सुदूरपश्चिमको बजेटमा विपक्षीको मौन समर्थनप्रति माओवादी सांसदले सार्वजनिक रूपमा क्षमा मागे, भने- यो हाम्रो कमजोरी हो

कैलाली। माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री ओम विक्रम भाट ‘सरल’ले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट संख्या बलका आधारमा पास भएको भन्दै विपक्षीको भूमिकामा कमजोरी भएको स्पष्ट स्वीकार गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले विपक्षी दलहरूले विरोधमा मतदान वा बहिस्कार गर्ने तयारी समयमै गर्न नसक्दा मौन बस्न बाध्य भएको बताएका हुन्।

“यो कति उचित वा अनुचित भयो, यसबारे समीक्षा गर्नेछौँ। यो हाम्रो कमजोरी रहन गयो। यसमा किन्तु परन्तु गर्ने छुट हामीलाई छैन। त्यसैले म आत्मालोचित हुँदै क्षमा प्रार्थी छु” उनले लेखेका छन्।

उनले सरकार नैतिक रूपमा अल्पमतमा परेको र सत्ता पक्षका सांसदहरू नै बजेटविरुद्ध आक्रामक रहेको अवस्थामा प्रतिपक्षले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नुले व्यवस्था कमजोर भएको टिप्पणी गरे। बजेट फेल हुने अवस्था नहुँदा पनि विपक्षी मौन बस्नु विडम्बनाको विषय रहेको उनको बुझाइ छ।

यो पनि पढ्नुहोस्- सुदूरपश्चिमको बजेटमा प्रतिपक्षको दोधारे नीति : चार दिन चर्को आलोचना, पास गर्दा मौन समर्थन

“हाम्रो विचार र व्यवहारको अन्तर नै मुख्य कारण हो,” उनले थपेका छन् “हाम्रो समर्थन थिएन र छैन। तर प्रक्रियामा हामी चुक्यौँ। यसबाट गम्भीर शिक्षा लिएका छौँ,” उनले स्पष्ट पारे।

साथै, बजेट पारित भएपछि सरकारद्वारा आयोजना गरिएको भोजमा सहभागी भएको आरोपबारे उनले प्रस्ट पारेका छन्, “म आफैँ कुनै भोजमा गएको छैन। सरकार आफ्नो योजनामा सफल भयो र व्यवस्थापिका भन्दा कार्यपालिका बलियो भएको सन्देश गयो। यसरी प्रदेश र संघीयता बलियो हुँदैन। सबैले गम्भीरतापूर्वक सोच्न जरुरी छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *