विराटनगर । श्रमदानका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको श्रमदान भएका बेला बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा आरोमा प्रहरीले राईलाई पक्राउ गरेको हो । पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन् ।
किटानी जाहेरीपछि धरान-१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको राईमाथि आरोप छ ।
पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खाेल्सातिर लगी हातपात गर्न खाेजेकाे आराेप छ । घटना भएकाे बेला मेयर भने थिएनन् ।
पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन् ।
पीडित परिवारका सदस्यले भने, ‘हामीले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी हुन्, यस्तालाई कुटेर केही फाइदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ । छोरी मान्छे हो, पछि बिहे नहुन पनि सक्छ, यस्तो कुरा लुकाउनु पर्छ भने ।’
श्रेष्ठले सामान्य विषयले श्रमदानको बेइज्जत हुन्छ भन्दै घटना प्रहरीसम्म पुग्न नदिएको परिवारको भनाइ छ ।
पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ । उपभोक्ता समिति बनाएर बिल लगिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोक्दा यहाँको श्रमदान विवादमा समेत परेको थियो ।
यही विषयले मेयर-उपमेयरको विवाद बढेपछि धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन ।
यसरी सार्वजनिक भयो घटना
बालिकामाथि यौन दुर्व्यवहारको विषय सामसुम बनाइएको भए पनि धरान १६ मा प्रहरी चौकी भवन निर्माणमा अवरोध भएपछि घटना बाहिरिएको हो । प्रदेश सरकारको लगानीमा धरान १६ बहुभाषिक पाठशालासँगै निर्माण भइरहेको प्रहरी चौकी भवनको निर्माण रोक्न मेयर साम्पाङले कोशी प्रदेश सरकार भौतिक योजना मन्त्रालयमा पत्राचार गरेका थिए ।
उनका समर्थकहरूले निर्माणस्थलमा ताला लगाए । प्रहरी चौकीको भवन निर्माण रोक्न मेयर साम्पाङ र उनका समर्थकहरूले अवरोध गरेपछि स्थानीयले श्रमदाताका नाममा आफूहरूले अन्याय सहनु परेको बताएका थिए । सोहीक्रममा यौन दुर्व्यवहार भएको विषय उठेको थियो ।
हर्क साम्पाङको प्रश्नः दुई महिनासम्म किन लुकाइयो ?
मेयर साम्पाङले दुई महिना पुरानो घटनालाई अहिले आएर बाहिर ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यो घटनालाई जोडेर श्रमदानलाई बदनाम गर्न खोजिएको उनको आरोप छ ।

यो विषय बाहिर आएलगत्तै गत शुक्रबार साम्पाङले फेसबुकमा स्टाटस लेख्दै घटना प्रमाणित भए आफूले कारबाही गर्ने बताएका थिए । साथै, उनले चेतावनी दिँदै भनेका थिए, ‘यदि यस्तो होइन रहेछ भने आरोप लगाउनेले माफी मागेर कसले यस्तो भन्न लगाएको हो बाहिर ल्याइदिनुपर्छ ।’
यौन दुर्व्यवहार जस्तो अपराधमा मेयर आफैँले सुनुवाइ गर्ने भनेर दबाब दिएपछि न्यायका लागि प्रहरी गुहारेको पीडितका परिवारको भनाइ छ । धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराईले मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिएको बताए ।
यो स्टाटस विवादित भएपछि साम्पाङले हटाए । यस विषयमा अहिले उनी नयाँ प्रष्टीकरण दिइरहेका छन् । हिजो फेसबुक लाइभमा आएर यस सम्वन्धमा आफ्नो भनाइ राखेका थिए ।
साम्पाङको भनाइ यस्तो छः
१६ नम्बरको बालिकामाथि यौन दुर्व्यवहारको कुरा अहिले निकै तात्तिएको छ । को व्यक्तिले त्यस्तो गर्यो पत्ता लगाएर आरोप पुष्टि भएको हदसम्म कडा कानूनी कारवाही होस । त्यो व्यक्ति हाम्रो श्रमदाता हो भनेर धेरैले भनिराखेका छन् । को हो म चिन्दिनँ । प्रहरीले खोजोस र ल्याओस । श्रमदान भनेको यति वृहद कार्यक्रम हो, त्यसमा को–को आउँछ को–को आउँदैन, को कस्तो नियतले आयो, को कोसित बात मार्दैछ हामीलाई थाहा हुँदैन । कोही खराब नियतले आएका हुन सक्छन् । जो वास्तविक श्रमदाता छन्, उनीहरुले त्यस्तो काम गर्दैन भन्ने लाग्छ । श्रमदानलाई बदनाम गर्ने किसिमले नभन्नुहोला । खराब नियत राखेर आएकोलाई श्रमदाता भन्न मिल्दैन ।
यसलाई श्रमदान अभियानसँग जोडेर हुँदैन । कोही व्यक्ति विशेष होला । त्योसँग अभियानको लेनादेना छैन । हामी काम गर्न आएको हो । कुनै किसिमको कनेक्सन राखेर श्रमदान र श्रमदातालाई अपमान नगर्नुहोला । दोषि पाइएको हदसम्म कडा कारवाही हुनुपर्छ ।
दुई महिना अगाडिको कुरा अहिले किन निस्किँदैछ ? त्यतिबेला नै किन निस्किएन ? दुई महिनासम्म यौन दुर्व्यवहारको कुरा लुकाएर हुन्छ ? यी सबै कुराको सत्यतथ्य छानबिन होस् । कोही निर्दोष नफसोस्, दोषी नउम्कियोस् ।
(तस्बिर क्याप्सन : बहुभाषिक पाठशालानजिकै खोलाले कटान गरेपछि तारजालीको श्रमदानको राजेश शाक्यले कैद गरेको तस्बिर)

Leave a Reply