ग्लोबल आइएमई क्यापिटलले ‘समुन्नत योजना–२’ म्युचुअल फन्ड निष्कासन गर्दै  

काठमाडौं ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना –२’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ । क्यापिटलले यही असार २२ गतेदेखि म्युचुअल फन्डको बिक्री खुल्ला गर्ने भएको हो ।

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु गरिने भएको छ । यदि माग उच्च भएमा २५ प्रतिशतले वृद्धि गर्दै अधिकतम १ अर्ब ५० करोडसम्म विस्तार गरिने तयारी रहेको छ ।

योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रूपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखिएको छ ।

यो बन्दमुखी योजना हो । फन्डको नाम ग्लोबल आइएमई म्युचुअल फन्ड राखिएको छ भने योजनाको नाम ग्लोबल आइएमई समुन्नत योजना –२ राखिएको छ ।  यसको प्रति इकाई मूल्य १० रुपैयाँ पर्नेछ । सर्वसाधारणमा निष्कासन गरिने इकाईहरू १२ करोड रहेको छ । न्यूनतम लगानी १०० इकाईदेखि अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई गर्न सकिन्छ ।

योजना अवधि इकाई बाँडफाँट मितिदेखि १० वर्ष राखिएको छ । प्राप्त मुनाफाबाट वितरण बाँकी रकम पुनः लगानी गरिने  लाभांश नीति राखिएको छ भने यो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध हुनेछ ।

प्रारम्भिक लगानीमा १५ प्रतिशत फन्ड प्रायोजक र व्यवस्थापकको हुनेछ । व्यवस्थापन शुल्क नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत र डिपोजिटरी शुल्क नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत रहने भएको छ ।

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत हाल २ योजनाहरू सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनरखरिद प्रतिफल दिएको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस योजनाको इकाईमा लगानी गर्नको लागि, लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *