‘अर्थतन्त्रमा कुनै सुधार देखिँदैन, बैंकमा खराब ऋणको मात्रा बढेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेल आजको मितिमा अर्थतन्त्रमा कुनै विशेष सुधार नदेखिएको टिप्पणी गरेका छन्। राजस्व लक्ष्यको ७५ प्रतिशत पनि पुग्न नसकेको स्थिति रहेको उनको बुझाइ छ।

‘बैंक र वित्तीय संस्थामा केही कारोबार भइरहेका छन्, ब्याजदरहरू पनि घटेका छन्, तर निजी क्षेत्रले ऋण लिन चाहेको देखिँदैन। बैंकहरुमा खराब ऋणको मात्रा बढेको छ’ केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘धेरै बैंकहरुको शेयर मूल्य निकै घटेको छ। शिथिल आर्थिक अवस्थाले रोजगारको अवसरहरू सिर्जनामा र सरकारको विकासका लक्ष्यमा प्राप्त गर्नमा पनि असर गरेको छ।’

तीन तहका सरकारहरूको वित्तीय र बजेट अनुशासनको अभावले गर्दा कांग्रेसमाथि प्रश्न उठिरहेको बताए।

उनले भने, ‘सामान्य मानिस र बौद्धिक वर्गले काग्रेसलाई सोधिरहेका छन् कि, के यो त्यही कांग्रेस हो जहाँ महेश आचार्य र रामशरण महत जस्ता आर्थिक सुशासनका हस्ती थिए ? यस्ता प्रणालीगत कमजोरीहरू सच्याउन पार्टीको नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सरकारमा जाने सबै मन्त्रीहरूलाई बजेट अनुशासन र आर्थिक प्रणालीको आधारभूत नीति र सिद्धान्तको प्रशिक्षण दिन ढिलो गर्नु हुँदैन।’

नेपालीले अहिले लगानी, रोजगारी र ठुलो बजारमा पहुँच खोजेको बताए। प्रविधि अधिकतम प्रयोग गर्ने गरी नेपाली कांग्रेसले आगामी महाधिवेशनमा युवा केन्द्रित आर्थिक नीति, निजी क्षेत्रको लगानी बढाउने र नेपाली वस्तु तथा सेवाको उत्पादन लागत घटाउने पूर्वाधार नीति ल्याउनुपर्ने बताए।

उनले थपे, ‘बदलिँदो विश्व परिवेशमा दरिलो, विश्वसनीय र नेपालको स्वाभिमान बढाउने गरी आर्थिक कूटनीति, र सामाजिक न्याय दिने सामाजिक विकासका नीति जस्ता मुद्दाहरूमा अहिले देखिनै छलफल स्पष्ट नीति तथा योजनाहरूको खाका तयार गरेर जनतालाई भरोसा दिनु पर्नेछ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *