रूपन्देही । समकालीन साथीहरू कोही विदेशमा कमाइरहेका छन् भने कोही स्वदेशमै रमाइरहेका छन्, तर बुटवलका अशेष सिलवालको दैनिकी यी साथीहरूको भन्दा फरक छ । ३२ वर्षीय सिलवाल दिनमा नियमित रक्तदानसहित स्वास्थ्य सचेतनाको अभियानमा लाग्छन् र रातको समयमा व्यवसायमा खटिन्छन् ।
नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष छन् अशेष । त्यसैले सामाजिक अभियानमा लागिपरेका छन् उनी । नेपाल नियमित रक्तदाता संघमा निरन्तर खटिनुमा अशेषसँग दुःखद तर बलियो साइनो छ ।
उनका बुवा सरोज सिलवाल बन्दीको अगुवाइमा २०६१ सालमा स्थापना भएको उक्त संस्थाले रूपन्देहीमा नियमित रक्तदानको अभियान थालेको हो । यही अभियानमा हिँडेका बेला २०६४ सालमा मोटरसाइकल दुर्घटनामा परेर सरोजको मृत्यु भएको थियो । त्यसबेला अशेष १३ वर्षको मात्रै थिए ।
‘रूपन्देहीलाई रक्तदाताको हब बनाउने मेरो चाहना छ, बुवाको कर्म, विचार र प्रेरणालाई अघि बढाउने ढृढ संकल्पका साथ काम गरेको छु’, अशेष भन्छन्, ‘बुवासँग रक्तदान गर्ने अवसर त मिलेन, तर उहाँको अभियानलाई साथ दिएर २५औं पटक रक्तदान गरिसकेको छु । रजत पदकबाट सम्मानित हुँदा बुवालाई सम्झिरहेको छु ।’
उनले बुवाको १५०औं पटक रक्तदान गर्ने सपना आफूले पूरा गर्ने सुनाए । बुटवल क्षेत्रमा धेरै अस्पताल भए पनि यहाँ बिरामीहरूका लागि आवश्यक पर्ने रगत पाउन समस्या छ । त्यसैले सरोजले केही मनकारी मान्छेहरू जुटाएर यो संस्था सुरु गरेको संस्थाका कानूनी सल्लाहकार दामोदर घिमिरे बताउँछन् ।
खासगरी माओवादी युद्धको समयमा बुटवलमा सबैतिरबाट केन्द्रमा पर्ने भएकाले पनि धेरै घाइते निजी अस्पतालहरूमा आउने र रगत आवश्यक पर्ने भएकाले संस्था आवश्यक भएको महसुस भएको घिमिरे बताउँछन् ।
उनका अनुसार अभियानका संयोजक सरोजको मृत्यु भएसँगै संस्था लामो समय अभिभावकविहीन भएको थियो । छोरा अशेष पनि पढ्दै थिए । संस्थाका अरु सदस्यहरू पनि निष्क्रिय भएका थिए ।
‘तर अहिले अशेषले नेतृत्व गरेसँगै उनका बुवाको अभियानमात्रै अघि बढेको छैन, संस्था पनि पुनः क्रियाशील भएको छ’, घिमिरेले भने ।
अहिले यस संस्थामा साढे ३०० सदस्य छन् । जिल्लाका विभिन्न स्थानमा हुने अभियान निरन्तर चलिरहेको छ । रक्तदानलाई पनि त्यसैगरी अघि बढाइएको छ । यसमा सबै सदस्यले सहयोग गरेर संस्थालाई अघि बढाइएको छ । धेरै आजीवन सदस्य बनेका छन् । तीन पटक रक्तदान गरेको मान्छेमात्रै संस्थाको आजीवन सदस्य हुन पाउने प्रावधान छ ।
आमा, भाइ, बहिनी र श्रीमती रहेका अशेष भन्छन्, ‘पहिलो कुरा त मेरो बुवाको सपना थियो, कसैलाई रगत अभावमा छटपटिन नपरोस्, तर उहाँले नै दुर्घटनामा ज्यान गुमाउनुपर्यो । अहिले म त्यही सपना पूरा गर्न खटिएको छु । रातको समयमा परिवारको स्रोत जुटाउन व्यवसाय गरेको छु, दिनभर यही अभियानमा हिँडिरहेको छु ।’
संघले रक्तदानसँगै जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिक्षासहितका सचेतनामूलक कार्यक्रम अघि बढाएको छ । जिल्लाका १६ पालिकामध्ये ११ वटामा यस्तो कार्यक्रम निरन्तर चलाउँदै आएको उनी बताउँछन् ।
हरेक मान्छे गम्भीर बिरामी पर्दा रगत चाहिने भए पनि रगत दान गर्नुपर्छ । रगत दानले शरीरलाई कुनै घाटा गर्दैन भन्ने सचेतना बढाउन नसकिएको सिलवालको भनाइ छ ।

‘संघसंस्थामात्र होइन, स्थानीय सरकारहरूले पनि नीतिगत तहमै यसलाई अगाडि बढाउनुपर्छ । सचेतनाकै कमी छ । सबै शिक्षण संस्थामा यसलाई अभियानका रूपमा अघि बढाउन जरुरी छ’, उनले थपे ।
उनका अनुसार यस्ता कार्यक्रम गर्ने संघसँग कुनै नियमित स्रोत छैन । सदस्यहरूबाट सहयोग जुटाएर काम गरिएको छ । कुनै कुनै पालिकाले समन्वय पनि गरेका छन् ।
‘सरकारी अस्पतालहरूमा बिरामीलाई निःशुल्क रगत उपलब्ध भए पनि निजी अस्पतालहरूमा त्यो व्यवस्था छैन । रगतको मूल्य नभए पनि यसको व्यवस्थापन खर्च भनेर बुझाउनुपर्छ’, अशेष भन्छन्, ‘रेडक्रस सोसाइटीले रक्तदानको अभियान चलाउन सकेको छैन । प्राविधिक पठाए पनि खर्च दिनुपर्छ । त्यसैले पनि नियमित रक्तदान गर्न स्रोतको व्यवस्थापन चुनौती बनेको छ ।’
रगत अभावमा मान्छेहरू दौडिरहेको देख्दा मन खिन्न हुने गरेको अशेष बताउँछन् । ‘वार्षिक ३६ हजार युनिट रगत रूपन्देहीमा खपत हुन्छ, हरेक वडामा वर्षमा दुई पटक रक्तदान गर्ने व्यवस्था गर्नसके रगत अभावको समस्या सहजै समाधान हुन्थ्यो । अहिले यही विषय उठाइरहेका छौं’, उनी भन्छन् ।
यसरी चलेको छ अभियान
संस्थाले ‘टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ भन्ने मुख्य नारासहित रूपन्देहीका सबै पालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान अभियान सञ्चालन गरेको छ । पुसको दोस्रो हप्तादेखि निरन्तर प्रत्येक शनिबार १६ हप्तासम्म रूपन्देहीका १६ वटै पालिकामा अभियान थालेको उनले जानकारी दिए ।
कुनै पनि बिरामी रगतको अभावबाट मृत्युवरण गर्न नपरोस् भनी हरेक महिनाको दोस्रो र तेस्रो शनिबार नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यस्तै संस्थाले रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव हुँदा आकस्मिक रक्तदान कार्यक्रम र समुदायस्तरमा पुगी रगत संकलन, रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम, रक्तदान र रक्त तत्वको बारेमा सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । जिल्लामा रगत अभाव हुन नदिन आफ्नो सञ्जाललाई विस्तार गर्ने क्रममा विभिन्न जिल्ला र पालिकास्तरमा समेत शाखा विस्तार गरिएको छ ।
दिनमा समाज सेवा, रातमा व्यवसाय
दिनमा सामाजिक काम गर्ने अशेषले परिवारको आर्थिक व्यवस्थापन गर्न रात्रीकालीन व्यवसाय चलाएका छन् । उनले ६ वर्षदेखि बुटवलको मिलनचोकमा सेन्टर किचनमार्फत ‘अजिको भान्सा घर’ चलाएका छन्, जुन दिउँसो ३ देखि राति ३ बजेसम्म मात्रै खुल्छ । यहाँ अर्डरअनुसारका खाजा तथा खाना पाइन्छ ।
आफूले नयाँ अभ्यासका रूपमा चलाएको व्यवसाय अहिले सफल भएको उनले बताए ।
‘सामाजिक सञ्जाल र फोन कलबाटै यो व्यवसाय चलेको छ । अस्पताल, कम्पनी र केही घरमा होम डेलिभरी गर्छौं । यसको लागि ठूलो लगानी पनि नचाहिने रहेछ’, अशेषले भने, ‘तर समय र दौडधुप भने राम्रै हुन्छ । होटलमा बसेर खान पाइँदैन, सबै होम डेलिभरी हो । नेवारी आइटम सबैजसो बन्छ ।’
व्यवसायमा अशेषलाई आमा र श्रीमतीले साथ दिएका छन् । त्यस्तै अन्य पाँच जनालाई रोजगारी दिएको उनको भनाइ छ ।
‘म दिनभर रक्तदान अभियानमा हिँड्छु । व्यवसाय बढ्दै गएकाले अहिले पाँच जनालाई काम दिन सकिएको छ’, उनले भने, ‘आमा र श्रीमतीले तयार पारेपछि कर्मचारीमार्फत अर्डरअनुसार व्यवस्थापन हुन्छ । सुरुमा त म आफैं सबै डेलिभरीमा पुगेको हुँ ।’

Leave a Reply