रुपन्देही ३ मा उपनिर्वाचन विशेष: उम्मेदवार टुङ्ग्याउन बुधवारदेखि राप्रपाको बैठक

रुपन्देही । प्रतिनिधि सभामा निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ बाट ०७९ को निर्वाचनमा निर्वाचित राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मृत्युपछि कार्तिक १७ गते यहाँ उपनिर्वाचन तय भएको छ ।

राप्रपाले आफूले जितेको यो सीट सुरक्षित बनाउने र उम्मेदवारको विषयमा बुधवारबाटै छलफल थालेको छ । नेकपा एमालेको साथमा २०७९ मा निर्वाचन जितेको राप्रपाको तुलनात्मक हिसाबले यो क्षेत्र बलियो भए पनि त्यो समयमा आएको समानुपातिक मतले चौथो स्थानमा थियो । पहिलोमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा रास्वपा रहेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देही ३ को उपनिर्वाचनका सन्दर्भमा रुपन्देही सम्बद्ध पार्टीका अगुवाहरूसँग छलफल थालेको बुधवार राती जनाएका छन् ।

राप्रपा केन्द्रीय सल्लाहकारसमेत रहेका नेता निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, स्व‍ नेता दीपक बोहोराकी नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापासहितका नेताहरू यो बैठकमा सहभागी रहेका छन् । काठमाण्डौंमा सुरु भएको यो बैठकले उम्मेदवारको टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

एमालेसँग सहकार्य गरेर मैदानमा गएका दीपक बोहोरा निर्वाचनमा मत माग्दा पनि बोल्न नसक्ने अवस्थामा थिए । नेता निरञ्जन थापा, प्रदीप उदय, नेतृ स्वाती थापाले उनका प्रतिवद्धताहरु मतदातालाई सम्बोधन गरेर सुनाएका थिए ।

उनी निर्वाचित भएपछि पनि सदनमा एकपटक बोल्न सकेका थिएनन् । स्वर्गीय दीपक बोहराको निधनपछि रिक्त रहेको क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहोराका दुई छोराहरू प्रज्वल र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने तयारी चर्चामा छ ।

छोरा प्रज्वल बोहोरा हाल क्षेत्रमै खटिएर सक्रियता बढाएका छन् भने जेठा छोरा गौरव बोहोरालाई स्वतन्त्र उम्मेदवार बनाएर साना दलको समर्थन जुटाउने प्रयास भइरहेको छ । तर, उम्मेदवारको टुंगो पार्टीले आधिकारिक रूपमा घोषणा गरेको छैन ।

नेतृ स्वाती दीपक बोहराको निर्वाचनको समयमा मुख्य कमाण्डर भएर जिम्मेवारी सम्हालेको र सबै अनुभव भएकाले पनि उनलाई अगाडि सार्नुपर्ने दबाबमा राप्रपा छ ।

बैठकमा सहभागी भएका राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीप उदयले पार्टीको तर्फबाट योग्य र निर्वाचनलाई आफ्नो पक्षमा पार्न सक्ने उम्मेदवारको लागि औपचारिक छलफल सुरु भएको जनाएका छन् ।

‘रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभाको निर्वाचनमा स्व। दीपक बोहरा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले हामी मर्माहित छौ । हामी शोकमा छौ । र कार्तिक १७ गते हुने निर्वाचनमा हामी शोकलाई शक्तिमा बदल्ने प्रयासरत छौँ । फलस्वरूप आजबाट राप्रपाको तर्फबाट योग्य र निर्वाचनलाई आफ्नो पक्षमा पार्न सक्ने उम्मेदवारको लागि औपचारिक छलफल शुरु गरेका छौँ । हामी सबैलाई मान्य हुने उम्मेदवार प्रस्तुत गर्ने छौ । धैर्य राख्नुस् । आदरणीय स्व।दीपक दाइको आत्माको सन्तुष्टि हुने निर्णय गर्नेछौ । अहिले कसैको नाम उल्लेख नगर्नु होला ।’ उनले भनेका छन् ।

यो क्षेत्रको समानुपातिक मत अनुसार २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ मत पाएको छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार दब र जसपाले ५ हजार २९१ मत, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।

यसबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। रास्वपाले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी सचिवालय बैठक डाकेको जनाइएको छ ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बिहान साढे ११ बजे, पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बोलाइएको हो। पार्टीले सबै सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।

बैठकको कार्यसूचीमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही ३ उपनिर्वाचन र विविध विषयहरू रहेका छन्। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति घोषणाको चर्चा भइरहेका बेला रास्वपाले सचिवालय बैठक आह्वान गर्नुले राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

रास्वपा सभापति रवि लामिछाने अहिले रुपन्देही कारागारमा छन् । रुपन्देही ३ मै रहेका उनको हरेक दिनजसो भेटघाटका विषय यसमै केन्द्रीत हुन थालेको नेताहरुले बताएका छन् । लामिछानेले ०८४ लाई सन्देश दिनगरी यो निर्वाचनबाट नतिजा निकाल्नेगरी रणनीति बनाउन निर्देशन दिइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *