काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।
दोस्रो सहकार्यलाई अझै परिष्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् ।
कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भए पनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए ।
सिनेमाको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुजन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो ।
चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन् ।
उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

Leave a Reply