निजीकरणले श्रमिक वर्ग बन्दैछ घरबारविहीन

जल, जंगल, जमिन, स्वास्थ्य, शिक्षा, आवास र खाद्यान्न जस्ता आधारभूत आवश्यकताका विषय वस्तु जस्तै किनबेच हुन थाले । यी सेवा र स्रोत निजीकरणमार्फत बजारको हातमा सुम्पिएका छन्, जहाँको प्राथमिकता मानव आवश्यकतामा होइन, मुनाफा कमाउन केन्द्रित हुन्छ । यो प्रवृत्ति केवल आर्थिक असमानताको कारक होइन, सामाजिक न्याय र मानवताको समेत घोर अपमान हो ।

श्रमजीवी वर्गका लागि यी सेवा जीवनयापनका लागि अनिवार्य छन्, तर निजीकरणले यी सेवाको पहुँच कठिन र महँगो बनाइदिएको छ । विश्व बैंकको सन् २०१८ को प्रतिवेदनअनुसार विकासशील देशमा स्वास्थ्य सेवामा गर्नुपर्ने खर्चकै कारण १० करोडभन्दा बढी मानिस बर्सेनि गरिबीको रेखामुनि धकेलिन्छन् ।

जब श्रमिक जीवनका आधारभूत आवश्यकता पूरा गर्न ऋण लिन बाध्य हुन्छन्, उनीहरूको श्रम बजारको निम्ति सस्तो स्रोत बन्न पुग्छ । यसरी निजीकरणले केही मुट्ठीभर पुँजीपतिलाई अत्यधिक धन सञ्चय गर्न अवसर दिन्छ भने बहुसंख्यक जनसंख्या न्यूनतम जीवनस्तरमा बाँच्न विवश हुन्छ ।

ऐतिहासिक दृष्टान्तः नेओलिबरल नीतिहरू र निजीकरण

सन् १९८० को दशकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचरले अगाडि सारेको ‘नेओलिबरल आर्थिक सुधार’ ले निजीकरणलाई विश्वव्यापी एजेन्डा बनायो । यी सुधार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकले विकासशील देशमा लागू गर्न थिचोमिचो गरे । यसको परिणामस्वरूप अफ्रिका, ल्याटिन अमेरिका र एसिया महादेशमा शिक्षा, स्वास्थ्य, पानी र ऊर्जा जस्ता सार्वजनिक सेवा निजीकरण गरिए, जसले गरिबी र असमानता झन् तीव्र बनायो ।

जल, जंगल र जमिन केवल प्राकृतिक सम्पत्तिमात्र होइनन्, मानव अस्तित्वका मेरुदण्ड हुन् । जब यी निजी स्वामित्वमा जान्छन्, तब तिनको उपयोग मानव कल्याण होइन, मुनाफा बढाउन केन्द्रित हुन्छ ।

जल, जंगल र जमिन केवल प्राकृतिक सम्पत्तिमात्र होइनन्, मानव अस्तित्वका मेरुदण्ड हुन् । जब यी निजी स्वामित्वमा जान्छन्, तब तिनको उपयोग मानव कल्याण होइन, मुनाफा बढाउन केन्द्रित हुन्छ ।

बोलिभियाको कोचाबाम्बा पानी युद्ध (सन् २०००) यसको ठोस उदाहरण हो । अमेरिकी कम्पनी बेच्टलले पानी सेवा निजीकरण गरेपछि पानीको मूल्य अकस्मात् तीन गुणा बढ्यो । गरिब जनताले पानी किन्ने हैसियत गुमाए, जसका कारण व्यापक जनविद्रोह भयो । अन्ततः सरकार निजीकरणको सम्झौता रद्द गर्न बाध्य हुनुपर्‍यो ।

यस घटनाले देखाउँछ, जब जीवनका लागि अनिवार्य स्रोतलाई निजीकरण गरिन्छ, जनताको अस्तित्व नै संकटमा पर्छ ।

स्वास्थ्य र शिक्षाः धनीका लागि सेवा, गरिबका लागि सपना

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कम आय भएका देशमा प्रत्येक १० व्यक्तिमध्ये ६ ले स्वास्थ्य सेवाको आर्थिक भारका कारण उपचार छोड्न बाध्य हुन्छन् । शिक्षाको सन्दर्भमा पनि विश्व बैंकले जनाएको छ कि निजी विद्यालयका कारण शिक्षामा अवसरको असमानता बढेको छ । भारत जस्तो देशमा निजी विद्यालयको शुल्क यति बढेको छ कि करोडौं बालबालिकाले आधारभूत शिक्षा नपाएर विद्यालय बाहिर रहन बाध्य छन् । स्वास्थ्य र शिक्षालाई व्यापारिक दृष्टिले हेर्नु मानव जीवनलाई नाफाको वस्तु ठान्नु हो ।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार संसारभरि करिब १५० करोड मानिस पर्याप्त सुरक्षित आवासबाट वञ्चित छन् । जब आवास क्षेत्र निजीकरण हुन्छ, साधारण श्रमिकले आफ्नो घर किन्न नसक्ने स्थितिमा पुग्छ । अहिले काठमाडौं जस्ता शहरमा पनि घर भाडा र जग्गाको मूल्य यति बढेको छ कि साधारण मजदुरका लागि सुरक्षित आवास केवल सपना जस्तै बनेको छ ।

जल, जमिन, जंगल, स्वास्थ्य, शिक्षा, आवास र खाद्यान्न जस्ता जीवनका आधारभूत आवश्यकता कुनै पनि समाजले सम्पूर्ण नागरिकका लागि निःशुल्क वा किफायती मूल्यमा सुनिश्चित गर्नुपर्छ ।

त्यस्तै खाद्यान्न बजार निजीकरण हुँदा मूल्य नियन्त्रण सकसिलो हुन्छ । सन् २००८ को वैश्विक खाद्य संकट प्रत्यक्ष प्रमाण हो- जहाँ खाद्यान्न व्यापारीकरण र सट्टाबजारका कारण करोडौँ मानिस भोकमरीको चपेटामा परे ।

विचारधारात्मक विश्लेषण

कार्ल मार्क्सले औद्योगिक पुँजीवादको आलोचना गर्दा भनेका थिए- ‘श्रमिकहरू केवल जीवित रहने र काम गर्नसक्ने अवस्था बनाइन्छ, न कि मानवीय सम्मानका साथ बाँच्न ।’ निजीकरणको आजको प्रवृत्तिले यस्तै अवस्थामा पुनः फर्काउने खतरा उत्पन्न गरेको छ । आधुनिक चिन्तक अनन्या सेनले लेखेकी छन्- ‘पानी, शिक्षा वा स्वास्थ्य सेवा बेच्न पाइने वस्तु होइनन्, यी मानव जीवनका अंश हुन् । मानव जीवनमाथि मोल तोक्ने कार्य आफैँमा अपराध हो ।’

जब जीवनका सबै आधारभूत आवश्यकता बजारको मोलतोलको वस्तुमा रूपान्तरण गरिन्छ, तब समाज मानवतावादी होइन, नाफावादी हुन्छ । व्यक्तिको अस्तित्व उपभोक्ता वा श्रमिकको भूमिकामा मात्र सीमित हुन्छ । नाफाका लागि सेवा बिक्री गर्दा सहानुभूति, न्याय, समानता र दया जस्ता मानवीय मूल्य विस्थापित हुन्छन् ।

निष्कर्ष

जल, जमिन, जंगल, स्वास्थ्य, शिक्षा, आवास र खाद्यान्न जस्ता जीवनका आधारभूत आवश्यकता कुनै पनि समाजले सम्पूर्ण नागरिकका लागि निःशुल्क वा किफायती मूल्यमा सुनिश्चित गर्नुपर्छ । यी आवश्यकता बजारको हातमा सुम्पनु केवल आर्थिक असमानता बढाउने कुरा होइन, सामाजिक अपराध र मानवताविरुद्धको अपराध हो ।

त्यसैले आजको आवश्यकता भनेको प्राकृतिक स्रोत र जीवनका आवश्यकता व्यापारीकरणको विरोध गर्नु हो । तिनलाई सामूहिक स्वामित्व र सार्वजनिकीकरणको बाटोमा ल्याउनु हो । यदि हामी मानवता बचाउन चाहन्छौँ भने यी जीवनका अंगलाई नागरिक अधिकारको रूपमा रक्षा गर्नु अनिवार्य छ- नाफाको साधनका रूपमा होइन ।

Comments

One response to “निजीकरणले श्रमिक वर्ग बन्दैछ घरबारविहीन”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    मार्क्सबाद समाजबाद फेल खाएको उदाहरण हो यो, काम नलाग्ने सिदान्त मरेको सिनो कति बोकेर हिड्छन् दलहरू। साथै समाजबादी र मार्क्सबादी सिदान्त भिर्ने दललाइ बजारमा आधारित पुॅजीबाद व्यवस्था संचालन गर्न आउने कुरो पनि भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *