उज्वेकिस्तानविरुद्ध नेपाल र प्रशिक्षक प्याट्रिकको असली परीक्षा

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले शनिबार घरेलु टोलीसँग खेल्दैछ । उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा राति सवा ९ बजेबाट सुरु हुनेछ ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था छ । यो खेलमा जसले जित निकाल्छ । उही टोली अर्काे वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । पराजित हुने टोली घर फर्किनेछ ।

अघिल्ला दुवै खेलमा शानदार जित निकालेका दुवै टोलीका लागि यो खेल फाइनलसरह हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।

उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ । वरियता र अघिल्ला खेललाई हेर्ने हो भने नेपालले घरेलु टोलीलाई हराउँदै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।

असम्भव भने छैन । किनभने यस्ता धेरै खेल छन् जसमा वरियताभन्दा माथिका टिमलाई हराएका । टोलीको रणनीति र खेल शैलीले नतिजालाई निर्धारण गर्ने गर्छ ।

नेपालले पहिलोपटक प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षकको रुपमा प्याट्रिक डे वाइल्डलाई भित्राएको छ । यसै छनोट प्रतियोगितामा डेब्यु गरेका प्याट्रिक र नेपालको असली परीक्षाको रुपमा भोलिको खेललाई हेरिएको छ ।

यसअघिका दुवै खेलमा नेपालले सहज जित दर्ता गर्यो । तुलनात्मक रुपमा कमजोर मानिएका टोली हुँदा प्रशिक्षक प्याट्रिक र नेपालको खासै परीक्षण हुन पाएको छैन । त्यसकारण पनि यो खेल दुवैका लागि परीक्षणको रुपमा रहनेछ ।

नेपालीकी नयाँ कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फर्ममा छिन् । उनले दुई खेलमा ८ गोल गरिसकेकी छन् । उनका रोक्न उज्वेकिस्तानले रणनीति बनाउन सक्छ । त्यस्तो अवस्थामा रश्मीकुमारी घिसिङ र रेखा पौडेल जस्ता खेलाडीको प्रदर्शन चम्किनु आवश्यक छ ।

रेनुका नगरकोटी, गीता राना जस्ता अनुभवी खेलाडी पनि टोलीमा छन् । उनीहरुसँगै अन्य खेलाडीको प्रदर्शन पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । खेलको पहिलो रोजाईका खेलाडी र त्यसपछि गरिने परिवर्तनले पनि नेपालको खेललाई प्रभावमा पार्नेछ ।

नेपाल उज्वेकिस्तानमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । नभए निर्धारित समयसम्म रोकेर खेल टाइब्रेकरमा लग्ने रणनीति पनि नेपालको हुनेछ ।

हालसम्म नेपाल र उज्वेकिस्तानबिच ३ पटक भेट भएको छ । नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । सन् १९९९ मा पहिलोपटक भेट भएको थियो । फिलिपिन्समा भएको एसियन कपको समूह चरणमा नेपाल उज्बेकिस्तानसँग ६–१ ले पराजित भएको थियो ।

दोस्रो भेट सन् २०१९ को नादेज्दा कपमा भएको थियो । किर्गिस्तानमा भएको उक्त कपमा नेपाल २–० ले पराजित हुन पुग्यो । तेस्रो भेट सोही कपको फाइनलमा भएको थियो । त्यसमा पनि नेपाल उज्वेकिस्तानसँग ३–२ ले पराजित भयो ।

चौथो भेटको रुपमा शनिबार यी दुई टोलीबीच प्रतिष्पर्धा हुँदैछ । तिन पटकको हारको बदला लिँदै २६ वर्षपछि एसियन कपमा छनोट हुने अवसर नेपाललाई छ । तर, सहज भने पक्कै छ । उज्वेकिस्तानको आक्रामक र ट्याक्टिकल शैलीलाई रोक्न प्रशिक्षक प्याट्रिकले कस्तो रणनीति अपनाउछन् । त्यो भने हेर्न बाँकी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *