कांग्रेस बैठक- एमालेमा देखिएको राजनीतिक चलखेलले फेरि कम्युनिष्ट एकता हुनसक्ने चर्चा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेलले नेपालमा फेरि कम्युनिष्ट एकता हुनसक्ने भन्दै पार्टी नेतृत्वलाई सचेत गराएका छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले भने, ‘नेपालमा अचम्म तरिकाले कम्युनिष्ट पार्टीहरू बलियो हुँदै गए विगतमा । अहिले नेकपा एमालेमा देखिएको राजनीतिक चलखेलले नेपालमा फेरि कम्युनिष्ट एकता नहोला भन्न सकिँदैन ।’

उनले देशमा सुशासन कायम गर्न, लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन र आर्थिक गतिविधि बढाउन पनि असल राजनीतिक गतिशीलता बढाउन आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य पोखरेलले भने, ‘कांग्रेसको गतिशीलताले मात्र अरू मिसन ८४ लिएर हिँडेका एमाले तथा नयाँ दलहरूसँग हामीलाई प्रतिस्पर्धा गर्न बलियो बनाउँछ । सुशील कोइरालाले संविधान बनाउने कुरामा ध्यान दिनुपर्ने भएकाले संविधानमा ६ महिना थप्ने व्यवस्था गरिएको थियो, तर अहिले देशमा न हिंसात्मक आन्दोलन छ, न त कुनै ठूलो विपद् छ ।’

उनले काग्रेसको १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरेर २०८२ भित्रै महाधिवेशन गराउने निर्णय गर्न माग गरे ।

गत वर्ष कांग्रेस सरकारमा जाँदा ७ बुँदे सम्झौतासहित जनतासमक्ष महत्त्वपूर्ण आश्वासन दिएको भए पनि वर्तमान अवस्थामा सुशासनको आभास नदेखिनु र संसदीय प्रणालीलाई पङ्गु बनाउनुले गर्दा जनता निराश भएको उनले बताए।

नेता पोखरेलले थपे, ‘उदाहरणका रूपमा ‘कुलिङ पिरियड’ काण्ड । यसबारे काग्रेसले आफैं छानबिन गरेर जनतालाई सत्यतथ्यहरूका बारेमा समयमै जानकारी दिन विशेष ध्यान दिनुपर्नेछ । साधारण त्रुटिको रूपमा यसलाई अनदेखा गर्नुहुँदैन ।’

उनले सरकारमा रहेका मन्त्रीहरूको एक हप्ताभित्र सम्पत्ति सार्वजनिक गर्न केन्द्रीय समितबाटै अनुरोध गर्ने प्रस्ताव पनि राखे ।

उनले थपे, ‘हामीले गठबन्धन गरेर सरकारको स्थिरता त दिएका छौँ, तर नीतिगत स्थिरता दिन सकेको छैन । राजनीतिक अस्थिरता निम्त्याउने, फजुल खर्च बढाउने र केही समुदाय र वर्गको मागलाई सम्बोधन गर्न असफल भएको परिप्रेक्ष्यमा हामीले संविधान संशोधनको वाचा गरेका थियौँ, तर पछिल्लो एक वर्षमा हामीले त्यो एजेन्डा बिर्सिएका छौँ । यो केन्द्रीय समितिले सरकारलाई अविलम्ब संविधान संशोधनको कार्य सुरु गर्न निर्देशन दिनुपर्छ ।’

Comments

One response to “कांग्रेस बैठक- एमालेमा देखिएको राजनीतिक चलखेलले फेरि कम्युनिष्ट एकता हुनसक्ने चर्चा”

  1. manaia thompson Avatar
    manaia thompson

    हुतिहराहरू|रयाले अब डाडूमाँ पानी उमलेरा त्यसमा डूबेर मरने भो|:-)

Leave a Reply

Your email address will not be published. Required fields are marked *