रुपन्देही । बुटवलमा चार हजार अभिभावक मतदाता रहेको कान्ति मावि व्यवस्थापन समिति छनौट गर्दा दलहरूले आमनिर्वाचनकै झल्को दिने गरी प्रतिस्पर्धा गरेका छन् ।
नेकपा एमालेका उम्मेदवारहरु एक्लै चुनावी मैदानमा थिए भने नेपाली कांग्रेस, रास्वपा, नेकपा माओवादी केन्द्र, नेकपा विप्लव,नेकपा एकीकृत समाजवादीलगायतका दलहरू गठबन्धन बनाएर चुनाव लडेका थिए ।
शनिवार राती भएको मतगणनामा सबै सदस्यहरू गठबन्धनकै टीमबाट निर्वाचित भएका छन् । एमालेको बहुमत रहेको मानिएको यो विद्यालयमा राजनीतिक दलहरुबीच भागबन्डा नमिलेका कारण १ वर्षदेखि व्यवस्थापन समिति चयन हुन सकेको थिएन ।
चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि दलहरुबीच भागवण्डा नमिलेपछि १ वर्ष ढिलो गरी निर्वाचनद्वारा समिति चयन गरिएको हो ।
३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।
प्राप्त परिणाम अनुसार ५१४ मत प्राप्त गर्दै खुल्लातर्फ विपक्षी गठबन्धनबाट नेकपा विप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा विजयी भएका छन् । त्यसै गरी खुल्ला तर्फबाटै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् ।
महिलातर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर विजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् ।
खुल्लातर्फ शिवप्रसाद आचार्यले ३५५ र हुमनाथ पाण्डेले ३४५ प्राप्त गरेका छन् । महिलातर्फ राधिका पन्थीले ३८३ र गीता अर्याल पन्तले २४६ मत पाएका छन् । उनीहरू एमालेबाट उम्मेदवार बनेका थिए ।

Leave a Reply