समाजमा विद्यमान जब्बर असन्तुलित शक्ति सम्बन्धले मेरो मन करप्प पार्छ: कुमारी लामा

काठमाडौं । कुमारी लामाको परिचय एउटामात्रै छैन, उनी विश्वविद्यालयको अध्यापक, निबन्धकार र समालोचक हुन् । साथै महिलावादी अभियन्ता पनि उनको अर्को सामाजिक परिचय हो । समीक्षक तथा पत्रकार राजकुमार बानियाँकै शब्द सापटी लिने हो भने उनको अरू परिचय पनि छ, उनी भुईं पात्रका दुःख, सुस्केरा, विभेद र उत्पीडनप्रति औधी संवेदनशील महिलासमेत हुन् । बानियाँको भनाइको पुष्टि लामाका विचारोत्तेजक निबन्धहरुले गरिदिन्छन् ।

कुमारीका पहिलो निबन्ध संग्रह हो, ‘उज्यालो अन्धकार’ (२०७१) । उनको दोस्रो निबन्ध संग्रह १० वर्षपछि आयो, ‘दज्र्यु संलाप’ (२०८१) । पहिलो निबन्ध संग्रह आत्मपरक बढी थियो भने दोस्रो संग्रहमा उनले महिला, दलित र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेकी छन् । उनै लामालाई बानियाँले पाँच प्रश्न सोधेका छन्ः

– हालसालै पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची आएको छ । १५ पुस्तकको लामो सूचीमा दुई तिहाइ अर्थात् १० पुस्तक आख्यान, उपन्यास र कथासङ्ग्रह भनेर आइरहँदा निबन्धको नाकमुखै देखिएन । वर्ष २०८१ मा निबन्ध नै नलेखिएका हु्न् कि उत्कृष्ट पुस्तक नभएका हुन् ?

लेखन र पुरस्कार फरक क्षेत्र भएकाले यसलाई छुट्ट्याएर हेर्नु उचित होला । कुनै पनि पुरस्कारको सूचीमा निबन्ध या अन्य विधा पर्नु या नपर्नु आश्चर्यपूर्ण परिघटना होइन । सामान्यतया कुनै पनि पुरस्कार छनोट समितिको आ–आफ्ना मापदण्ड र प्रक्रियाहरू हुन्छन् । त्यसलाई हामी टिप्पणीको विषय नबनाऔं ।

तुलनात्मक रूपमा निबन्ध अलि कम प्रकाशनमा आएको देखिए तापनि २०८१ मा पनि निबन्ध कृतिहरू नआएका चाहिँ होइनन् (नियात्राबाहेक) । त्यसैले नलेखिएकै भन्न त मिलेन । ‘उत्कृष्ट लेखन’ भन्ने कुरा मलाई अलि झमेलापूर्ण लाग्छ । उत्कृष्टताको जाँच, परख गर्ने यन्त्र के हो ? त्यसमा पनि सृजनात्मक क्षेत्र व्यक्तिको अत्यन्त निजात्मक वैचारिकीभित्र पर्छ । चाहे राजनीतिक विषयमा नै किन नलेखिऊन्, उसले लेख्ने त फेरि पनि आफ्नै धारणा हो । त्यसैले पुरस्कार आदि इत्यादिको मापदण्डले छोयो, छोएन भन्ने झम्मारतिर दिमाग खियाउनुभन्दा लेखनमै पो बल गर्नु उत्तम होला हौ !

– वर्ष २०८१ मा तपाईंको निबन्ध कृति ‘दज्र्यु संलाप’ पनि प्रकाशनमा आएको थियो । तपाईंको पुस्तक पढ्न पाठक दीर्घा कतिको उत्साही पाउनुभयो, कत्तिको स्वागत पाउनुभो ?

हजुर, मेरो पहिलो निबन्ध सङ्ग्रह ‘उज्यालो अन्धकार’ प्रकाशन भएको एक दशकपछि मात्र मैले यस सङ्ग्रह ल्याउन सकेँ । लामै अन्तराल भएका कारण हुनसक्छ, पाठकमा एक प्रकारको पर्खाइ या उत्साह पाइरहेकी छु । तथापि पुस्तक आएको नौ महिनाभित्रै यस पुस्तकप्रति पाठकको चासो, खोज, पठन र गहन प्रतिक्रियाहरू आउने अपेक्षा गरिहाल्नु अलि हतार हुन्छ जस्तो लाग्छ । म तुरुन्त आउने/दिइने प्रतिक्रियाभन्दा आस्ते आस्ते आउने गम्भीर पाठकीय विचारको प्रतीक्षामा छु । यति भनिरहँदा मैले पाठकहरूको उत्साहपूर्ण स्वागत नपाएको भने होइन ।

खासमा पुस्तक प्रकाशन भएको केही समयमा नै नेपालका विभिन्न ठाउँलगायत भारत, हङकङ, कोरिया, युरोप, अमेरिकामा रहनुहुने पाठक तथा लेखकहरूले पुस्तक पढिरहेको सन्देश सामाजिक सञ्जालमा प्रवाह गर्नुभएको थियो । त्यसमध्ये पनि केही भने निकै स्मरणीय छन् । पोर्चुगलको विश्वविद्यालयमा अध्ययनरत एक छात्राले नेपालमा भएको आफ्नो साथीका लागि अनलाइनबाट किनेर उपहार पठाएको छोटो भिडियो क्लिप्स पाउँदा निकै खुसी लागेको थियो ।

आजका युवाहरूले नेपाली पुस्तक या साहित्य पढ्दैनन् भन्ने सुन्नमा आउँछ, तर सचेत र साहित्यप्रति झुकाव राख्ने युवाहरूले विदेशमा नै भए पनि नेपाली पुस्तक मगाएर पढ्ने गर्दा रहेछन् । त्यसैगरी पाल्पाको एक दुर्गम ठाउँको विद्यालयमा पढाउनुहुने एक शिक्षिकाले पनि अनलाइनबाट पुस्तक मगाएर पढ्नुभएको कुरा फेसबुक सन्देशमार्फत जानकारी गराउनुभएको थियो । संयोग होला, दुवै पाठक महिला । रमाइलो कुरा पनि । यस्ता केही दुर्लभ क्षणहरू ‘दर्ज्यु संलाप’ प्रकाशनपश्चात प्राप्त गरेकी छु ।

– यसअघिको निबन्ध कृति ‘उज्यालो अन्धकार’मा तपाईं आत्मपरक निबन्धमा रमाउनुभएको थियो । यस पटक अलि बहिर्मुखी देखिनुभएको छ । लेखकका रूपमा समाज विमर्शतिर ढल्कनुको रहस्य केही छ ?

समाज विमर्श या मानिसले भोगिरहेका विविध विषयहरूमाथिको विमर्शमा छु भनौँ । हामी वरपरका सामाजिक, सांस्कृतिक र प्राकृतिक पर्यावरणसँगको संवाद ‘दज्र्यु संलाप’मा स्पष्ट रूपमा देखिएको हुनसक्छ । तथापि ‘उज्यालो अन्धकार’मा मेरो व्यक्तिगत जस्ता लाग्ने विषय पक्कै मेरो निजीमात्र थिएनन् । हामीले आफ्नोबारेमा लेख्दा पनि सराबरी समाजका कुरा लेखिरहेका हुन्छौँ ।

हिजोआज मलाई समाजका विविध आयामहरूले तान्ने गर्छ । विशेषगरी समाजमा जब्बरताका साथ विद्यमान असन्तुलित शक्ति सम्बन्धका कुराले मेरो मन करप्प पार्छ । समाजका हर क्षेत्रमा ठालुपन उस्तै देखिन्छ । हेप्ने र हेपाइमा पर्ने, मिच्ने र मिचाइमा पर्नेहरू धेरै छन् ।

हामीले कागजी रूपमा प्राप्त गरेको हक अधिकार नियाल्दा हाम्रो समाजले प्रगतिशील मार्ग पक्रेको देख्छौँ, तर नेपालको सड्घीय राजधानी काठमाडौंबाट १२-१४ किलोमिटरको दूरीमा रहेको अमुक गाउँमा आज पनि दलित समुदायका सुना काकीहरू पैसा तिरेर पिएको चियाको गिलास पखाल्न बाध्य पारिन्छन् । त्यही वरपरका तामाङ बस्तीहरूमा बल्ल पहिलो पुस्ताले शिक्षाको उज्यालो प्राप्त गर्दैछन् ।

सेती र कान्छी तामाङहरूले जीवनभर पसिना चुहाउँदा पनि किन एक सामान्य जीवन बाँच्न पनि जुरेन होला ? त्यसमा दोष कसको छ ? हिजोआज मेरो मस्तिष्कमा समाजका किनारामा धकेलिएका त्यस्ता पात्र र विषयहरू घुमिरहन्छन् । लेखनमा पनि यस्ता विषयले प्राथमिकता पाएको कारण यहाँले औँल्याउनुभएको कुरा ठीकै हो । हो, म समाजसँगको संवादमा छु । तथापि मेरा निबन्धहरूलाई विभिन्न लेन्सबाट हेर्न सकिएला भन्ने लाग्छ ।

– ‘दर्ज्यु संलाप’ मा आदिवासी ज्ञान र सौन्दर्य (परम्परा, संस्कृति, कला, जीवनशैली, प्रकृतिसँगको सान्निध्य आदि) अझ उज्यालिएर आएको छ । तपाईंलाई यस विषयमा लेख्ने उत्प्रेरणा कसरी प्राप्त भयो ? यस विषयलाई न्याय गर्न के कस्तो अध्ययन र अनुसन्धान गर्नुभयो ? यसको रचना गर्भ थाहा पाऔं न !

मेरा निबन्धहरूमा आएको आदिवासी विषयमाथि यहाँको नजर परेछ, खुसी लाग्यो । मैले थोरबहुत उजागर गर्ने प्रयास गरेकी छु । हिजोआज आदिवासी ज्ञान र सौन्दर्यको विषयले केही चर्चा पाइरहेको छ । म आफैँ आदिवासी तामाङ समुदायको भएकाले पछिल्लो समय आफ्नो थातथलो, भूगोल, परिवेशसँग नजिक भई आफ्नो संस्कृति बुझ्ने चाह बढेको छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो जस्तो लाग्छ । कम्तीमा एक लेखकको निम्ति । स्वचिन्तन गर्नु लेखकको विशिष्टता पनि हो । साथमा आफ्नो धरातल, परिवेश, समाज बुझ्ने कोसिस पनि गरिँदो रहेछ । मलाई पनि मेरो समाज, संस्कृति र तामाङहरूको इतिहासतिर झुकाव बढ्न थालेकाले मेरा केही निबन्धहरू यही विषय केन्द्रित पनि भए ।

आदिवासी ज्ञान र सौन्दर्यबोधका लागि सबभन्दा पहिले नेपालका विभिन्न आदिवासी समुदायले आआफ्नो सौन्दर्य र ज्ञानलाई कसरी महसुस गर्छन्, कुन माध्यमबाट उजागर गरिरहेका छन् भन्ने बुझ्नु जरुरी छ भन्ने लाग्छ । त्यसैले मैले पछिल्लो समय यसै विषयमा केन्द्रित रही अध्ययन, मनन र मन्थन थालेकी छु । सांस्कृतिक र संस्कारजन्य अनुष्ठानसम्बन्धी कृतिको अध्ययनदेखि गाउँका पाकाहरूसँगको कुराकानी र उनीहरूको जीवनकथाबाट पनि धेरै कुरा प्राप्त भएको छ । यस क्रममा निकै चाखलाग्दा कुराहरू थाहा पाएँ । आदिवासीको सौन्दर्य र ज्ञान त उनीहरूको दैनन्दिन जीवनका क्रियाकलापहरूबाटै थाहा पाइने रहेछ । मैले यसअघि कहिल्यै त्यसरी सोचेकी थिइनँ ।

हामी सहरवासी भएपछि गाउँमा बस्ने बाजे-बजुले अपनाउने जीवन पद्धतिलाई अलि अनदेखा गर्दा रहेछौँ, तर खास ज्ञान त उहाँहरूसँग रहेछ । माटो, प्रकृति र पर्यावरणसँग साह्रै मीठो सम्बन्ध उहाँहरूले कायम गर्नुभएकोले अलि अघिसम्म हाम्रो गाउँ हराभरा थियो, तर हिजोआज गाउँ बेहद बेग्लै हुने क्रममा छ । घरछेउको ढुङ्गेधारामा सदाकाल पानी झर्नुको रहस्य, त्यस वरपर सधैँ सफा राख्नुपर्ने नियम, रुखपात मास्न नपाइने पुर्खाको चलन पछाडिको पर्यावरण संरक्षण र त्यसको महत्वको विशाल ज्ञान त ग्राम्य जीवनको दैनिकी रहेछ ।

यस ब्रह्माण्डमा भएका मानिस पशुपक्षीदेखि पहाड पर्वत, खोलानाला, जङ्गल, भूतप्रेत सबैको अस्तित्व स्वीकार्नु र ससम्मान आआफ्नो स्थानमा राख्नु तामाङ विश्वदृष्टि भएको थाहा पाएँ । दैनिक जीवनसँग जोडिएको खाद्य संस्कृतिदेखि संस्कारजन्य अनुष्ठानहरू नै हामीलाई आफ्नो पहिचान दिलाउने क्षेत्र हुन् । त्यसैको गहिराइतिर लाग्नु भनेको आफ्नो मूल जरो पहिल्याउनु हो । यति कुरा बुझ्न पनि मलाई निकै समय पो लाग्यो भन्या ।

– फेरि निबन्धतिरै फर्कौं । हामीकहाँ निबन्ध कृति निकै कम प्रकाशित हुन्छन् । निबन्ध लेखक पनि थोरैमात्र छन् । निबन्ध कृति लेखन/प्रकाशनमा सुस्तता लेखकीय जाँगरको कमीले हो कि बदलिँदो जमाना वा परिस्थितिको प्रतिविम्ब ?

यहाँले निबन्ध कृतिको कम प्रकाशनको कुरा उप्काउनुभयो, त्यसमा म केही हदसम्म सहमत छु, तर निबन्धभित्रकै अन्य उपविधाहरूको प्रकाशन भने प्रशस्त भइरहेका देखिन्छन् । जस्तो कि नियात्रा या संस्मरणात्मक निबन्ध कृतिहरू । केही वर्षयता नियात्रा प्रकाशनको उत्साहमय अवस्था छ । तथापि एक सचेत पाठक जसले विचार र हृदयको उचित सम्मिलन भएका निबन्धहरू खोज्छन्, त्यस किसिमका निबन्ध कृतिको भने पक्कै कमी छ ।

निबन्ध कृतिको लेखन र प्रकाशनको कमीको अन्तर्यमा भने धेरै कारण हुन सक्छन् । नेपालको सन्दर्भमा एउटा लेखक, जसले अन्य केही कर्ममा नलागी केवल लेखक हुने सुविधा कति पाउँछ ? अध्ययन र लेखनका लागि उचित वातावरण, समय, प्रोत्साहन के कति प्राप्त गर्छ भन्ने प्रश्नहरू मेरो मनमा उठिरहेका छन् ।

कहिलकाहीँ म आफैँलाई हेर्दा पनि लेखकभन्दा अरू नै ज्यादा पाउँछु । भात-पानीको गर्जो टार्न गर्नुपर्ने दैनिक सङ्घर्ष र भागदौडमा आमनेपालीको जस्तै मेरो ज्यादातर समय व्यतीत भइरहेको छ । लेख्नु भनेको त कामको चापाचापमाझ पाइने छोटो टी ब्रेक, सिगरेट ब्रेक या टेलिभिजन कार्यक्रमको बीचको विज्ञापन ब्रेक जस्तो पो हुन जान्छ । यस्तो अवस्थामा वैचारिक, गहन, दिल दिमाग झनन पार्ने निबन्ध लेखन दुर्लभप्रायः हुन्छ ।

अब प्रकाशनको सम्बन्ध पनि बजार, माग, फाइदा आदिसँग जोडिन्छ । फास्टफुड र भाइरल आइटमका पछाडि दौडने जमानामा गम्भीर खुराकको परख गर्ने जमात कति होला कुन्नि ! त्यसैले निबन्ध या गम्भीर प्रकृतिको लेखनको गाथमा बिसन्चै पो देख्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *