दाङ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका ज्वाइँ टीका बुढा (रञ्जित) ले सहकारीका नाममा भाडा लिएको जग्गा अर्कैलाई बेचिदिएको पाइएको छ ।
घोराही-१४ सरस्वती टोलकी मुलजिता रोकाले घोराही ७ सौडियारस्थित १० कठ्ठा ८ धुर जग्गा जनज्योति पशुपालक कृषक सहकारी संस्थालाई २०७८ असार १६ गते वार्षिक २४ हजार रूपैयाँमा १० वर्षका लागि सहकारीलाई भाडामा दिएकी थिइन् । तर, भाडामा दिएको १२ दिनमै कित्ता नम्बर ३ क ९२६ को जग्गा बिक्री भएर लक्ष्मण शर्माका नाममा नामसारी भएको हो ।
६६ वर्षीया पीडित मुलजिताले आफ्नो नाममा रहेको जग्गा नाताले भदा पर्ने टिकाले जालसाजी गरी बिक्री गरेको आरोप लगाइन् । जग्गा भाडा सम्झौतामा साक्षी बसेका घोराही १५ का रन्जित भनेर चिनिने टीकाले केही समयपछि जालसाजी गरी उक्त जग्गा बिक्री गरेको मुलजिताको दाबी छ ।
‘म एकल महिला हुँ । छोरी पढाउनका लागि जग्गा भाडामा दिएको थिएँ,’ मुलजिता भन्छिन्, ‘सात महिनापछि तिरो बुझाउन जाँदा वडा कार्यालयले तपाईंको जग्गा छैन भनेपछि पो बिक्री भएको थाह पाएँ ।’
टीकाले २० लाखको कागजी मूल्यांकन देखाएर घोराहीकै लक्ष्मण शर्मालाई २०७८ असार २७ गते लिखत तयार पारी २८ गते बिक्री गरेका हुन् । लक्ष्मणले पनि २०७८ पुस २० गते सो जग्गा घोराही-१५ का परशुनारायण श्रेष्ठलाई बिक्री गरिसकेका छन् । उक्त जग्गा किन्दा लक्ष्मण र परशुनारायण दुबैले २० लाख रुपैयाँ नै मूल्यांकन गरेर बिक्री गरेको मालपोतको रेकर्डमा उल्लेख छ ।
आफूलाई सम्झौतामा सही गर्न भन्दै टीकाले मोटरसाइकलमा मालपोतमा लगी फोटो खिच्न र ल्याप्चे लगाउन लगाएको मुलजिताको भनाइ छ । कृषि सम्झौता गर्न मालपोत किन जाने भनेर आफूले सोध्दा अहिले सरकारले मालपोत कार्यालयमा गएर गर्नुपर्ने नियम बनाएको भनेर झुक्याएको मुलजिताले बताइन् ।
‘टीकाले हामी कृषि फार्म खोल्दैछौं, तपाईंको जग्गा भाडामा दिनुस् भन्यो । मलाई छोरी पढाउन पैसा पनि चाहिएको थियो,’ मुलजिताले भनिन्, ‘आफ्नो मान्छेले यस्तो गर्लान् भन्ने मैले सोच्दै सोचिनँ । बेचेर खाइदिएछन् । मैले थाहा पाएपछि फिर्ता मागें । गल्ति भयो, म फिर्ता गर्छु पनि भनेको थियो । जग्गा फिर्ता हुने आश गर्दागर्दै वर्षौं बित्यो, अहिलेसम्म पाइनँ ।’

सहकारीका नाममा लिज सम्झौता गरेर मालपोत कार्यालयमा पूर्जा हराएको भनी झुक्याएर जग्गा पास गराएको देखिएको छ । कर्मचारीले आफूलाई पैसा बुझे नबुझेको विषयमा पनि केही नसोधेको उनको गुनासो छ ।
‘मैले त जग्गा भाडामा दिनका लागि सम्झौता गरेको हुँ, तर झुक्याएर जग्गा बिक्रीमा सहीछाप गराएछन्,’ उनले भनिन् ।
मुलजिताले २०६० सालमा ज्याला मजदुरी गरेर बचाएको पैसाले ३५ हजार रुपैयाँ कट्ठाका दरले उक्त जग्गा किनेको जानकारी दिइन् । उक्त जग्गा अहिले करोडौं मुल्यको छ ।
टीकाले सम्झौता गरेको सहकारीमा डमी पदाधिकारी बनाएर कारोबार गरेको पाइएको छ । घोराही १७ की विरु घर्ती मगर र घोराही १५ कि दिपा बुढालाई जागिर लगाइदिने भन्दै सहकारीमा नक्कली अध्यक्ष र कोषाध्यक्ष बनाएको खुलेको छ ।
अध्यक्ष बनाइएकी बिरु घर्ती मगर भन्छन्, ‘हामीलाई थाहै नदिएर नक्कली अध्यक्ष र कोषाध्यक्ष बनाएर फसाइयो ।’
हस्ताक्षर, चेक र सहकारीको कहाँ-कहाँ दुरुपयोग भएको छ भन्ने अहिले नै सबै थाहा नभएको उनको भनाइ छ । घोराही उपमहानगरको सहकारी शाखामा भने बिरू र दिपा अध्यक्ष र कोषाध्यक्ष भएको रेकर्ड भेटिदैन । सहकारी शाखा प्रमुख प्रेम केसीका अनुसार उक्त सहकारीको अध्यक्ष टीका बुढा नै छन् ।
‘हाम्रो रेकर्डमा जनज्योति पशुपालक कृषक सहकारीको अध्यक्ष टीका बुढा नै छन्,’ केसीले नेपाल प्रेससँग भने, ‘बाहिर कारोबार गर्दा साधारण सभाको निर्णय पेश गरेका होलान् ।’
भाडामा लिएको जग्गा बेचि खाएको आरोप लागेका टीकाले पनि आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।
‘यति लफडा हुन्छ भन्ने मलाई थाहा थिएन,’ बुढाले नेपाल प्रेससँग भने, ‘छिनुवा पास (जग्गा आफ्नो नाममा पास गरेर मिटर ब्याजमा पैसा दिने र मिटर ब्याजसहित पैसा फिर्ता गरेपछि जग्गा फिर्ता गर्ने काम) गरेर ४५ लाख लिएका थियौँ । पैसा तिर्न नसकेपछि समस्या भएको हो ।’
त्यो जग्गा अब चाँडै पीडितका नाममा नामसारी गरिने उनले बताए । बुढा माओवादी उपाध्यक्ष कृष्णहादुर महराकी कान्छी छोरी प्रगतिका श्रीमान् हुन् ।

Leave a Reply