काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
पाठक अदालतमा हाजिर भएसँगै न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने तय भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।
अभियोग पत्रमा उक्त सामग्री प्रसारण गर्न प्रयोग भएका सामग्री जफत गर्न पनि माग गरिएको छ भने पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि मागदाबी गरिएको छ ।

Leave a Reply