‘ओली-विद्या’ भन्दै चम्किनेका लागि : कतै तपाईंको नाडी पो छाम्दै छन् कि ?

नेपाली राजनीति यतिबेला पूर्वविशिष्टको राजनीतिक पुनरागमनका कारण चर्चामा छ । २०६२/०६३ को जनआन्दोलनमार्फत मुलुकमा गणतन्त्र घोषणा भएपछि देशले हालसम्म ३ जना राष्ट्रपति र ३ जना नै उपराष्ट्रपति पाएको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा पूर्वपदकै सम्मानका साथ बसिरहनु भएको छ ।

प्रथम राष्ट्रपति डा.यादवले २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म कार्यभार सम्हाल्नुभयो, त्यसपछि अहिलेसम्म पूर्वराष्ट्रपतिका हैसियतमा सम्मानपूर्वक बसिरहनु भएको छ । त्यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झा २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक १४ गतेसम्म कार्यभार सम्हालेर अहिले पूर्वउपराष्ट्रपतिको रूपमा सम्मानका साथ बस्नुभएको छ ।

दोस्रो राष्ट्रपतिसँगै पहिलो महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले २०७२ कात्तिक १२ गते कार्यभार सम्हाल्नुभयो । पहिलो कार्यकाल २०७४ फागुन २९ सम्म थियो । २०७४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनपछिको संसदले उहाँलाई दोस्रो कार्यकालका लागि २०७४ फागुन ३० गते पुनः निर्वाचित गर्‍यो । उहाँले २०७९ फागुन २९ गतेसम्म पदीय जिम्मेवारी सम्हाल्नुभयो ।

भण्डारीसँगै उपराष्ट्रपतिमा निर्वाचित नन्दबहादुर पुन ‘पासाङ’ ले पहिलो कार्यकाल २०७२ कात्तिक १५ देखि शुरु गरी दोस्रो कार्यकाल २०७९ चैत ५ गतेसम्म सम्हाल्नुभयो ।

प्रथम राष्ट्रपति यादव र उपराष्ट्रपति झा अहिले पनि आफ्नो पदीय मर्यादालाई ख्याल राख्दै स-सम्मान बसिरहनुभएको छ । वर्तमान राष्ट्रपति र उपराष्ट्रपति पदमै रहनुभएको छ ।

जबजको असलमा व्याख्याता, सही हकवाला खोज्नुस्, रोज्नुस् र उसलाई अगाडि बढाउनुस्, अब पनि तपाईँहरूकै ब्राण्ड बजारमा बिक्दैन, टिक्दैन । आजको पुस्ता तपाईहरूको नामसँग झस्किन नपरोस् भन्ने कुरामा पनि हेक्का राखेको राम्रो हुन्छ । सत्ता स्थायी हुँदै होइन ।

तर, दोस्रो र तेस्रो कार्यकालका निर्वाचित राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई भने राष्ट्रको पहिलो र दोस्रो सम्मानित पदले नपुगेर हो वा अरु कुनै कारण, सक्रिय राजनीतिमा पुनः फर्कनुभएको छ । पहिला पूर्वउपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रको उपाध्यक्षको जिम्मेवारीसहित राजनीतिक गतिविधिमा सक्रियता देखाउनुभयो । त्यसपछि गत असार १४ मा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरणको घोषणासहित सक्रिय राजनीतिमा आउनुभयो ।

पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउँदा त्यति धेरै चर्चा भएन । उहाँलाई सक्रिय राजनीतिमा माओवादी अध्यक्ष प्रचण्डले नै ल्याएको बुझ्न सकिन्छ । पुनलाई पार्टीमा ल्याउँदा आफू थप बलियो बन्ने ठानेरै प्रचण्डले अगाडि बढाएका हुन् भन्ने धेरैको अनुमान छ । उनी पार्टी काममा आउँदा नेपालको राजनीति जति शान्त थियो भण्डारी आउँदा त्यस्तो भएन । अलिक बढी तरंगित भएको छ । पुन सक्रिय राजनीतिमा आएर माओवादी केन्द्रभित्र कुनै फरकखालको चर्चा-परिचर्चा भएको सुनिँदैन, बरु उहाँ प्रचण्डको खास सहयोगी बनेको चर्चा छ ।

तर, भण्डारीको आगमन त्यस्तो छैन । एमालेभित्र केपी ओलीलाई चुनौती दिने नेता देखिएका थिएनन् । ओलीको काम, कार्यशैलीसँग असन्तुष्टको जमात ठूलै भए पनि मुख खोलेर चुनौति दिने हिम्मत दोस्रो, तेस्रो तहका नेतामा देखिएको थिएन । दशौँ महाधिवेशनमा ओलीलाई चुनौती दिएका भीम रावल मैदानबाट लखेटिएपछि एमालेमा ओलीको विरोध गर्नु भीम रावल हुनु हो भन्ने सांकेतिक चर्चा हुने गरेका छन् ।

अझै पार्टी कार्यालय बनाउन भाटभटेनी साहुले ठूलै साथ सहयोग गरेको विषयमा विरोध गर्ने बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई कारबाही गरेपछि त ओलीविरुद्धको आवाज पूर्णरूपमा अवरुद्ध नै भएको थियो ।

ओलीले एमाले बनाए, एमाले फुटाए, एमाले जगाए । यसमा कुनै विवाद छैन । एमालेको लिङ पहिचान भएन भन्ने अवस्थामा पुगेको पार्टीलाई भारतीय नाकाबन्दीसँग जुधेर एउटा सच्चा देशभक्त पार्टी हो भन्ने सन्देश ओलीकै अडानका कारण भएको हो । एमाले र माओवादीलाई एकीकरण गरेर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने पनि ओली नै हुन् । फेरि आफ्नो कार्यशैलीका कारण फरक मत राख्नेलाई पेल्ने प्रबृत्तिका कारण एमाले फुटाउने प्रमुख पात्र पनि ओली नै हुन् ।

माओवादीसँगको एकीकरणपछि प्रचण्ड, माधव र झलनाथहरूको पार्टी कब्जा गर्ने हुट्हुटीका कारण संकटमा परेको एमालेलाई जगाउने पनि ओली नै हुन्, ओलीको नेतृत्वमा एमालेले थुप्रै संकट व्यहोर्दा व्यहोर्दै पनि लोकप्रिय पार्टी बनाउन सफल भएका छन् ।

ओलीले पार्टी बलियो बनाउने मात्रै होइन, देशका लागि केही सपना पनि देखेका छन् । उनका सपना बिस्तारै साकार पनि हुँदैछन् । सुरूङमार्ग शुरू हुँदैछन् । दैलेखमा ग्यास र फलामखानी पत्ता लाग्यो । सडक सञ्जालको फैलावटसँगै नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको चुच्चे नक्सा जारी गर्न सबै दललाई सहमत गराउनु हो ।

ओलीका धेरै सकारात्मक र दूरगामी काम हुँदाहुँदै पनि कार्यशैलीमा धेरैका विमति छन्, एमालेभित्र । एमालेबाहिर ओलीप्रति नकरात्मक धारणा राख्नेहरू पनि उत्तिकै छन् । एमाले भित्र ओलीप्रति नकरात्मक धारणा राख्ने मान्छे पनि बोल्न, खुल्न सकिरहेका थिएनन् । ‘बोल्यो कि पोल्यो’ भन्ने अवस्था एमालेमा बढ्दै गएको थियो । बालकोटको विरोध गर्ने हिम्मत हराउँदै गएको बेला विद्याको आगमन केही मान्छेका लागि जीवनबुटी नै हो कि ? भन्ने लागेको छ ।

सम्भावना भएका युवा नेता नै ‘म पार्टीको नेतृत्व गर्छु, देश बनाउँछु’ भन्ने अवस्थामा छैनन्, बरु १० वर्ष ओलीको विकल्प छैन भन्दै कुर्लंदै हिँड्ने अवस्था विद्यमान थियो । तल खुल्लम खुल्ला गुट बनाएर प्रतिस्पर्धा गर्नेहरू पनि माथि ओलीकै हुँ भन्दै वरिपरि दौडिरहेकै थिए र छन् ।

शंकर पोखरेल र विष्णु पौडेलको गुट देशव्यापी चर्चामा रहँदा पनि उनीहरू दुवैले चाहिँ माथि ओलीको विकल्प देखेनन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी आमने-सामने भएर लड्दा पनि माथि ओलीलाई नै छाता मानिराखेकै छन् ।

पुन पार्टी काममा आउँदा नेपालको राजनीति जति शान्त थियो भण्डारी आउँदा त्यस्तो भएन । अलिक बढी तरंगित भएको छ । पुन सक्रिय राजनीतिमा आएर माओवादी केन्द्रभित्र कुनै फरकखालको चर्चा-परिचर्चा भएको सुनिँदैन, बरु उहाँ प्रचण्डको खास सहयोगी बनेको चर्चा छ ।

तर, जब विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आगमनको चर्चा चल्यो, अनि ओली राजमा तड्पेकाहरू विकल्प पाइयो भनेर रमाइरहेका छन् । ओली राज मन नपरेका, हेपिएका-चेपिएकालगायत ‘ओलीलाई देखाइदिनुपर्छ’ भन्नेहरू औधी खुशी देखिन्छन् । ‘बल्ल अब ओलीराजको अन्त्य हुने भयो’, उनीहरूको आत्ममा एउटा मीठो धुन बजिरहेको छ । मनमनै ‘वाह ! बल्ल आउने भए हाम्रा दिन’ भन्दै कल्पनामै मीठामीठा लड्डु खाइरहेका छन् ।

हिजो माधव नेपाल, झलनाथ खनालको राजमा ओलीपक्षीय नेता किनारामा बसेर टुलुटुलु हेर्थे । स्वयं विद्यादेवी भण्डारीहरू नेपाल, खनालकालका पीडित हुन् । अहिले ओलीकालमा पनि स्वाभाविक रूपमा फरक विचार राख्नेहरू पछि परेकै छन् । पारिएकै छन् । पेलिएकै छन्, हेपिएकै छन् । राजनीति यही त हो, सत्तामा हुनेले पेल्ने, बाहिर हुनेले विरोध गर्ने ।

एमालेको राजनीतिमा सदावहार संस्थापन रहेका ईश्वर पोखरेललगायत वरिष्ठ नेता ओलीकालमा ‘हस् हजुर’ भन्ने भूमिकामा पुगे, हिजोको विरासत गुमेको आभाष उनीहरूलाई भएको छ । जो अध्यक्ष भए पनि त्यसैको खास मान्छे बनेका पोखरेललगायत ओलीकालमा छाँयामा परेका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरू विद्यादेवीको आगमन हुँदा हामी ह्वात्तै अगाडि आउँछौ कि भनेर पुलकित भएको अड्कल काट्न सकिने अवस्था छ ।

ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका, तर पछि १० बुँदे सहमतिबाट एमालेमै रहेका माधवप्रिय कमरेडहरू पनि ‘ओलीको विकल्पमा विद्या’ भन्दै खुशियाली मनाइरहेका छन् । यिनै नेतालाई धुरी मान्ने तल तलका कार्यकर्ता पनि औधी खुशी देखिन्छन्, ‘अब बल्ल ओली राज सक्किने भयो’ भन्दै ।

अर्को, ओलीकै नजिक रहेका, तर उनका आन्तरिक गुट (शंकर भर्सेज विष्णु) का कारण अवसरबाट वञ्चित भएका पनि विद्या नेतृत्वमा आउँदा त्यो अवसर पाइहालिन्छ कि ? भन्ने कोणबाट धेरै नै उत्साहित देखिन्छन् ।

ओलीका कारण राजनीतिको एउटा असाध्यै नमीठो यात्रामा निस्केका, विशेषगरी नेकपा एसभित्रका ओली विरोधीले सामाजिक सञ्जालमा पोष्ट गर्ने विषयवस्तुबाट बुझ्न सकिन्छ कि, उनीहरू पनि धेरै खुशी छन् ।

ओलीको नेतृत्वमा एमाले बलियो भयो, ओलीलाई चुनौती दिने नेतै भएनन्, ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्यो भने कतै एकल बहुमत ल्याएर भारतमा मोदीराज जस्तै त बनाउँदैनन् भन्ने चिन्ता विपक्षीको मनमा छ । उनीहरू पनि ओली-विद्या नामक सिरियलका असल दर्शक र पृष्ठपोषणकर्ता बनेका छन् ।

ओली नेतृत्वको एमालेको विकल्प अब नयाँ शक्ति हुन्, २०७९ को निर्वाचनबाट स्वतन्त्र र स्वतन्त्र पार्टीले पाएको जनमतबाट हौसिएका विशेष गरी वर्तमान नेताप्रति आक्रोश पोख्नेहरू पनि अब नयाँ शक्ति पनि विकल्पमा देखिएनन्, त्यो भन्दा ओलीको विकल्प त्यहीँभित्र खोज्ने मुडमा देखिन्छन् र ओली भन्दा विद्या भन्दै प्रचारमा देखिन्छन् ।

अर्को एउटा पक्ष, ओलीले वाम एकतामा रुची देखाएनन्, आफू संकटमै परेको बेला पार्टी एकीकरण होइन, अन्य पार्टीका कार्यकर्ता पार्टीमा ल्याउने भनेर अभियान चलाउनसक्ने ओलीले अरु पार्टीलाई एकीकरण गर्न नदिने भए, एकीकरण नभएसम्म आफूहरू राजनीतिको मूलधारमा सफल नहुने ठानेका, विशेष गरी वामपन्थी पनि यतिबेला ओली–विद्या नामक लडाइँको सारथि बन्दैछन् ।

ओलीलाई पार्टी भित्र र बाहिरबाट कमजोर बनाउन लाग्नेहरूलाई मलजल गर्नेहरूको जमात दिन प्रतिदिन बढ्दैछ । एमालेभित्रकै एउटा हिस्सा बाहिर मौन बस्ने, तर मैदानमा ओलीलाई सक्ने अभियानमा छ । बाहिर नेतृत्वका बारेमा बोल्ने बेला भएको छैन, बोल्ने होइन भन्दै भाषण गर्ने, तर भित्रभित्र निरन्तर ओली विरुद्धमा अभियान सञ्चालन भइरहेका छन् ।

शंकर पोखरेल र विष्णु पौडेलको गुट देशव्यापी चर्चामा रहँदा पनि उनीहरू दुवैले चाहिँ माथि ओलीको विकल्प देखेनन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी आमने-सामने भएर लड्दा पनि माथि ओलीलाई नै छाता मानिराखेकै छन् ।

ओली स्वयं यो अभियानबाट अनभिज्ञ छन्जस्तो लाग्दैन । तर, पनि सत्ताले सुन्न सक्दैन, सत्ताले बुझ्न पनि सक्दैन भन्ने कुरा ओलीका हकमा पनि लागु हुनसक्छ ।
ओली-विद्या भिड्ने नै हुन् त ?

अब प्रश्न उठ्छ ? के एमालेभित्र अबको लडाइँ ओली-विद्याकै हो त ? उक्साउनेहरू, उनीहरूलाई लडाएर फाइदा लिनेहरू, उनीहरूका बीच दुश्मनी पैदा गरेर राजनीतिको रोटी सेकाउनेहरूका कारण त्यो सम्भावना नकार्न सकिँदैन ? ईश्वर पोखरेलको खुशीयाली हेर्दा उनी अब जसरी पनि ओलीलाई हटाएर विद्यालाई अध्यक्ष बनाउने र त्यसको सम्पूर्ण जस आफूले लिने मुडमा देखिन्छन् । शंकर पोखरेलहरू ओलीको विकल्प छैन भन्दै विद्यालाई रोक्नमै दत्तचित्त छन् । यो सब हेर्दा लडाइँ चर्कंदै जान्छ कि ? भन्ने अनुमान गर्न सकिन्छ ।

तर, हिजोदेखिका धेरै घटनाक्रमलाई हेर्दा ओली र विद्याबीच लडाइँ हुन्छ भन्नेमा आशंका छ । एमालेका एकजना केन्द्रीय कमिटी सदस्यका अनुसार अहिले देशभरका नेता कार्यकर्ताको नाडी छाम्ने काम भएको छ । ओली र विद्याबीच प्रतिस्पर्धा हुँदै हुँदैन ।

उनले अझै स्पष्ट पार्दै भने, ‘अहिले जे भइरहेको छ, त्यो सब ओली र शंकर पोखरेलको डिजाइनमा भइरहेको छ । विद्यालाई देश दौडाहा गराउने पनि यिनै हुन, यिनले नेता कार्यकर्ताको नाडी छामिरहेका छन्, ओलीको विरुद्धमा को-को छन् ? पहिचान गरिरहेका छन् र आगामी महाधिवेशनबाट आफ्ना विरोधीलाई तह लगाउने गरी योजना बनाएका छन् ।’

यदी उनको यो भनाइ साचो हो, उनले भित्रको केही बुझेका छन् भन्ने ठान्ने हो भने ओली-विद्याका नाममा अहिले जे जे खेतीपाती भैरहेको छ, यो खेतीपातीमा अधिक सक्रिय हुने, एउटाका विरुद्ध अर्कोलाई सिध्याउन लाग्ने एमालेभित्रका खेलाडीको अवस्था धेरै नै नाजुक हुनसक्छ ?

साँच्चिकै ओली र विद्याबीच धेरैपटक यो विषयमा छलफल भएको छ । हिजो विद्यालाई ओलीले अगाडि बढाउँदा बिरासतको आडमा अगाडि बढाएको आरोप लगाउनेहरू, विद्यालाई अखिल नेपाल महिला संघको अध्यक्ष, राष्ट्रपति बनाउने क्रममा श्रृंखलावद्ध आक्रमण गर्ने, विद्याले ओली सरकारका निर्णय सदर गर्दा आलोचनमा रमाउनेहरूले यतिबेला विद्यालाई बोकिरहेका छन् ।

२०५० मा काठमाडौं १ को उपनिर्वाचन लडेदेखि नै विद्याले राजनीतिमा ठूलो संघर्ष गरेकी छन् । उनको विरासतसँगै उनको संघर्षको पाटो कमजोर छैन । उनले गरेको संघर्षलाई नदेख्ने र विरासतका नाममा खिल्ली उडाउनेहरूले आफ्नो स्वार्थका लागि उचालेका छन् भन्ने कुरा विद्याले नबुझेजस्तो त लाग्दैन ।

तर पनि, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैन भन्छन् । विद्यालाई मुलुकको पहिलो महिला राष्ट्रपति बन्न पाएजस्तै मुलुकको प्रथम महिला प्रधानमन्त्री पनि बन्ने रहर जागेको हो कि ? विद्याको यो रहरमा ओली बाधक बन्ने अवस्थामा हिजो विद्यालाई उठ्न नदिनेहरू सारथि बन्ने हुन् कि ? सम्भावनालाई नकार्न सकिँदैन ।

यद्यपी विद्यालाई सहजै प्रधानमन्त्री दिन्छन्, यस्तो नठान्दा हुन्छ ? वर्तमान अवस्थामा केपी ओलीको समर्थन वा सहयोग बिना भण्डारीको राजनीतिक यात्रा त्यति सहज छैन र संकटमा यी दुबै एक ठाउँमा हुन्छन् भन्ने कुरा पनि विद्यालाई उचाल्नेहरूले बुझेकै राम्रो हो ।

‘विद्या नेपालको पहिलो महिला राष्ट्रपति’, यो भन्दा सम्मान, इज्जत, प्रतिष्ठा उनका लागि अरु हुनै सक्दैन । अब उनको चाहना प्रथम कार्यकारी प्रधानमन्त्री भन्ने होला । प्रथम महिला राष्ट्रपति भन्दा जत्तिको ओझिलो थियो, प्रथम महिला प्रधानमन्त्री भन्दा त्यहाँभित्र पदलोलपुता कतै न कतै झल्किन्छ । पदका लागि मरिहत्ते गरेर सानो पदमा आएको कुरा नयाँ पुस्ताले पचाउँदैन ।

के एमालेभित्र अबको लडाइँ ओली-विद्याकै हो त ? उक्साउनेहरू, उनीहरूलाई लडाएर फाइदा लिनेहरू, उनीहरूका बीच दुश्मनी पैदा गरेर राजनीतिको रोटी सेकाउनेहरूका कारण त्यो सम्भावना नकार्न सकिँदैन ? ईश्वर पोखरेलको खुशीयाली हेर्दा उनी अब जसरी पनि ओलीलाई हटाएर विद्यालाई अध्यक्ष बनाउने र त्यसको सम्पूर्ण जस आफूले लिने मुडमा देखिन्छन् । शंकर पोखरेलहरू ओलीको विकल्प छैन भन्दै विद्यालाई रोक्नमै दत्तचित्त छन् । यो सब हेर्दा लडाइँ चर्कंदै जान्छ कि ? भन्ने अनुमान गर्न सकिन्छ ।

विद्याले पार्टीको सदस्यता नवीकरण गरिन् भन्ने समाचार आउदा गाउँमा धेरै युवाले सदस्यता नवीकरण नगर्ने अवस्था सिर्जना हुन सक्छ ।

विद्या केपी ओलीको इच्छा-चाहनाले नै राजनीतिमा सक्रिय भएकी हुन् भने एमालेका लागि पनि दुर्भाग्य हुन्छ । यी दुईले आफूबाहेकलाई विश्वास नै गर्दा रहेनछन्, आलोपालो आफैँ रजाइँ गर्ने योजनामा रहेछन् भन्ने पनि त सन्देश जाला नि ? एमाले सधै अहिलेकै जस्तो हात्ति पार्टी भइरहन्छ र ?

पार्टी सानो र ठूलो हुन कुनै आइतबार कुर्नुपर्दैन । २०६४ मा एमाले तेस्रो भएकै हो । विद्या राजनीतिमा आएर देशको आमुल परिवर्तन हुने, कायापलट नै हुने, आम जनताका समस्या फू-मन्तरमा सकिने अवस्था भए त राम्रो हो । तर, के अहिलेको संरचनामा त्यो सम्भव छ ?

ओली-विद्याको सिरियलमा कम्तीमा एमालेभित्रका सम्भावना भएका नेता अतिउत्साहित भएर घानमा नपरेकै राम्रो हो । भित्रभित्र गुट जगाउने र बाहिर मीठा कुरा गर्नेलाई पनि जनता र कार्यकर्ताले चिनेकै छन् ।

अन्त्यमा, केपी शर्मा ओली र विद्यादेवी भण्डारी करिब एक दशक नेपालको राजनीतिको मुख्य पात्र बनिसक्नु भएको छ । पार्टी र राज्यसत्ताको महत्वपूर्ण जिम्मेवारीमा पुगिसक्नु भएको छ । अझै पनि पदका लागि मरिहत्ते गर्ने, आफ्ना लागि अरुलाई लडाउने काममा लाग्न सुहाउँदैन । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका हकदार तपाईँहरूले अबको पुस्तामा कसलाई मान्ने ?

जबजको असलमा व्याख्याता, सही हकवाला खोज्नुस्, रोज्नुस् र उसलाई अगाडि बढाउनुस्, अब पनि तपाईँहरूकै ब्राण्ड बजारमा बिक्दैन, टिक्दैन । आजको पुस्ता तपाईँहरूको नामसँग झस्किन नपरोस् भन्ने कुरामा पनि हेक्का राखेको राम्रो हुन्छ । सत्ता स्थायी हुँदै होइन ।

तपाईंहरू दुईजना मिल्दा एमाले एक ढिक्का हुन्छ, एमाले एकढिक्का मात्रै हुँदा मुलुकका लागि एउटा बलियो राष्ट्रिय शक्ति बन्छ ? बलियो राष्ट्रिय शक्ति बन्दामात्रै मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरण सम्भव छ ।

त्यसका लागि तपाईंहरू दुईजना जबजको मार्गदर्शक बन्ने, त्यसको व्याख्या गर्ने र काम गर्नका लागि तपाईंहरूकै असल हकदार, एमालेको असल नेता छान्नुस् र सबैलाई भन्नुस, अबको नेता यी हुन्, यिनलाई नेता मानेर हामी सबै विकास र समृद्धिको अभियानमा जुटौ । कि कसो ?

Comments

One response to “‘ओली-विद्या’ भन्दै चम्किनेका लागि : कतै तपाईंको नाडी पो छाम्दै छन् कि ?”

  1. ksp pyl Avatar
    ksp pyl

    विद्याले एमालेको राजनीतिमा आउछू भन्नु गम्भीर भूल हो । पदलोलुपताको पराकाष्ठा हो । आफूले पाएको पदको सम्मान गर्न नसकेको हो । देशको सेवा नै गर्ने मन भए एमालेको कार्यकर्ता बन्नै पर्दैन । यो त भन्ने कुरा मात्र हो । मुख्य कुरा लोभ हो । हैसियत नभएको मान्छेलाई एमालेले राष्ट्रपति बनाएको परिणाम हो । न क्षमता छ, न विचार छ ।लोभ गरेर मात्र हुन्छ ? प्रचण्डजस्ता धूर्त, माधवजस्ता पदको लागि पार्टी नै फुटाउने, भारतजस्तो दुष्ट सँग जुधेर पार्टीलाई बलियो बनाएर देशलाई स्वाभिमान र समृद्विको यात्रामा अघि बढाउने काम ओलिले मात्र गर्न सक्छन् । विद्या एमालेको नेतृत्वमा आएमा, ईश्वर पोखरेल आएमा एमाले ध्वस्त हुन् । विरोधीले सक्छन् । विद्याले पूर्व राष्ट्रपतिको मान खाएर नबसेर ब्लण्डर गरिन् । यिनलाई अब पूर्व राष्ट्रपति पनि नभनौं । म त भन्दिन ।पदको गरिमा नबुझ्नेलाई किन भन्ने ।अहिलेको संविधान अनुसार राष्ट्रपति पद एकताको प्रतीक हो । एकताको प्रतिकबाट एकैचोटी वडा सदस्य खान पार्टीमा छिर्नेलाई किन भन्ने पूर्व राष्ट्रपति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *