विद्युत प्राधिकरण ठेक्का प्रकरण: कुलमान घिसिङका काका ससुरा राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ठेक्का प्रकरणमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश सांसद डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङले दबाब दिएर काका ससुरा तामाङको कम्पनीलाई दिलाएको ठेक्का विवादमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

तामाङविरुद्ध सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङले जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

तामाङ धादिङ २ (खं) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेशसभा सदस्य हुन् । उनी राप्रपा नेता बुद्धिमान तामाङका सहोदर भाइसमेत हुन् ।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनअन्तर्गतको चिलिमेको २२० केभीएको जीआईएस सब-स्टेशन र त्रिशूलीको २२० केभीएको हाइव्रिड सब-स्टेशन निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो । सहन इन्जिनियरिङ कन्सर्न प्रालिले उक्त ठेक्काको सब-कन्ट्रयाक्ट पाएको थियो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले सहन इन्जिनियरिङबाट लेबर कन्ट्राक्ट भने आफ्ना कान्छा ससुरा तामाङको प्रो-सोलुसन्सलाई दिलाएका थिए ।

चिनियाँ कम्पनीले सहनलाई गर्नुपर्ने भुक्तानी सीधै तामाङको प्रो-सोलुसन्सलाई दिइएको थियो, तर उसले सहनलाई भने रकम नदिएपछि विवाद भएको र उक्त विवाद प्रहरी हुँदै अदालतसम्म पुगेको हो ।

पक्राउ पुर्जी जारी हुनेहरूमा प्रो-सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, सञ्चिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव रहेको बुझिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *