स्वदेशी सीप र लगानीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई इन्धन डिपो सञ्चालन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न गरेको छ । निगमको ५५ वर्षे इतिहासमै यो पहिलो पटक शतप्रतिशत स्वदेशी सीप, परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक पूँजीबाट निर्माण सम्पन्न गरिएको परियोजना हो ।

बढ्दो आन्तरिक तथा बाह्य पर्यटकको चापलाई ध्यानमा राख्दै सरकारले पोखरामा निर्माण गरेको आधुनिक विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई इन्धन आपूर्ति गर्न नागरिक उड्डयन प्राधिकरणबाट लिजमा लिएको ९,२१५ वर्ग मिटर क्षेत्रफलमा यो डिपो निर्माण गरिएको हो ।

डिपोमा १२ सय किलोमिटर क्षमताका तीन वटा भर्टिकल स्टोरेज ट्यांक जडान गरिएको छ । ट्यांकको उचाइ र ब्यास दुवै १२ मिटर रहेको छ । साथै, फायर फाइटिङ सुरक्षाका लागि अलग्गै पानी ट्याङ्की, फोम स्टोरेज सिस्टम, फायर फाइटिङ पम्प, जक्की पम्प र अन्य सुरक्षात्मक संरचनाहरू पनि निर्माण गरिएको छ ।

डिपोमा प्रयोग गरिएका स्टोरेज ट्यांक र पाइपलाइन प्रणाली अमेरिकी पेट्रोलियम इन्स्टिच्युटको मापदण्डअनुसार रहेका छन् । इन्धन लोड र अनलोडका लागि १ माइक्रोन र ५ माइक्रोनका फिल्टर पनि जडान गरिएको छ ।

२०७७ चैत २ गते सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी सुरु भएको परियोजना विभिन्न चरण पार गर्दै २०७९ पुस १५ मा लिज सम्झौता भएको हो । ७५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

नेपाल आयल निगमका अनुसार, यो डिपोले पोखराबाट हुने उडानहरुलाई समयमै, सुरक्षित र प्रभावकारी इन्धन आपूर्ति गर्न महत्त्वपूर्ण योगदान र्पुयाउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *