राजमार्ग अपडेट: विभिन्न जिल्लाका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौ‌ । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सात वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका- ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यस्तै जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका- ३ दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका- ७ ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी-कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गरे ।

प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङिस्थित कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

त्यस्तै गुल्मीस्थित कालीगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको शहीद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *