चितवन । जिल्ला प्रशासन कार्यालय जिल्लामा आम नागरिकका समस्या समाधान गर्ने गरी काम गर्ने अर्धन्यायिक निकाय हो । यसले जिल्लाको शान्ति सुरक्षा देखि नागरिकका सार्वजनिक चासोका विषयमा समेत सम्बोधन गर्ने गरी काम गर्नुपर्ने कार्यक्षेत्र ओगटेको हुन्छ ।
नागरिकका नागरिकता, राहदानी बनाउनेदेखि समस्या समेत लिएर लिएर पुग्ने जिल्ला प्रशासन कार्यालय सार्वजनिक स्थल भए पनि यहाँको तस्बिर तथा भिडियो खिच्न अनुमति लिनुपर्ने भएको छ ।
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले एक सूचना टाँस गर्दै अनुमति बिना प्रशासन क्षेत्रभित्र फोटो भिडिओ नखिच्न भनेकी हुन् ।
असार महिनामा समाचार संकलनको लागि दुई वटा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारहरूलाई समाचार संकलनमा अवरोध गरेकी सिडिओ श्रेष्ठले बुधवार सूचना नै टाँस गरेर फोटो भिडियो खिच्न अनुमति लिनुपर्ने व्यवस्था गरेकी हुन् ।
हेटौँडा उपमहानगरपालिकाका एक वडाध्यक्षलाई स्थानीय व्यक्तिले कुटपिट गरेको विषयमा ज्ञापन पत्र बुझाउन कार्यालय पुगेका पत्रकारहरूलाई फोटो, भिडियो खिच्न रोक लगाएको विषयमा सिडिओ श्रेष्ठ र स्थानीय पत्रकारहरूसँग नोकझोँक भएको थियो ।
त्यस घटनाभन्दा पनि अघि असारको पहिलो साता भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता सिडिओलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए । ज्ञापन पत्र बुझाएको फोटो तथा भिडियो खिच्न मकवानपुरका केही पत्रकार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर, सिडिओ श्रेष्ठले फोटो भिडियो खिच्न दिएकी थिइनन् ।
उक्त घटनापछि पत्रकारका संगठन तथा पत्रकार महासंघ मकवानपुर र बागमती प्रदेश कार्यालयले समेत विज्ञप्ति निकालेर सार्वजनिक स्थलमा सार्वजनिक चासोको विषयमा समाचार संकलन गर्न गएका पत्रकारहरूलाई रोक लगाउने प्रयास गर्नु गलत भएको भन्दै विज्ञप्ति निकालेका थिए ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले अझ गम्भीर भएर प्रेस स्वतन्त्रतालाई संकुचन हुन दिन नहुने भन्दै महासचिव राधेश्याम खतिवडाले असार ७ गते विज्ञप्ति निकालेका थिए । सोही घटनाको पृष्ठभूमिमा सिडिओ श्रेष्ठले पत्रकारलाई लक्षित गरी भिडियो, तथा फोटो खिच्न अनुमति लिनुपर्ने सूचना टाँस गरेको प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल बताउँछिन् ।
तर, प्रमुख जिल्ला अधिकारी श्रेष्ठ भने कुनै घटना लक्षित नभई पत्रकारले अनुमति लिएर मात्रै फोटो भिडियो खिच्नुपर्ने भएकोले सूचना टाँस गर्नु सामान्य भएको बताउँछिन् । उनले प्रशासन कार्यालय आम नागरिक समस्या लिएर आउने कार्यालय भएकोले बिना अनुमति फोटो भिडियो लिन नपाउने दाबी गरिन् ।
नेपाल प्रेससँग कुरा गर्दै सिडिओ श्रेष्ठले भनिन्, ‘फोटो भिडियो खिच्नुभन्दा अगाडि त सोधेर खिच्नुपर्छ होइन र ? कानूनले मिलेसम्म हामी फोटो भिडियो खिच्न दिन्छौँ, तर अनुमति त लिनुपर्छ ।’
उनको यो भनाइ गलत भएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी बताउँछिन् । उनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा ज्ञापन पत्र बुझाउन गएका पत्रकारलाई फोटो भिडियो खिच्न सिडिओले रोकेको र अहिले झन् सूचना नै टाँस गर्ने काम गलत रहेको बताए ।
‘पत्रकार महासंघको टोलीसँग कुरा गर्दा म सूचना हटाइदिन्छु भन्नुहुन्छ । तर, पत्रकारहरूसँग व्यक्तिगत कुराकानीमा सिडिओसापले शिष्ट व्यवहार प्रस्तुत नगर्नुभएको पत्रकार साथीहरूको गुनासो आएको छ’, अध्यक्ष अधिकारीले थपे, ‘कोही पत्रकार पनि सिडिओसँग कुरा गर्न जाँदा समय नलिई जाँदैनन् । तर, सार्वजनिक पद धारण गरेको व्यक्तिले देखाउने व्यवहार भने शिष्ट भएन ।’

Leave a Reply