जापानमा ९०० भन्दा बढी भूकम्पका झड्का, टापुवासीको निद्रा भङ्ग

टोकियो । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।

भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन, तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।

भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भने, ‘जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ । आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ । यसको अन्त्य कहिले हुन्छ, अनुमान गर्न कठिन भएको छ ।’

टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, ‘लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दामा ठूलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।’

एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भने, ‘यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ। निदाउन पनि धेरै डरलाग्दो अवस्था छ ।’

‘यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन । मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ’, अर्का एक बासिन्दाले भने ।

जेएमएका अनुसार यसअघि सन् २०२३ सेप्टेम्बरमा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो । दूरदराजका १२ वटा टोकारा टापुमध्ये सात वटामा करिब ७०० जना बसोबास गर्छन् ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को पश्चिमी किनारामा चार वटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको जापान भूकम्पीय दृष्टिले विश्वको सबैभन्दा बढी जोखिमयुक्त देशमध्ये एक हो ।

करिब १२ करोड ५० लाख मानिसको बसोबास रहेको यस द्वीप समूहमा हरेक वर्ष करिब एक हजार ५०० झट्का आउने गर्छन् र विश्वका १८ प्रतिशत भूकम्पहरू जाने गरेका छन् ।

तिनीहरूले निम्त्याउने क्षति तिनीहरूको स्थान र तिनीहरूले प्रहार गर्ने गहिराइअनुसार फरक-फरक हुन्छन् । सन् २०२४ को नयाँ वर्षको दिन मध्य जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो । -रासस/एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *