उप्रेती समाजको स्थापना दिवसमा वंशज सम्मान

काठमाडौं । उप्रेती समाजसेवा समितिको ३० औँ स्थापना दिवस ज्येष्ठ वंशज सम्मान, पुरस्कार र रक्तदानसहित शनिवार सम्पन्न भएको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा देशभरिका उप्रेती बन्धुको प्रतिनिधिमूलक उपस्थित थियो ।

समितिका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न आयोजित कार्यक्रममा ज्येष्ठ वंशज सम्मानबाट काभ्रेपलान्चोकका नीलप्रसाद उप्रेती, काठमाडौंका जलकुमारी खड्का उप्रेती, भक्तपुरका अम्बिका सिवाकोटी उप्रेती र श्रीप्रसाद उप्रेती, झापाका टीकादेवी दाहाल उप्रेती र कृष्णप्रसाद उप्रेतीलगायत सम्मानित भए ।

उप्रेती वंशजकै प्राध्यापक विशालनाथ उप्रेती (पिएचडी) लाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उप्रेती समाजसेवा समितिमा आबद्ध सदस्यबाट स्थापित विभिन्न सम्मान तथा पुरस्कार पनि वितरण गरियो ।

५१ हजार राशिको लक्ष्मीदेवी–गंगाप्रसाद उप्रेती स्मृति सम्मान तथा पुरस्कार खोटाङ, दिक्तेलस्थित शुभम् फाउन्डेसनलाई प्रदान गरियो । ५० हजार राशिको पद्मलाल–नैनकला उप्रेती स्मृति सम्मान तथा पुरस्कार सीडब्लुएडीका अध्यक्ष डा. शशी अधिकारी राउतलाई दिइयो ।

१५ हजार राशिको नन्दराज–ओमकुमारी उप्रेती स्मृति सम्मान तथा पुरस्कार र धर्मानन्द–कौसल्या उप्रेती सामाजिक सेवा सम्मान तथा पुरस्कार क्रमशः पाल्पाको रम्बामा रहेको उत्तर बाहिनी गुरूकुलमका पण्डित चैतन्य कृष्ण प्रभु र मेनुका थापाले सञ्चालन गरेको रक्षा नेपाललाई प्रदान गरियो ।

१०/१० हजार राशिको खगेश्वर उप्रेती स्मृति सम्मान तथा पुरस्कार र चन्द्रकुमारी राना मगर स्मृति सम्मान तथा पुरस्कार क्रमशः कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित महिला तथा वृद्ध सेवाकेन्द्र र काठमाडौंका प्राध्यापक इन्दु तुलाधरलाई प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान रक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि उप्रेतीलगायतले सम्मानित र पुरस्कृत व्यक्तिलाई दोसल्ला, माला र सम्मान पत्र वितरण गरेका थिए ।

कार्यक्रममा समितिका महासचिव लक्ष्मणप्रसाद उप्रेती, सचिव बलरामप्रसाद उप्रेती, महिला विभाग प्रमुख कमला उप्रेती लगायतले मन्तव्य व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *