सुदूरपश्चिममा मन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने माओवादी संसदीय दलका उपनेताको घोषणा

कैलाली । सुदूरपश्चिम प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशका मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरू बहिष्कार गर्ने अभियान सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले बजेटको दुरुपयोग र आर्थिक अनुशासनको उल्लङ्घन भएको आरोप लगाउँदै मन्त्रीहरूको उपस्थितिमा हुने कार्यक्रमहरूमा आफू सहभागी नहुने घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘जो-जो मन्त्रीहरूले बजेट बनाउँदा आर्थिक अनुशासन कायम गरेका छैनन् र बजेटको व्यापक दुरुपयोग गरेका छन्, ती मन्त्रीहरू मन्त्री बन्न र भन्न लायक छैनन्। हामीले संसदमा छानबिनको माग गरेका थियौँ, तर छानबिन गर्ने आँट सरकारमा देखिएन।’

रावलले यस्ता मन्त्रीहरूसँग अब कुनै औपचारिक कार्यक्रममा बस्न नसकिने भन्दै भनेका छन्, ‘तिनीहरू सहभागी कार्यक्रम यसै गरी बहिष्कार गरिन्छ। तिनीहरूलाई माननीय भनिन्न। अनुहार हेर्दा पनि लाज लाग्छ।’

उनका अनुसार बिहीबार धनगढीको होटेल डेभोटीमा आयोजना गरिएको कार्यक्रममा एक जना मन्त्रीको उपस्थिति रहेकाले आफूले कार्यक्रम बहिष्कार गरेर हिँडेको बताएका छन्। ‘यो त सुरु मात्र हो,’ उनले लेखेका छन्।

रावलले प्रदेश सरकारले असारे बजेट खर्च गर्न लागेको आरोपसमेत लगाएका छन्।

Comments

One response to “सुदूरपश्चिममा मन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने माओवादी संसदीय दलका उपनेताको घोषणा”

  1. Janak Bhim Rawal Avatar
    Janak Bhim Rawal

    दलाल , भ्रष्टाचारि लाई सबैले बहिस्कार गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *