रुपन्देही । देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाईमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आन्दोलन कार्यक्रम अन्तरगत कालोपट्टि बाँधेर धर्ना तथा विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय नगरे थप चरणबन्द आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष डा. कृष्ण खरेलले ऐन चिकित्सकको मनोबल तोड्ने खालको भएको भन्दै यसको विरोधमा उत्रिनुपरेको बताउँदै चिकित्सकलाई दण्ड दिलाएर काम गर्न बाध्य पार्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकालले चिकित्सकहरूलाई मानसिक तनावमा पार्ने गरी कार्यस्थलमा असहज वातावरण सिर्जना गरिएको आरोप लगाएका थिए ।
मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोबिन्द खनालले यो ऐन नागरिक र स्वस्थ्यमैत्री नभएको दाबी गर्दै नेपालमा अहिले बाहिर गएर सेवा लिने अवस्था सृजना भएको भनाई राखेका थिए । उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले कानुनी त्रुटिले स्वास्थ्य सेवा क्षेत्र जोखिममा परेको उल्लेख गरेका थिए ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्ग बस्नेतले चिकित्सक र औषधी ब्यवसायी संघवीच नङमासुको सम्बन्ध रहने भन्दै चिकित्सकलाई पर्दा आफूुहरु सधै साथमा रहेको प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, निजी अस्पताल समिति (अफिम) का अध्यक्ष रामप्रसाद खरेल, संघका उपाध्यक्ष डा.वर्षा थापा, संघका सचिव डा.प्रकाश बस्नेतलगायतले ऐक्यवद्धता जनाएका थिए ।

Leave a Reply