य काँधमा बोकेर यस पेशामा होमिएका हौँ । विश्व श्रम बजारमा बिक्ने सर्टिफिकेट झोलामै बोकेका छौँ । तमाम नेपाली विदेशी भूमिमा आफ्नो श्रम र पसिना बेचेर बाँचिरहेको तथ्य राख्नु पर्दैन होला । तपाईँ नै त्यस उदाहरणको प्रत्यक्ष साक्षी हो ।
शिक्षक पेशामा नयाँ आउनेहरूलाई उत्प्रेणाको खाँचो छ । देशमै बसेर शिक्षाको ज्योति फैलाउँछु र आफ्नो ज्ञान यतै बेच्छु भन्नु मजस्ता नवप्रवेशी शिक्षकको गल्ती हो र ? आफ्नो तलबमात्र खाएर भ्रष्टाचार नगरी स्वाभिमानसँग बाँच्न पाउने अर्को पेशा देखाइदिनु होस् ।
माननीय ज्यू ! म कुनै संघ संगठनमा आबद्ध छैन । एउटा स्वतन्त्र शिक्षक हुँ मेरो कर्म शिक्षण हो । पुन: भन्दै छु तपाईंको अभिव्यक्तिले इमानदार शिक्षकको आत्म सम्मानमा ठेस पुगेको छ । अभिव्यक्ति फिर्ता लिन जोडदार माग गर्दछु । धन्यवाद !
हिक्मत रावल
शिक्षक

Leave a Reply