कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची । पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।

कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ट तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन् ।

कराँचीका मेयर ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।

उनले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे ।

आठ जनाको घटनास्थलमै र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेयर बहाबले जानकारी दिए । घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।

मेयर बहाबका अनुसार उद्धार कार्य अझै जारी छ । टोलीहरूले अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहनेछन् । -रासस/एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *