कवि मेघराज मञ्जुललाई रिमाल पुरस्कार

काठमाडौं । गोपालप्रसाद रिमालको १०८ औँ जन्म जयन्तीका अवसरमा कवि, गायक एवं निबन्धकार मेघराज शर्मा मञ्जुललाई रिमाल पुरस्कार प्रदान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रजुघी पन्तको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्तोषकुमार चालिसे, वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेती सहभागितामा ३० हजार नगदसहित सम्मान गरिएको अध्यक्ष डा. हेमनाथ पौडेलले बताए ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व मञ्जुलकी श्रीमती सुस्मिता नेपाललाई पूर्वमन्त्री शान्ता मानवीले फूलमाला लगाएर सम्मान गरिन् ।

मन्त्री पन्तले मेघराज मन्जुलसँग आफूले लामो समय सहकार्य गरेको र उनले नेपाली गीतसङ्गीत र साहित्यका माध्यमबाट नेपाली समाजमा जागरण ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको बताए ।

मञ्जुल जस्तो प्रतिभा छनोट गरेर रिमालका नामको पुरस्कार प्रदान गरेकोमा साहित्य सदन नेपाललाई धन्यवाद दिदै पुरस्कृत व्यक्तित्व मञ्जुललाई बधाई दिए ।

सांसद चालिसेले साहित्यकार, कलाकार राज्यका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको बताए ।

साहित्य सदन नेपालका संस्थापक सदस्य पूर्व कुलपति गङ्गाप्राद उप्रेतीले पुरस्कृत व्यक्तित्व मञ्जुलको वैचारिक योगदानका बारेमा प्रकाश पार्दै साहित्य सदनको वर्तमान नेतृत्वले गरिरहेका गतिविधिप्रति प्रसन्नता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *