९० वर्ष पुगे दलाइ लामा, आफ्नो १५ औँ अवतारबारे बेइजिङलाई दिए यस्तो चेतावनी

काठमाडौं । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाले आफ्नो ९० औँ जन्मदिन मनाउँदै गर्दा आफ्नो मृत्युपछि नयाँ दलाइ लामा पहिचान गर्न आफ्नो सचिवालयलाई पूर्ण अधिकार रहेको घोषणा गरेका छन् ।

सन् १९५० मा चीनमा माओ त्से तुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सम्पन्न भएसँगै तिब्बत चीनको अधीनस्थ भएको थियो । त्यसको विरुद्धमा उत्रिएका दलाइ लामा त्यसयता भारतमा निर्वासित छन् । बेइजिङले १५ औँ दलाइ लामा घोषणा गर्न नपाउने उनको दाबी छ ।

आगामी आइतबार दलाइ लामा ९० वर्ष पुग्दैछन् । उनी सन् १९५९ देखि निर्वासित छन् । नेपालले तिब्बतलाई चीनको अभिन्न अंग मान्दै आएको छ भने दलाइ लामाका गतिविधि प्रतिबन्धित छन् ।

दलाइ लामाको नयाँ अवतारका बारेमा धर्मशालामा छलफल भइरहेका छन् । दलाइ लामा स्वयंले यो एउटा संस्था भएकाले यसको निरन्तरता भइरहने बताए । सीएनएनका अनुसार नोबल शान्ति पुरस्कार विजेता दलाइ लामाले आफ्नो शेषपछि नयाँ अवतार आउने बताएका छन् ।

तिब्बती बुद्धिजमको मान्यता अनुसार दलाइ लामाको पुनर्जन्म भएरै अर्को दलाइ लामा आउने हो । उनीहरूको मान्यता अनुसार आइतबार ९० वर्ष पुग्न लागेका १४ औँ दलाइ लामा हुन् । उनको जन्म सन् १९३५ जुलाई ६ मा तिब्बतको ताक्सेरमा भएको थियो । उनको वास्तविक नाम ल्हमो थोन्डुप हो । उनले १३ औँ दलाइ लामा थुप्देन ग्यात्सोको अवतार लिएको मानिन्छ ।

एक भिडिओ सन्देशमार्फत उनले बेइजिङलाई चुनौती दिँदै भनेका छन् कि, उनको मृत्युपछि पनि उनको नाम बोकेको शताब्दी पुरानो आध्यात्मिक संस्था जारी रहनेछ र उनको उत्तराधिकारी पहिचान गर्ने अधिकार बेइजिङलाई होइन, केवल उनको भित्री घेरालाई हुनेछ।

जन्मदिनको पूर्वसन्ध्यामा एक प्रार्थना समारोहमा बुधवार प्रसारित एक भिडियो सन्देशमा, १४ औँ दलाई लामाले उनको मामिला व्यवस्थापन गर्ने गादेन फोड्राङ ट्रस्टले उनको पुनर्जन्मको खोजीको निरीक्षण बताएका छन् ।

उनले भने- यस विषयमा हस्तक्षेप गर्ने अरू कसैलाई त्यस्तो अधिकार छैन । विगतको परम्परा अनुसार, मेरो पुनर्जन्मको खोजी र १५ औँ दलाई लामाको नामकरण गरिनेछ।

कम्युनिस्ट सत्तासँग भागेर भारतको हिमान्चलमा निर्वासित सरकार चलाइरहेका दलाइ लामालाई अमेरिकीलगायत पश्चिमाको साथ रहेको छ ।

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्त्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरिका बौद्ध धर्मावलम्बीहरू बोधिसत्त्व आर्य-अवलोकितेश्वरका जीवित अवतारका रूप मान्दछन् ।

मंगोलियन भाषामा दलाइको अर्थ समुन्द्र र लामाको अर्थ गुरु हुन्छ। विशेषतः दलाई लामा छान्ने विधि एक जटिल आध्यात्मिक विधि हो ।

कहिले काहीँ पहिलो दलाई लामाले आफ्नो भावी अवतारका बारे केहि जानकारी छाडेर जाने गर्दछन् तर केहि अवस्थामा भने तिब्बतको पवित्र ल्हामो तालबाट आउने पवित्र तथ्य , महान् गेलुक धर्माधिकारीको सपनामा देखिने तथ्यहरू वा गेलुग सम्प्रदाय वा दलाई लामाकी इष्ट देवी पाल्देन ल्हामोबाट दिइने तथ्यबाट पनि भावी दलाई लामाको चयन गरिन्छ ।

वर्तमान १४ दलाई लामाको चयन पनि यसै आधारमा गरिएको थियो । यसरी चयन गरिएको सानो बालक दलाई लामा हो, होईन अझ प्रस्ट पार्न उनलाई पछिल्लो दलाई लामाले प्रयोग गरेको वा उनी सँग सम्बन्धित वस्तुहरू रोज्न लगाइन्छ । यदि उनले सही वस्तु रोजेको खण्डमा मात्र उनी सही दलाई लामा हुन भन्ने यकिन गरी उनलाई विशेष सम्मानका साथ बौद्ध धर्ममा दीक्षित गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *