अनेरास्ववियुको नयाँ प्रयास, नीति आयोगमार्फत पलिसी इन्टर्न गराउने

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नीतिगत क्षेत्रमा संगठनको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ प्रयोग ‘पलिसी इन्टर्नशिप’ कार्यक्रम संचालन गर्ने भएको छ ।

अनेरास्ववियुको नीति, योजना तथा अनुसन्धान आयोगको संयोजनमा मासिकरूपमा ‘पलिसी इन्टर्न’ लिन सुरु गरिने छ, जसबाट खासगरी शिक्षाको क्षेत्रका नीति निर्माणको प्रक्रियामा संगठनको ठोस हस्तक्षेप र पहल सुनिश्चित गरिने आयोगका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।

आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा महासचिव दीपक धामीको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय सार्वजनिक गरेको विष्टले बताए ।

यस कार्यक्रमअन्तर्गत संगठन भित्र र बाहिरका इच्छुक शोधकर्ताहरुलाई ५०-५० प्रतिशतको अनुपातमा समेटिनेछ, जसले युवाहरुको अनुसन्धानात्मक क्षमता अभिवृद्धि गर्नुका साथै संगठनलाई समृद्ध नीतिगत आधार तयार गर्न मद्दत पुग्ने महासचिव धामीले बताए । त्यस्तै, अनेरास्ववियु केन्द्रीय अध्यक्ष डा. सुजन कडरियाले नीतिगत सुधार तथा विकासका लागि यो कार्यक्रम अपरिहार्य रहेकाले सुरु गर्न लागिएको बताए ।

साथै, इन्टर्नशिप कार्यक्रमबाट प्राप्त अध्ययन तथा अनुसन्धानहरुलाई प्रकाशन गरिने छ भने समर र विन्टर स्कूलहरु समेत आयोजना गरिने योजना रहेको छ ।

अनेरास्ववियुले यो कार्यक्रममार्फत युवा विद्यार्थी तथा अनुसन्धानकर्मीहरुलाई नीतिगत बहस र अनुसन्धानमा जोडेर आगामी दिनमा अध्ययनमा आधारित आन्दोलनलाई थप सुदृढ गर्ने अपेक्षा लिएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *