कस्तो छ राति हिँड्न थप ३० दिन बन्द गरिएको बिपी राजमार्गको अवस्था ? (तस्बिरहरु)

काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आइतबार(भाेलि)देखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।

गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । सोही कारण अझै राजमार्ग पुनर्निर्माण नभएकाले वर्षाको समय अवधि भरी रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

अहिले उक्त राजमार्गमा दिउँसो हिँड्न पनि उतिकै सास्ती छ । घाम लागेको बेला बाढीले बगाएको ठाउँमा धुलो र पानी परेको बेला हिलो हुने गरेको छ ।

त्यस्तै ठाउँमा ठाउँमा पहिरोको जोखिम रहेको छ भने रोशी खोलाले गत असोजमा बाटो बिगारेको कारण अहिले बाटो प्रयोगमा आएपनि ठूलो पानी पर्दा खोला जति खेरपनि सडक बगाउन सक्ने जोखिम रहेको छ ।  पानी पर्ने बितिकै   पहिराे खस्ने सम्भावना उतिकै छ ।

सोही जोखिमको कारण काभ्रे र सिन्धुलीको प्रशासनले रातिको समयमा सवारी चलाउन रोक लगाएको हो ।

मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको कार्यालयले जनाइएको छ ।

यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।

बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *