काठमाडौं । कविताको लघुत्तम रूपमध्ये मानिने टुक्काको अलग्गै संग्रह ‘काव्य कलश’ को लोकार्पण भएको छ । अमृता रसाइली ‘रामदाम’ रचित ‘काव्य कलश’ को लोकार्पण नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले गरेका हुन् ।
२०७७ साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो। लोकार्पणपछि सदस्य सचिव सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुने चर्चा गरे ।
प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको उत्थानमा योगदान गर्नुपर्ने समय आएको उनले बताए । दुई हरफभित्र पूर्ण सन्देश दिनसक्ने लघुत्तम काव्यिक संरचना टुक्का कविता आजको नेपाली साहित्यमा लोकप्रिय विधाको रूपमा स्थापित हुँदै गएको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषामा प्रचलित साहित्यिक विधामा टुक्का कविता छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको माध्यम भएको चर्चा गरे ।
कार्यक्रममा महाकाव्यकार कलानिधि दाहालले टुक्का कविता छोटो समयमै सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यम भएको बताए । साहित्यकार राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रयोग भएका विधामध्ये उत्कृष्ट र लोकप्रिय विधा मान्दै नेपाल प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाले यस्ता विधाको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने धारणा राखे ।
मुक्तक अभियन्ता सुनिल अधिकारीले काव्य कलशका सर्जक रामदामको चर्चा गर्दै टुक्का कविता मुक्तकजस्तै शैलीमा लेखिने, तर विधागत नियम फरक भएको टुक्का कविताले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको चर्चा गरे ।
कार्यक्रममा कवि जनार्दन अधिकारी ‘धड्कन’ तथा समीक्षक अरुणबहादुर खत्री नदीलगायतका अतिथिको उपस्थित थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष होमप्रसाद नेउपाने स्वागत मन्तव्य व्यक्त गरे । सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा र टुक्का साहित्य समाजको गतिविधिबारे जानकारी दिइन् ।
ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गड्तौला, रचना मोक्तान ‘‘यात्री’, पवनकुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरेलगायतका सर्जकले आ–आफ्ना टुक्का कविता वाचन गरे ।

Leave a Reply