चीनले अघि सारेको ‘नयाँ सार्क’- नेपाललाई कति कठिन ?

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अहिले कहाँ छ ? कोमामा ! प्रायः कूटनीतिक वृत्तमा हुने चर्चा हो यो । नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तान सदस्य रहेको सार्क सधैं भारत र पाकिस्तान द्वन्द्वको कोपभाजनमा पर्ने गरेको छ । सन् २०१४ मा नेपालले १८औँ शिखर सम्मेलनको आयोजना गरेको थियो । त्यसपछि १९औँ शिखर सम्मेलनको पालो पाकिस्तानको हो, तर भारतसँग सम्बन्ध बिग्रिएपछि सम्मेलन अलमलिएकोमात्र छैन, बेवास्तामै परेको छ । नेपालले शिखर सम्मेलन आयोजना गरेर पाकिस्तानलाई अर्को सम्मेलनका लागि हस्तान्तरण गरेको थियो । पाकिस्तानले आयोजना गर्नुअघि सन् २०१६ मा भारतको उरीमा आतंकवादी हमलाका कारण स्थगित भयो । त्यसपछि भारत-पाकिस्तान द्वन्द्वको छायाँले सार्क अलपत्र परेको छ ।

भारत अहिले सार्कभन्दा पनि पाकिस्तानलाई बाहिर राखेर दक्षिण एसियाका माल्दिभ्सबाहेक र दक्षिण पूर्वी एसियाका दुई देश रहेको बिमस्टेक अर्थात बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासलाई सक्रिय बनाउन लागिपरेको छ । गएको वर्ष मोदीले आफ्नो तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथमा बिमस्टेक सदस्यलाई निम्ता गरेका थिए । त्यसअघि सन् २०१९ मा पनि दोस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदा बिमस्टेकलाई नै प्राथमिकता दिएका थिए, तर पहिलो पटक प्रधानमन्त्री हुँदा उनले सार्क सदस्य राष्ट्रका प्रमुखहरूलाई शपथमा बोलाएका थिए । पछिल्ला वर्षहरूमा मोदी सार्कभन्दा बिमस्टेकमा ज्यादा ध्यान दिने गर्छन् । अध्यक्ष राष्ट्र रहेको नेपालले केही गर्नसक्ने अवस्था छैन । यो त भयो, भारतले सार्क छाडेर बिमस्टेकलाई दिएको महत्वका कुरा ।

अब कुरा गरौं, अर्को पक्ष पाकिस्तानले पनि सार्क सक्रिय पार्न चाहेको छैन । बरु चीनका साथमा सार्कको विकल्पमा दक्षिण एसियामा नयाँ क्षेत्रीय संगठन बनाउने रणनीतिमा अघि बढेको छ । यहाँ पाकिस्तानभन्दा पनि चीन नै नयाँ संगठन बनाउने र दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम गर्न चाहेको देखिन्छ ।

भारत अहिले सार्कभन्दा पनि पाकिस्तानलाई बाहिर राखेर दक्षिण एसियाका माल्दिभ्सबाहेक र दक्षिण पूर्वी एसियाका दुई देश रहेको बिमस्टेक अर्थात बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासलाई सक्रिय बनाउन लागिपरेको छ ।

हालै जुन १९ मा चीनको युनान प्रान्तको कुनमिङमा चीन, पाकिस्तान र बंगलादेशको त्रि-देशीय बैठक बस्यो । तीनै देशका विदेश मन्त्रालयका उच्च तहका कर्मचारी सम्मिलित यो बैठकमा चीनले दक्षिण एसियाली मुलुकहरूमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरिएको रहेछ । त्यहाँ चीन, पाकिस्तान र बंगलादेशले लगानी, कृषि, डिजिटल अर्थतन्त्र, वातावरण संरक्षण, खनिज विज्ञान, हरित पूर्वाधार, संस्कृति, शिक्षा र जन-जनबीचको सम्बन्धमा एकापसबीच सहकार्य गर्ने समझदारी गरेका छन् । उनीहरूले कार्यान्वयनका लागि त्रिदेशीय संयुक्त कार्यदल पनि बनाउने घोषणा गरेका छन् ।

यो देखाउने कुरा भयो । त्यही बैठकमा तीन देशले सार्क जस्तै दक्षिण एसियाली मुलुकहरू जोडेर नयाँ क्षेत्रीय संगठन पनि बनाउने सहमति जुटाएका छन् । यो नयाँ संगठनमा को-को हुन्छन् त ? पाकिस्तानी सञ्चारमाध्यमहरूले आफ्नो विदेश मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै नयाँ ‘सार्क’ बनाउने गरी भएको छलफलले हाललाई तीन देशसहित अफगानिस्तान, श्रीलंका, माल्दिभ्स सामेल हुनेछन् । चीनले भारतलाई पनि नयाँ सार्कका लागि सदस्य बन्न आग्रह गर्ने बताइएको छ, तर भारतले यो तीन देशको बैठकलाई नजिकबाट नियालेकोमात्र भनेन, दक्षिण एसियामा आफूले इनिसिएसन नलिएको कुनै नयाँ क्षेत्रीय संगठन अस्वीकार गर्ने प्रतिक्रियाको तयारी गरेको छ । त्यसैले भारत तत्काललाई यो संरचनामा नरहने निश्चित छ । अर्कोतिर भारतसँग नजिकमात्र होइन, विदेश मामिलामा सल्लाह लिने भुटान पनि सामेल हुनेछैन ।

अब पालो आउँछ, नेपालको । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाको एक सदस्य र सम्झौता गर्ने देश नेपाल चीनसँग केही निकट छ । त्यसैले नयाँ सार्कमा चीनले नेपाललाई प्रस्ताव गर्छ नै । बंगलादेश, पाकिस्तानसँग पनि नेपालको सम्बन्ध राम्रै छ । भारत नकारात्मक रहने नयाँ सार्कमा नेपालले आफूलाई कसरी उभ्याउनसक्छ ? यो मुख्य प्रश्न हो । हुन त फाइदाका लागि भारत आफैं चीनसँग सहकार्यमै छ । जस्तै पाकिस्तानसमेत रहेको साङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)मा चीनसँग भारतले सहकार्य गरेकै छ ।

चीन, पाकिस्तान र बंगलादेशले लगानी, कृषि, डिजिटल अर्थतन्त्र, वातावरण संरक्षण, खनिज विज्ञान, हरित पूर्वाधार, संस्कृति, शिक्षा र जन-जनबीचको सम्बन्धमा एकापसबीच सहकार्य गर्ने समझदारी गरेका छन् ।

त्यस्तै चिनियाँ अध्यक्ष रहेको एसियन इन्फ्रास्टक्चर इन्भेस्मेन्ट बैंकमा भारतीय उपाध्यक्ष छन् । त्यस्ता थुप्रै सहकार्यहरू भइरहेका छन् उनीहरूबीच । त्यतिमात्र होइन, भारत वा चीन दुबैले आफ्ना फाइदाका लागि आवश्यकअनुसारका सम्बन्धहरू बनाएका हुन्छन् । त्यसैले नेपालले पनि आफूलाई फाइदा हुनेगरी अर्को देशको सुरक्षा चासो बुझेर कन्भिन्स गर्दै सबैखाले क्षेत्रीय सहकार्य गर्नसक्छ, तर नेपाल आफैंमा कमजोर र अरुको भरमा आर्थिक अवस्था चलाउनुपर्ने देशका लागि ठूला राष्ट्रका स्वार्थ बाझिँदा चेपुवामा पर्ने अवस्था आउनसक्छ । त्यसैले नेपालले कूटनीतिक क्षमतालाई बढाउँदै बोलेका कुरा पूरा गर्दै छिमेकको विश्वास जित्न सक्नुपर्छ ।

अब नयाँ सार्क कस्तो हुन्छ ?

चीनले अघि सारेको यो नयाँ सार्क क्षेत्रीय विकास, सदस्य राष्ट्र एक-अर्काका सुरक्षा चासो, कनेक्टिभिटी, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षति न्यूनीकरणको प्रयास, यिनै र यस्तै बुँदाहरूको आधारमा नयाँ क्षेत्रीय संगठन बनाउने अवधारणा बुनिएको छ । यो बुझ्न एकैछिन सन् २०२१ अप्रिलमा फर्किऔं ।

कोरोना भाइरसको महामारीताका चीनले दक्षिण एसियाली मुलुकहरू सामेल गरेर सन् २०२१ अप्रिल २७ मा भर्चुअल संवाद गरेको थियो । उक्त भर्चुअल संवादमा दक्षिण एसियाली सबै मुलुकलाई निम्ता दिइएको थियो, तर भारत, भुटान र माल्दिभ्स सामेल भएनन् । त्यसबेला पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश र नेपालका विदेशमन्त्री सामेल थिए । चीनले त्यो बैठकमा चीन-दक्षिण एसिया आपत्कालीन आपूर्ति संग्रह र गरिबी निवारण तथा सहकारी विकास केन्द्र नामका दुई संयन्त्र घोषणा गरेको थियो । यो नै दक्षिण एसियामा नयाँ क्षेत्रीय संगठनको खाकाको योजना थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *