ओली सरकारबाट बाहिरियो नाउपा, राजीनामा बुझाउन निर्देशन कुर्दै राज्यमन्त्री चौधरी

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले सङ्घीय सरकारलाई लिएको समर्थन फिर्ता लिएको छ । नाउपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नाउपाका अरुण चौधरी छन् । पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै राज्यमन्त्री चौधरीले पनि राजीनामा बुझाउने तयारी गरेका छन् ।

संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन लगत्तै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरिएको उनले बताए । ‘हामीले सरकारबाट बाहिरिने निर्णय गरिसकेका छौँ । मैले राजीनामा पत्र तयार गरिसकेको छु ’ उनले भने ‘संरक्षक ज्यू र अध्यक्ष ज्यूको निर्देशन आए लगत्तै प्रधानमन्त्री ज्यूलाई पत्र बुझाउँछु ।’

समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै अब पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराइन् । उनले आजै राज्यमन्त्री चौधरीले राजीनामा बुझाउने समेत बताइन् । ‘हिजो समर्थन फिर्ता लिएको विषय आज औपचारिक रूपमा संसद् सचिवालयका दर्ता हुन्छ’ उनले भनिन् ‘त्यसपछि हामी प्रतिपक्षमा बस्छौ । हाम्रो मन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ ।’

भोलि प्रतिनिधि सभाको बैठक छ । उक्त बैठकमा नाउपा प्रतिपक्षमा बस्ने गरी आज सभामुखलाई जानकारी गराइने उनले बताइन् ।

बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो । मन्त्री चौधरीमाथि आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट बाहिरिने निर्णय गरेको हो । लुम्बिनी प्रदेशमा भने अझै समर्थन फिर्ता लिने निर्णय भएको छैन। सङ्घ र प्रदेशमा नाउपाले समर्थन फिर्ता लिँदैमा सरकारमा तत्काल असर पर्ने देखिँदैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *