एउटा आहानै छ, पत्थरको जवाफ फूलले दिनुपर्छ । अर्को भनाइ पनि छ, बैगुनीलाई गुनले मार्नुपर्छ । झ्वाट्ट सुन्दा यी आदर्श भनाइहरुले मनमा बेग्लै तरंग ल्याउँछ । लाग्छ, हो त नि ! बैगुनीलाई गुनले नै मार्नुपर्छ ।
एकैछिन कल्पना गरौं, यदि गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले बैगुनीलाई गुनले ठिक लगाउन खोजेको भए के हुन्थ्यो होला ? सम्भवतः केही हुन्नथ्यो । बैगुनीहरुले उनीहरुको गुनको सुगन्ध थाहा पाउने ल्याकत राख्दैनथे ।
उनीहरुले गरेको गुनलाई बैगुनीहरुले समीक्षा-एलिनाको कमजोरी ठान्थे । सायद झनै उत्तेजित भएर दुर्गुनहरु देखाउन सुरु गर्थे । उत्तेजित र उछृंखल भिडले उनीहरुले देखाएको कोमलतालाई कुल्चिदिन्थे, किचिमिची पारिदिन्थे ।
हौसिएर डंका पिटेर उग्र तवरले गालीगलौज गर्न तम्सन्थे ।
पत्थरको जवाफ फूलले दिने ध्याउन्नमा एलिना-समीक्षाको भागमा जम्माजम्मी मानसिक तनावको फेहरिस्त मात्रै हुन्थ्यो । व्यक्तिगत र सामाजिक जीवनमा गरिने निरन्तरको प्रहारले मानसिक स्वास्थ्य क्षतविक्षत् मात्रै हुन्थ्यो । न राम्रोसँग गाउन सक्थे, न त राम्रोसँग स्टेजमा प्रस्तुति दिन सक्थे । अराजक भिडको असंवेदनशील प्रतिक्रियाको बाढीमा सोहरिएका उनीहरु न खुलेर आफ्नो कुरा राख्न सक्थे, न त खुलेर आफ्नो कुरा भन्न सक्थे ।
भनिन्छ, मान्छेलाई छुराले भन्दा ज्यादा शब्दको प्रहारले दुखाउँछ ।
छुराको प्रहार त औषधोपचारपछि ठिक भएर जाला, शब्दको प्रहारले लामो समयसम्म घाइते बनाउँछ । झनै त्यसरी प्रहार गरिने शब्दले असंवेदनशिलताको सीमा नाघेको छ भने जीवनभर आघात् पुग्छ । जीवनभर आघात् बोकेर हिँड्ने कि प्रतिकार गर्ने ? एलिना–समीक्षाले दोस्रो विकल्प छनोट गरे ।
जीवनभर तनाव बोकेर हिँड्नुभन्दा प्रतिकारमा उत्रिएर हिसाब राफसाफ गर्ने बाटो रोजे ।
चर्चित गायिका भएकाले सबैलाई थाहा छ, एलिना-समीक्षाको विगत । ती अँध्यारा विगतसँग जोडिएको उनीहरुको ट्रमा अरु महसुस गर्न सक्दैनन् । कस्तोखाले मानसिक तनावका चरणहरु पार गरेर अहिलेको अवस्थामा आइपुगेका छन्, धेरैलाई थाहा छैन । देख्नेहरुले त उनीहरु फेरि मुस्कुराएर पेशागत जीवनमा फर्किएको मात्रै देख्छन् । त्यो मुस्कानको पछाडि लुकेको दुःखको पहाड धेरैले देख्दैनन्, महसुस गर्न सक्दैनन् ।
उनीहरु चहराउने विगतलाई त्यतैकतै थन्काएर अगाडि बढ्न चाहन्छन् । भिडले भने त्यही खाटो बसेको घाउ चहराउने गरी कोट्याइरहन्छ । कोट्याउने मात्रै होइन, अनेक लान्छना लगाएर घाउमा नुनचुक समेत छर्कन्छन् ।
उनीहरु सेलिब्रेटी हुन् । तर, सेलिब्रेटीभन्दा पहिले आममानिस हुन् । आममान्छे भावनात्मक रुपमा टुक्रिँदा जुन किसिमको दुखाइ महसुस गर्छन्, उनीहरुले पनि त्यही दुखाइ महसुस गर्ने हुन् । सेलिब्रेटी भएकैले सम्पूर्ण प्रहारहरु सहनुपर्छ भनेर कहाँ लेखेको छ र ! अपाच्य शब्दहरुको झिरमा डामिनुपर्छ भनेर कहाँ लेखेको छ र !
सबैभन्दा ठूलो कुरा मानसिक स्वास्थ्य हो । त्यही स्वास्थ्यमा भाइरसले जसरी थला नै पार्ने गरी गरिएको निरन्तर प्रहार कसले सहिरहन सक्छ ?
अन्ततः ती निर्दयी पीडकहरुको प्रहार अत्यधिक भएपछि एलिना-समीक्षाले संजालमै भिड्ने निधो गरे । धेरैले ‘त्यस्तालाई इग्नोर गर्नू’ भन्ने सल्लाह दिए पनि ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निचोडमा पुगे । र भकाभक अपाच्य शब्द प्रयोग गरेर ‘मुख छाड्ने’हरुको कमेन्टसहित उनीहरुको प्रोफाइलको लिंक समेत सार्वजनिक गर्न थाले ।
यसपछि कत्तिले माफी माग्न सुरु गरे । कतिले पोस्ट वा कमेन्टहरु डिलिट गरे । कत्तिले भने टेरेनन् । तर, एलिना-समीक्षाको पक्षमा फरक खाले माहौलको निर्माण भयो । गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले साथ दिए । कलाकारहरुले पनि उनीहरुको अभियानप्रति ऐक्यबद्धता जनाए ।
धेरैलाई लागेको थियो, दुईचारवटा स्क्रिनसट पोस्ट गरेर तर्साउनलाई यसो गरेकी होलिन् । तर, तर्साउनलाई मात्रै उनले यो अभियान सुरु गरेकी थिइनन् । विभिन्न स्टेज कार्यक्रम रोकेर, दश दिनको ब्रेक लिएरै एलिना यो अभियानमा लागेकी थिइन् ।
उनीहरुको यही अभियानले नेपाली समाजको डरलाग्दो अनि असली चरित्र समेत देखायो । पितृसत्तात्मक समाजको असली अनुहारको खुलेआम प्रदर्शनी गायिकाद्धयले गरिदिए । उनीहरुले सार्वजनिक गरेका स्क्रिनसटहरुमा शतप्रतिशत पुरुष अनुहार थिए । उनीहरुको पोस्टमा हाहा रियाक्ट गर्ने र कमेन्ट गरेर उठ्याउनेहरु पनि पुरुषहरु नै थिए ।
ती आइडीमा छोरीचेली, घरपरिवार र समाजप्रति हदैसम्म असंवेदनशील रहेका पुरुषहरुका क्रुर अनुहारहरु प्रोफाइल पिक्चर थिए । पितृसत्तात्मक समाजले महिलालाई हेर्ने नजरीयाको प्रतिनिधि अनुहार थिए । र, उनीहरुले सार्वनिक गरेको स्क्रिनसटहरु संवेदनहीन मानिसहरुको कठोरताको पराकाष्टाको दृष्टान्त थिए ।
ती क्रुर मानिसहरुसँग भिडेर एलिना-समीक्षाले बेग्लै तागत देखाएका छन् । कलिलै उमेरमा अनेक आरोह-अवरोहको सामना गरेका उनीहरुले यो लडाइँमार्फत् आँट र हिम्मतको प्रदर्शनी समेत गरेका छन् । सानातिना प्रहारबाट भाग्ने होइन, घुँडा धसेर प्रतिकारमा उत्रने उनीहरुको साहस देखाएका छन् ।
एलिनाले लेखेकी पनि छन्, ‘बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, तिमीहरुलाई दुईचारवटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? मलाई सखाप पार्न फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ ।’
एलिनाको प्रतिकार अभियानले अब कानुनी बाटो पनि समातिसकेको छ । उनले दिएको जाहेरीका आधारमा चितवनका कवि गुन्जन राई पक्राउ परिसकेका छन् । राई लगायतलाई अब दुईवटा मुद्दा आकर्षित हुने देखिन्छ, एउटा चाहिँ साइबर कानून, अर्को गालीबैज्जती ऐन ।
साइबर कानुन अन्तर्गत कसूर प्रमाणित भएमा पचास हजारदेखि पाँच लाखसम्म जरीवाना र छ महिनादेखि पाँच वर्षसम्मको जेल सजायको व्यवस्था छ । गाली बैज्जती ऐन अन्तर्गत दुई वर्षसम्म कैद वा २० हजार जरीबाना वा दुवै सजाय हुनसक्छ । तर, विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बैज्जती गरेमा वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार जरीबाना हुनेछ ।
राई लगायत कसुरदारलाई के कस्तो सजाय होला, अदालतले फैसला गर्ने नै छ । सँगै एलिना-समीक्षाले सेलिब्रेटी हुनुको अभिभाराभित्र थिचिएके काउसोजस्तो चिलाइरहने मनको भँडास पनि राम्रैसँग पोखेका छन् । नपोखेका भए उनीहरुलाई जीवनभर लागिरहने थियो, दुष्ट विचार बोकेर हिँड्नेहरुलाई समयमै एक्सपोज गरिदिएको भए हुन्थ्यो । आज इँटको जवाफ इँटले नै दिएर त्यो तुष पनि सदाको लागि मेटाएका छन् ।
सम्पूर्ण भँडासा पोखिसकेपछिको एलिना-समीक्षाको सांगितिक अवतार हेर्न शुभचिन्तक-दर्शक आतुर छन् । गाउँ गाउँमा, सहर सहरमा उनीहरुको जोडदार र धमकेदार प्रस्तुतिका लागि दर्शकहरु व्यग्र छन् ।
०००

Leave a Reply