काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलकालाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । उज्वेकिस्तानमा बुधबार साँझ भएको खेलमा श्रीलंकाविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् ।
अहिले सामाजिक सञ्जालमा उक्त खेलमा साम्बाले प्रहार गरेको फ्रिकिकको चर्चा भइरहेको छ, जसलाई रेफ्रीले गोलको मान्यता दिएनन् । धेरै नेपाली समर्थकले उत्कृष्ट गोललाई बदर गरिदिएकोमा रेफ्रीको आलोचनासमेत गरेका छन् ।
खेलको ३५ औं मिनेटमा श्रीलंकन खेलाडीले प्रिती राईलाई लडाएपछि नेपालले फ्रिकिक पाएको थियो । डिबक्सभन्दा केही टाढाबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान साम्बाले बललाई सिधै गोलपोष्टको जाली चुमाउन सफल भइन् । तर, रेफ्रीले त्यसलाई गोलको मान्यता दिएनन् ।
नेपाली टीमका एक अफिसियलका अनुसार साम्बाले फ्रिकिक प्रहार गर्दा नेपालकी रश्मी कुमारी घिसिङले श्रीलंकन खेलाडीको वाललाई हस्तक्षेप गरेका कारण रेफ्रीले गोलको मान्यता नदिएका हुन् । साम्बाले फ्रिकिक हान्दा रश्मी श्रीलंकन खेलाडीको वाल अगाडिबाट दौडेकी थिइन् ।


Leave a Reply