काठमाडौं । ६० को दशकका नेपाली चलचित्रका चर्चित खलनायक हुन् मुकुन्द थापा । ‘मैदान’, ‘तकदीर’, ‘जीवनदाता’ जस्ता त्यसवेलाको सुपरहिट चलचित्रमा खलनायकको चरित्र निर्वाह गरेका मुकुन्द दर्शकमाझ चीरपरिचित छन् । उनको ठूलो ज्यान, लामो कपाल र कमान्डिङ आवाजले दर्शकहरुमाझ थ्रिल पैदा गर्थ्यो ।
उनै मुकुन्दको छोरी संजिता थापाले आफ्नो पिता गुण्डा हुँदाको अनुभूति सेयर गरेकी छन् । कमेडी नाइटस् विथ च्याम्पियनमा मुकुन्द अतिथि बनेर पुगेका थिए भने संजिता दर्शक बनेर पुगेकी थिइन् । कार्यक्रमको यस एपिसोडमा मुकुन्दको अलवा मुकुन्द श्रेष्ठ, हेमन्त बुढाथोकी र सुशील पोखरेल पनि अतिथिको रुपमा थिए ।
दर्शकसँग प्रश्नोत्तर कार्यक्रममा कार्यक्रम संचालक विशाल भण्डारीले संजितालाई सोध्छन्, ‘हजुरको बुबाले चलचित्रहरुमा महिलालाई दुर्व्यवहार गर्ने, कहिले हिरोको परिवार नै सिध्याइदिने गर्नुहुन्थ्यो । सानोमा बुबाको कामलाई लिएर तपाईंलाई कस्तो रियाक्सन आउँथ्योे ?’
सानोमा स्कुलमा पनि आफूलाई साथीहरुले ‘ओई हेर् न यो त गुण्डाको छोरी हो नि’ भन्ने गरेको संजिताले बताइन् । बेस्टफ्रेण्डको घरमा जाँदा पनि आफूलाई ‘गुण्डाको छोरी’ भनेर चिनाएको भन्दै भनिन्, ‘त्यसबेला के लाग्थ्यो भने मलाई गुण्डाको छोरी नै भन्न पर्छ र ? मुकुन्द थापाको छोरी भन्दिएको भए भइहाल्थ्यो नि भन्ने लाग्थ्यो ।’
अहिले भने समयसँगै आफ्नो चेतनामा बदलाव आएको उनले बताइन् । अहिले ‘गुण्डाको छोरी’ भन्दा गर्व लाग्ने बताइन् । उनले भनिन्, ‘मेरो बुबाले चलचित्र क्षेत्रमा गर्नुभएको काम उल्लेखनीय रहेछ । बुबालाई नचिन्ने कोही पनि छैनन् । बुबाको काम देखेर गर्व लाग्छ ।’
संजिता स्वयं पनि अभिनय, नृत्यको क्षेत्रमा करियर बनाउन लागिपरेकी छन् ।

Leave a Reply