कांग्रेस बैठकमा प्रश्न- महामन्त्रीलाई ठाउँको ठाउँ पर्ला भन्दै धम्की दिनेलाई रोक्न नसक्ने कस्तो अभ्यास गर्दैछौं ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मोहन बस्नेतले पार्टी बैठकमा महामन्त्री गगन थापालाई धम्की दिएकोप्रति आपत्ति जनाएका छन् । सानेपामा जारी बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवालाई ठाउँको ठाउँ पर्ला भन्ने धम्की दिनेलाई रोक्न नसकेको भन्दै कस्तो अभ्यास गर्दैछौं ? भन्दै प्रश्न गरे ।

उनले मोहन बस्नेतमा रवि लामिछानेकै भेरियन्ट बस्नेत देखिएको टिप्पणी गरे ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै

गत वर्ष २०८१ मङ्सिर ३ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले आफ्नो कार्यालय भवन उद्घाटन ग¥यो। दोलखाको सय दिने अभियानमा सहभागी हुन जाने क्रममा सिन्धुपाल्चोक कांग्रेसले गरेको निम्तो मान्न म पनि चौतारा पुगेको थिए ।

तर सो दिन सोही जिल्लाका नेता कार्यक्रम बहिष्कार गरेर हुल बाँधेर दोलखातिर बरालिँदै चौताराको कार्यक्रममा नजान सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरूलाई उर्दी जारी गरिरहनुभएको थियो। महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ता उर्दीको अवज्ञा गर्दै उत्साहजनक रूपमा सहभागी भए ।

सभापतिज्यू, कोही मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो ? त्यस्ता सोच भएका व्यक्तिले तल नेता कार्यकर्तामा कस्तो संस्कार दिइरहेका होलान् सभापतिज्यू आफै विचार गर्नुहोला । दुखका साथ भन्नुपर्छ दोलखामा पठाइएका केन्द्रीय प्रतिनिधिबाट दम्भको प्रदर्शनबाहेक केही सिक्न नपाएको दोलखाली कांग्रेसजनको गुनासो छ ।

केही दिन अघि पार्टीको पुस्तकालयमा संसदीय लोकतन्त्रको जननी बेलायतका एक नेपाली मूलका नेतालाई बोलाएर हाम्रो भगिनी सम्बन्ध रहेको लेबर पार्टीका अभ्यासहरूको बारेमा अन्तरक्रिया गरेका थियौ। पार्टीका नेताहरू कुनै विषयमा आरोपित भएको अवस्थामा कसरी उनीहरूले प्रक्रिया पार गरेर पार्टीबाट अलग हुन्छन् र पार्टीलाई रक्षात्मक बन्न दिदैनन भनेर सुन्न पाएका थियौ । दोषी नपाइए पार्टीमा पुनरागमन भए पनि सो समयसम्म पार्टीबाट अलग रहने नैतिकता बेलायती अभ्यासमा रहेको लेबर नेता डा बच्चु कैलाश कैनीले बताउनुभएको थियो ।

तर यहाँ भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसद्ले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साटो उल्टै केन्द्रीय समितिमा थप समय लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध बिषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौ ?

हर विषयको सीमा हुन्छ। भगवान् श्रीकृष्णले पनि १०० गालीसम्म सहनु भएको थियो। त्यसपछि सिसुपालको के भएको थियो महाभारतको प्रसङ्गमा चाख राख्ने सबैलाई जानकारी नै होला । कलियुगमा त्यो पनि कांग्रेसमा जे गर्दा पनि हुन्छ जे बोल्दा पनि हुन्छ भन्ने हो भने अलग कुरा नत्र पार्टीभित्र मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ की हुँदैन सभापतिज्यू ?

बुधवारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झैँ थियो। महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो। अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौ ।

भोलि फेरि कोही उठेर सभापतिज्यू विरुद्ध बुधवारको बैठकमा जस्तै बिषवमन गरे के हुन्छ ? यसै गरी पार्टी अर्डरमा रहन्छ ? मियो विनाको दाइँ जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ? तपाईँकै सामुन्ने बुधवार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ?

ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्ल युद्धको मैदान बनाउन खोजिरहेका हौँ ? होइन भने “ ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नु “ भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दा समेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौँ? बिपी कोइराला सहित अग्रजहरूले सुरु गरेको पार्टीको संस्कार यही हो ?

सभापतिज्यूलाई सोध्न चाहन्छु यो अराजकता कहिलेसम्म ? मर्यादाहीन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौ। त्यसैले मेरो आग्रह छ यस्तो गैर जिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस् ।

केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका क्रममा कैदमा रहेका रवि लामिछानेले संसद्को रोष्ट्रममा उभिएर “ आफूलाई फसाउन खोज्ने काँग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको “ बताएका थिए । बुधवारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो । लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाई फाइल छ फाइल छ भनेर किन घुक्र्याइ रहनुभएको छ। थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ। थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ?

तपाई आफू डामिसक्नुभएको छ। महामन्त्रीलाई पनि कारबाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस्। हेर्नुस हामीलाई फोहोर नभएको पार्टी चाहिएको छ । भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन। थापाजी दोषी देखिए भोग्नुहोला। हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस्। जहाँसम्म मेरो जानकारी छ तपाईँसँग गभर्नर पद कांग्रेसले साटेको पनि छैन ।

अहिले जे भइरहेको छ तपाईँकै कर्मले हो। रुन्चे याचना गर्दै अरूलाई दोष नदिनुस्। पार्टीमा तपाईँले योगदान गरेको छ भन्ने नाममा पार्टीलाई बदनाम बनाउने छुट तपाईँलाई छैन। हामीलाई पनि छैन। पार्टीभित्रको सुशासनको लागि बरु आरोपको टुङ्गो नलागेसम्म पार्टीको पदबाट अलग रहँदा त्यो पार्टीको लागि ठुलो गुन हुनेछ ।

Comments

One response to “कांग्रेस बैठकमा प्रश्न- महामन्त्रीलाई ठाउँको ठाउँ पर्ला भन्दै धम्की दिनेलाई रोक्न नसक्ने कस्तो अभ्यास गर्दैछौं ?”

  1. कमल प्रसाद बास्तोला Avatar
    कमल प्रसाद बास्तोला

    सही विश्लेषण तपाईंको ,सभापतिको हनुमान भएकाले छुट दिएका होलान् उनलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *